विदेश

तेस्रो विश्वयुद्धको सम्भावित कारण– खानेपानी

भोजेन्द्र ‘हलहले’

तेस्रो विश्वयुद्धको सम्भावित कारण– खानेपानी

• अहिले २ अर्बभन्दा बढी मानिस पानीको उच्च तनावमा बाँचिरहेका छन् (यूएन, २०१८) । विश्वमा १ अर्बभन्दा बढी मानिस ताजा पिउने पानीको पहुँचबाट बन्चित छन् ।

• विश्वको दुइ तिहाइ जनसंख्या अर्थात् करिब ४ अर्ब मानिस वर्षको कम्तीमा १ महिना पानीको हाहाकारमा बिताउने गर्दछन् । (Mekonnen and Hoekstra, 2016)

• विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू 'उच्च जल सङ्कट'को अवस्थामा बाँचिरहेका छन् (वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआईको नयाँ प्रतिवेदन) ।

• अहिलेको जलवायु परिवर्तनको अवस्था विश्लेषण गर्दा सन् २०३० सम्म पानीको अभावका कारण विश्वका ७० करोड मानिस विस्थापित हुनेछन् (Global Water institute, 2013, UNESCO, 2009) 

• विश्वको एक तिहाइभन्दा बढी सहती पानीको प्रणाली एक किसिमले नष्टजस्तै भइसकेको छ । (Richey et al.,2015)

• आधा विश्व जनसंख्या संभावित जनस्रोत अभावको क्षेत्रमा बसोबास गरिरहेका छन् जहाँ कम्तीमा एक महिना पानीको हाहाकार हुने गर्दछ र यो सन् २०५० मा बढेर ४.८ देखि ५.७ अर्बको संख्यामा पुग्नेछ । प्रभावितमध्ये एसियामा ७३% जनसंख्या एसियामा रहेको छ । (Burek et al., 2016) 

• सन् २०५० मा पानीको माग आजभन्दा ५५% ले बढ्नेछ (Organisation for Economic Co-Operation and Development EOCD Report)

• १७ देशमा एक अर्ब ७० करोड मानिसहरू उच्चतम जल सङ्कटको अवस्थामा रहेका छन् । (ब्ल्यूआरआई प्रतिवेदन)

• दक्षिण एशियामा उच्चतम जल सङ्कट भएका राष्ट्रहरूमा भारत र पाकिस्तान रहेका छन् । भारत विश्वको १३औं स्थानमा छ भने पाकिस्तान एक स्थान पछाडि रहेको छ । अफगानिस्तान (२७) र नेपाल (४०) दुवै उच्च जल सङ्कट भएको देशका रूपमा रहेका छन् ।

• भारतको हरियाणा, पञ्जावलगायत ८ वटा प्रान्तमा पानीका लागि ठूलो समस्या छ । अहिले त्यहाँ पानीका लागि आन्दोलन भइरहेको छ । २ करोडभन्दा बढी इनार रहेका र तीबाट अटुट पानी निकाल्ने गरिएकोले ५०० फिट खन्दा पनि जमिनबाट पानी ननिस्कने अवस्था आइ चाँडै मरूभूमिमा परिणत हुने अध्ययनहरू सार्वजनिक भएका छन् । 

• पानीको हाहाकार भएर काकाकूल नै हुनुपर्ने देशहरूमा लिबिया, वेस्ट्रन सहारा, यमन, जिबुटी आदि रहेका छन् । त्यसैगरी कतार, इजरेल, लेबनान, इरान, जोर्डन, लिबिया, कुवेत, साउदी अरेबिया, इरिट्रिआ, यूएई, सान मारिनो, बहराइन, भारत, पाकिस्तान, तुर्कमेनिस्तान, ओमान, बोत्स्वाना आदिमा पानीको पूरापूर संकटको अवस्था छ । 

• चीनमा आधा सताव्दीमा भूमिगत पानीको सतह १४ मिटर घटेकोले अबको केही वर्षमा चीनको ग्रेटवाल समेत बालुवामा भासिने अनुमान गरिएको छ । २५ देखि ३३% चिनियाँ नागरिक सुरक्षित पानीको पहुँचबाट बाहिर छन् । 

• सबैभन्दा खराब पानी प्रयोग गर्नुपर्ने बाध्यतामा रहेका देशहरू युगाण्डा, इथियोपिया, नाइजेरिया, कम्बोडिया, नेपाल, घाना, भुटान, पाकिस्तान, कंगो, मेक्सिको आदि रहेका छन् । 

• पृथ्वीको ४६% जमिनको सतहलार्इ मात्र नदीको फेरो र सीमाले छोएको छ जसकारण भविष्यमा पानीको लागि तीब्र द्वन्द्ध हुने संभावना छ । 

• प्रत्येक वर्ष ३४ लाख मानिस (विशेष गरी बालबालिका) को पानीका कारण सर्ने तर बचाउन सकिने रोगले मृत्यु हुने गरेको छ । 

• विकासशील मुलुकहरूमा ९० प्रतिशत फोहोरमैला र ७० प्रतिशत अद्योगिक फोहोरमैला पानीमा मिसाउने गरिन्छ । 

• संयुक्त राज्य अमेरिकामा थर्मोइलेक्ट्रिक पावर प्लान्टले मात्र ताजा पानीको ५० प्रतिशत हिस्सा उपयोग गरिदिन्छन् ।

सबैभन्दा धेरै ताजा पानी भएका देशहरू

• ब्राजिल – विश्वको ताजा पानीको १२% जसमध्ये अमेजन नदीमा मात्रै ७०% रहेको । ब्राजिलमा ८,२३३ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । 

• रसिया – सबैभन्दा ठूलो र गहिरो ताजा पानी भएको ताल बैकाल रसियामै पर्छ । रसियामा ४,५०८ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । 

• संयुक्त राज्य अमेरिका – अमेरिकामा सबैभन्दा ठूलो ताजा पानीको स्रोत (७७%) सतही पानी हो भने २३% जमिनमुनिको पानी हो । अमेरिकामा १०० भन्दा बढी तलाउहरू रहेका छन् तिनीहरूमध्ये सुपेरियर, लेक ओन्टारियो, लेक मिचिगन, लेक इअरी महत्वपूर्ण हुन् । अमेरिकामा ३,०६९ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । 

• क्यानडा – ८० लाख मान्छेको लागि उपलब्ध रहेको क्यानडाको ताजा पानीको स्रोत भनेको नदी, हिमनदी तथा साना तालतलैया नै हुन् । क्यानडामा २,९०२ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । 

• चीन – चीनमा विश्वको पाचौं धेरै ताजा पानीको स्रोत चीनसँग छ । जियाङसी प्रान्तमा रहेको पोयाङ ताल सबैभन्दा ठूलो स्रोत हो । चीनमा २,८४० क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । 

• त्यसपछि ताजा पानीको बढी स्रोहरू भएका देशमा कोलम्बिया, यूरोपेली यूनियन क्षेत्र, इन्डोनेशिया, पेरू, भारत, कंगो, भेनेजुयला, बंगलादेश, म्यानमार, नाइजेरियालगायत पर्दछन् ।

• सबैभन्दा बढी पानी प्रयोग गर्ने देशहरूमा संयुक्त राज्य अमेरिका (२२४२ क्यूबिक मिटर प्रतिवर्ष), चीन, भारत (१०८९ क्यूबिक मिटर), ब्राजिललगायत रहेका छन् । पानी प्रयोगको विश्व औसत प्रतिव्यक्ति प्रतिवर्ष १३८५ क्यूबिक मिटर रहेको छ । 

• शौचालयको पद्दति राम्रो नहुँदा र भएकाहरूमा पनि सबैभन्दा धेरै पानी शौचालयमा खेर जाने अवस्था रहेको अध्ययनहरूले देखाएका छन् ।

• सन् १९६१ देखि २०१४ सम्ममा संसारभर झिकिएको पानीको मात्रा २.५ प्रतिशतले बढेको छ । पानीको घरेलु उपयोग १० प्रतिशत छ जुन सन् १९६१ को तुलनामा छ गुणा बढी हो ।