राजनीति

यो व्यवस्था उल्टाउन खोज्नेहरु फोहोरमा फ्यालिन्छन् – प्रचण्ड

यो व्यवस्था उल्टाउन खोज्नेहरु फोहोरमा फ्यालिन्छन् – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहास उल्ट्याउन खोज्ने अगुवाहरुलाई फोहोरमा मिल्क्याइने बताएका छन् । 

एकीकृत नेपाल शिक्षक उपत्यका स्तरीय संयुक्त जिल्ला परिषदलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन् । 

हालको राजनीतिक उपलब्धी ठूलो बलिदान र संघर्षबाट प्राप्त भएकोले यो व्यवस्थालाई कसैले पनि फेरबदल नसक्ने उनले दावी गरेका हुन् । 

परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए ।

उनले भने, ‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’

उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच, संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नया सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भुमिका निर्वाहका लागि आग्रह गरे । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।