समाचार प्रदेश ५

१० हजार बिरुवा रोप्ने अभियान सुरु

१० हजार बिरुवा रोप्ने अभियान सुरु


बाँके । बाँकेको नेपालगञ्जमा आजदेखि १० हजार विरुवा रोप्ने अभियान सुरु भएको छ ।  जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै संघीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले दश हजार बिरुवा रोप्ने अभियानको उद्घाटन गर्नुभयो ।

अभियान उद्घाटन गर्दै मन्त्री राईले प्रत्येक प्रदेशमा यस किसिमको अभियान सुरु गर्नुपर्ने बताउनुभयो । नेपालगञ्जमा धेरै नै गर्मी हुने भएकाले गर्मी छल्न १० हजार ठूला रुख रोप्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । 


नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर कामको थालनी गरिएको हो । गरे । गत जेठमा गृहनगर आएका बेला हरित शहरका लागि रुख रोप्ने घोषणा उहाँले गर्नुभएको थियो । मन्त्री राईले रुख रोप्ने अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक रहेको जानकारी दिनुभयो ।

शहरी सौन्दर्यता बढाउन यो भन्दा अर्को उपाय हुन नसक्ने मन्त्री राईले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जमा दुई महिना भित्र दश हजार रुख रोपिने छ । ‘सडक, सार्वजनिकस्थल र सरकारी कार्यालय जहाँ जहाँ ठाउँ उपलब्ध हुन्छ हामी रुख लगाउँछौ ।’ मन्त्री राईले बताउनुभयो ।

रुख रोप्ने अभियानमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा लगायत जिल्लास्थित नेपाली सेना, प्रहरी, प्रशासन र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।