नेपाल आज विशेष मनोरञ्जन कला साहित्य

सामाजिक विभेदले धकेलेको एउटा पात्र

सामाजिक विभेदले धकेलेको एउटा पात्र

फूलनदेवी यो संसारमा छैनन् । एउटी सामान्य गरिब परिवारमा जन्मिएकी फूलनदेवी संसार हल्लाउने डाका कसरी भइन् ? डाका हुँदा उनले कस्ता कस्ता अपराध गरिन ? हुन त उनका विषयमा फिल्मदेखि नानाथरिक मिथक बनिए । फूलनदेवी डाका नभएर समाजले डाका बनाएकी एउटी पात्र थिइन् । कालान्तरमा मध्यप्रदेशका तात्कालिन मुख्यमन्त्री अर्जुनसिंह समक्ष चम्बलघाटीबाट आत्मसमर्पण गरेकी फूलनले आफ्नो जीवन कथा आफैंले बताएकी थिइन् । यहाँ प्रस्तुत फूलन कथा फूलनकै मुखबाट । 

मलाई राम्ररी सम्झना छ, त्यसबेला म सानै थिएँ । जग्गा जमिनको कारण काकासंग हाम्रो झगडा थियो । उनले हामीलाई अत्यन्तै दुख दिन्थे । हाम्रो गाउँ गुरका पुरवा (उत्तर प्रदेशको जालोन जिल्ला) हो । मेरो पिताजी सुतीथाती गरेर खाने सिधासादा मानिस हुनुहुन्थ्यो । उहाँमा कसैको लोभ लालच थिएन् । आफ्नो अलिकति खेतवारीबाट आएको अन्नले जसोतसो  परिवारको गुजारा चलाउनु हुन्थ्यो । काका विहारीलाई हाम्रो सानो सुखले अत्यन्त विझाउँथ्यो । उनको गाउँमा ठूलो हैकम थियो । एकपटक त आफ्ना सहयोगी मिलेर आएर हाम्रो पाकेको बाली जफत गरे । यस्तै अत्याचारबाट आर्जन सम्पत्तिले ठूलो महल बनाएका थिए । जबकी हामी तारामण्डल झुपडीमा बस्थ्यौं ।

काकाले मेरी दिदी रुक्मिणीको विवाहमा पनि त्यस्तै झमेला गरे । जतिबेला जन्ती हाम्रो आँगनमा टेके, उनले जन्तीको मजाक उडाए । अपमान गरे । अपमान सहन नसकेर जन्ती बेहुली नलिई फर्किए । अनुमान लगाउन सकिन्छ– ‘मण्डपमा सिंगारिएर बसेकी मेरी दिदी रुक्मिणीमाथि त्यतिबेला कत्रो बज्रपात भयो होला ? उनले यो पीडा कसरी सहन गरिन होला ?’ अन्ततः जसोतसो दिदीको विवाह भयो । 

दिदीको विवाहपछि आमालाई मेरो विवाहको चिन्ता हुन थाल्यो । उहाँहरुले महेशपुरको एक युवासंग विहे गरिदिनुभयो । त्यतिबेला मेरो उमेर ११ थियो । मेरो लोग्ने ३१ वर्षको थियो । यो विवाहपछि मेरा दुखका अरु अध्याय शुरु भए । विहानदेखि मध्यरातसम्म घोटिएर काम गर्नुपथ्र्यो । यति गर्दा पनि मप्रति मेरो लोग्ने सधैं असहिष्णु थियो । ममाथि दुव्र्यवहारका घट्ना दिनप्रतिदिन बढ्न थाले । यही बखत म नराम्रो संग विरामी भएर ओछ्यान परें ।

विरामी हुँदा पनि मप्रति माया, ममता देखाउने कोही भएन् । उपचार गर्ने चासो कसैले देखाएन । भित्रभित्रै टुट्न थालें । सहनशक्ति बाँकी भएन् । आजित भएर माइती फर्किएँ । देख्छु काकाको अत्याचार झन्झन् बढ्दो छ । अझ हामीलाई गाउँबाट लखेट्ने योजना बनाएका रहेछन् । आफ्ना मतियार भेला गरेर मेरी आमालाई कुटपिट गर्न लगाए । यो दृश्य टुलुटुलु हेरेर रुनुबाहेक हामीसंग अरु विकल्प थिएन । बुबा बुढो हुनुहुन्थ्यो । भाइ सानो थियो– ६ वर्षको । त्यसैले काकाविरुद्ध चुँ गर्ने सामथ्र्य कसैमा थिएन । यो अपमान चुपचाप सह्यौं । गाउँको अध्यक्षले मलाई निर्घात कुट्यो । 

माइतीको दुखान्त अवस्थाबाट मुक्ति पाउन आजित भएर फेरि घर फर्किएँ । त्यहाँ पनि मेरा लागि शान्ति र सुखको बाटो मृगतृष्णा बराबर थियो । काकाको छोरा मैयादिनले मलाई क्षयरोग छ भनेर घरपरिवारमा बद्नाम गर्यो । त्यसपछि त झन् घरपरिवार ममाथि खनिए । घरमा बसिसक्नु भएन । फेरि माइती फर्किएँ । यतिबेला म धेरै बुझ्ने भइसकेकी थिएँ । यता आमाले मेरो दोस्रो विवाहका निम्ति अर्को केटो खोज्न थाल्नुभयो । 

हामी मल्लाह (माझी) जातिका भएकाले महिलालाई दोस्रो विवाहका लागि छूट छ ।  तर,  मैले प्रस्तावित विहेको विरोध गरें । जसरी भएपनि अरु काम गरेर पेट पाल्छु भनेर आमालाई विश्वास दिलाएँ । अन्तत ः यो विवाह टर्यो । विवाह त टर्यो तर मनमा चैन थिएन । काका सबै काम छोडेर हाम्रो विनासको अभियानमा लागेका थिए । यो देखेर मेरो धैर्यको बाँध रसाउन थाल्यो । म काकाका दुष्कर्मको प्रतिरोध गर्न थालें । उनलाई सह्य भएन । अब खुल्लम खुल्ला हामीलाई गाउँ निकालाको अभियानमा उत्रिए । काका मात्र नभई काकाका आसेपासे पनि दिनसम्म दुख दिन्थे । गाउँको मुखिया बज्रविहारीको छोरा मलाई जिस्काउँथ्यो । मैले पनि कसेर हिर्काएँ । यो अपराध विरुद्ध मलाई जुत्तै जुत्ताले सार्वजनिक ठाउँमा पिटियो ।

यो पीडा सहन नसकेर म गाउँ छोडेर सानिमाको छोरा (दाइ) को घरमा बस्न थालें । केही दिनपछि त्यहाँबाट दिदीको घरमा गएर एक हप्ता बसें । दिदीकोमा हुँदा मैयादिनको घरमा डाका लाग्यो भन्ने सुने । आश्चर्य त के भने डकैतीको आरोप ममाथि लगाइएको रहेछ । मैयादिनले बुबा बृद्ध र भाइ बालक भएकाले दुईजनाको नाम चाहीँ लिएनछ । मलाई पुलिसले पक्रिएर थानामा लग्यो । जिन्दगीमा पहिलोपल्ट पुलिसको कुटाई खाएँ । त्यहाँका ठानेदारको नाम थियो– गंगासिंह संगर । उसले मलाई यति निर्घात पिट्यो, यसरी बेइज्जत गर्यो, त्यसको बयान गर्ने सामथ्र्य मसंग छैन् । त्यसपछि मलाई उरी जेलमा जाकियो । 
त्यसपछि पनि मैयादिनले मेराविरुद्ध गाउँले भड्कायो । उसले ग्रामपञ्चायतमा म विरुद्ध जमानी बस्नेलाई डकैतीको मुद्दामा जाकिदिने धम्की दियो । तर मेरो भाग्य राम्रो रहेछ । त्यसदिन नरिहर गाउँका मुखिया फूलसिंह मगरौल बजार जाँदै गर्दा के को जमघट भनी हाम्रो गाउँमा बुझ्न पस्दा उनले मैयादिनको धम्की सुनेछन् । यो धम्कीको पर्वाह नगरी उनले सीधै पुलिसथाना पुगी ३ दिनपछि मलाई छुटाए । यद्यपि मेरो दुर्भाग्यको अन्त्य भएन । म गाउँ पुग्नासाथ मैयादिनले आफ्ना कुकर्म थाल्यो । गाउँलेलाई मेरा विरुद्ध उचाले अशान्त मच्चाउन थाल्यो । मलाई मानसिक अशान्ति हुने काममा उसका गतिविधि केन्द्रित थिए । 

यसैबीच नजिकैको खरताला गाउँको एक युवकले मलाई एउटा डरलाग्दो खबर दियो । त्यो केटा डाकाहरुको जासुस थियो । उसले मलाई भन्यो– ‘तिमी गाउँबाट भागिहाल । डाकाहरुलाई तिमीलाई दुख दिन आउँदैछन् । उनीहरु तिम्रो सार्वजनिक बेइज्जत गर्ने प्रयाशमा छन् ।’ पछि मलाई थाहा भयो मैयादिनले मेरो हत्या गर्न दुई डाका खटाएको रहेछ । यो खबर पाएपछि बाहिर निडर देखिए पनि भित्र मेरो होस हवास उडेको थियो । ज्यानको माया तब सबैलाई लाग्ने नै भयो । उजुरी लिएर कालपी थाना गएँ ।

थानेदारले  थर्काउँदै भन्यो– ‘फूलन तँ किन उजुर लेखाउँछेस् ? डाकाहरु पनि तेरै जातिका मल्लाह हुन । यदि तँलाई उठाएर लगे, जबर्जस्ती गरे भने पनि एकाध महिनामा छोडिदिन्छन् नि ।’ मैले रुन्चे स्वरमा अनुनय विनय गरें– ‘हजुर, त्यसबेलासम्म मेरो सतित्व पनि त लुटिन सक्छ । मलाई मार्न पनि सक्छन् । कसरी उनीहरुसंग जान सक्छु ?’ थानेदारले भन्यो– ‘त्यसो भए तँ अहिले घर जा । प्रहरीले तँलाई सुरक्षा दिनेछ ।’ यी वाक्य सुनेपछि म ढुक्क भएर फर्किएँ । तर यो त भ्रम मात्र रहेछ । त्यसदिन न प्रहरी आए, न उनीहरुले मेरो सुरक्षा नै गरे । त्यसदिन प्रहरी आएको भए शायद मेरो जिन्दगीको कथा नै अन्यत्र मोडिन्थ्यो । 

म डाकाको अपहरणमा परें । उनीहरुले जमुना नदीको किनारमा पुर्याएर एउटा डुंगा चढाए । अनि भन्न थाले– ‘फूलन तँ चिन्ता नगर । हामी प्रहरी हौं । विक्रम भन्ने डाकाको सनाखतका लागि तँलाई लिएर जाँदैछौं । किनकी हामी उसलाई मार्न चाहन्छौं ।’ तर हामी नरिहर गाउँ नजिकै पुगेपछि मलाई यिनीहरु प्रहरी होइनन भन्ने स्पष्ट भयो । डाकाहरु गुजरसिंह र विक्रमसिंहको जयजयकार गर्न थाले । बाबु गुजरसिंहले मलाई भन्यो– ‘फूलन, तँ मसंग बस्छेस् ?’ मैले भनें– ‘तिम्रो भनाईको आशय के हो ? मैले बुझिन ।’ उसले भन्यो– ‘विक्रमले हो, तँलाई यहाँ लिएर आएको । तँ उसंग बस्छेस कि मसंग ?’ मैले प्रतिवाद गर्दै भने– ‘मैले तिमीहरुको के बिगारेको थिएँ र यसरी अपहरण गरेर ल्याएको ?’ यस्तै प्रश्नोत्तरमा धेरै समय बितेको थियो । म को संग बस्ने भनेर लिलाम बढाबढ हुन थाल्यो । एक लाखबाट शुरु भएको मोलमोलाई दश लाखसम्म पुग्यो । एउटा कुनामा उभिएर बाबु गुजरसिंह चुपचाप यो तमाशा हेरिरहेको थियो । एक्कासी चिच्याएर उसले भन्यो– ‘यो बढाबढको मलाई मतलब छैन । यो मसंग बस्छे ।’

यस विषयलाई लिएर उनीहरुको झगडा भयो । तर विक्रमसिंहले यो विषयमा इटवा जिल्ला पुगेपछि फैसला गर्ने र तबसम्म म बाबु गुजरसंगै बस्ने निर्णय दिएपछि तत्काललाई यो झगडा साम्य भयो । तर विक्रमले त्यसै रात बाबु गुजरको हत्या गर्यो । त्यसपछि विक्रमले मलाई एउटा गाउँमा पुर्यायो । त्यहाँ उसले मसंग सोध्यो– ‘ भन फूलन, तँ मसंग बस्न तयार छेस् ? तेरो कारण मेरा तीनजना साथीको हत्या भइसकेको छ । त्यसैले जिद्दी छोडेर मसंग बस्न राजी हो ।’ मैले भने– ‘म माथि मारपिट नगर्नु , मेरो हत्या पनि नगर्नु । जसले मलाई इज्जत दिएर राख्छ , म ऊ संग बस्न राजी छु ।’
यसपछि गिरोहको बैठक बस्यो । र विक्रमसिंह गिरोहको मुखिया भएकाले फूलन उसैसंग बस्नेछ भन्ने फैसला भयो विक्रमका गिरोह डकैती र अपहरण गथ्र्यो । यी सम्पूर्ण काममा म पनि गिरोहसंगै हिँड्न बाध्य भएँ । 

पहिलो डकैती अझै पनि मलाई सम्झना छ । विक्रमको गिरोहले मलाई लिएर किरतपुुर देवकली गाउँमा डाका गर्न गयो । डाका गर्दा गिरोहका व्यक्तिहरु चिच्याइ चिच्याइ भनिरहन्थे– ‘यो फूलनको गिरोह हो ।’ यतिकैमा पुलिस आयो । उनीहर चिच्याउन छोडेका थिएनन् । अचम्म त के थियो भने म निहत्था महिला गिरोहको कमाण्डर बनाइएकी थिएँ । यो क्रिया नौ महिनासम्म चल्यो । म पूर्ण रुपमा बद्नाम भएपछि विक्रमले मलाई १२ बोरको बन्दुक दियो । त्यसपछि म दलबल सहित आफ्नो गाउँ गए । मैयादिनले त्यसबेला प्रत्येक डाकालाई ५ सय भेटी चढायो । यो देखेर मलाई आश्चर्य लाग्यो । उसले मलाई भन्यो– ‘बहिनी, तिमी ठीक छ्यौ हैन ?’ मैले भने–‘यो भन्दा ठीक अरु के हुनसक्छ ?’ उ चुप लाग्यो । उत्तर पनि के दिन सक्छ र ! 

केही पछिको कुरा हो, महावीर भन्नेले विक्रममाथि गोली चलायो । मैले घायल विक्रमलाई झाँसी लिएर गएँ । त्यहाँ उपचार त के छुन सम्म पनि कोही तयार थिएनन् । हामी विद्यापुर, कानपु र देवरिया गयौं । कतै उपचार भएन् । त्यसपछि हामी नेपाल गयौं । त्यहाँ परिचित डाक्टर थिए । उनको उपचारबाट विक्रम हिँड्न सक्ने भयो । उपचार सकेर यतै फर्कियौं । तीन हप्तापछि फेरि विक्रममाथि आक्रमण भयो । यो आक्रमणबाट भने उ बच्न सकेन । घटना अनपेक्षित थियो । जतिबेला म र विक्रम बेजामह गाउँमा बास बसेका थियौं । मध्यरातमा गोली चलेको आवाजले ब्यूँझायो । हामीले सोच्यौं– प्रहरी हामीलाई खोज्दैछ । भाग्नुपर्छ भनेर सोचेर उठ्यौं । विक्रम उठ्यो तर उठ्न नपाउँदै उसको छातीमा गोली लाग्यो । म हतियार लिन कोठातिर दौडिएँ तर राखेको ठाउँमा हतियार थिएन । विक्रमका शत्रु हाँसिरहेका थिए । उनीहरुका हातमा हाम्रो हतियार थियो । उनीहरुले ममाथि पनि गोली प्रहार गरे तर भाग्यवश लागेन । म बाँच्न सफल भएँ । 

यो घट्नालगत्तै अब म विक्रमको शत्रु लालारामसंग जान बाध्य भएँ । हामी नाउबाट विहान १० बजे सिमरा पुग्यौं । त्यहाँ पण्डित शिवस्वरुपसंग भेट्यौं । उनले मेरो स्थिति देखेर गाउँ फर्काइदिने कुरा गरे । तर लालाराम राजी थिएन । उसले पण्डितलाई विक्रमको हत्या प्रहरीले गरेको भनेर ढाँट्यो । मैले मौका पाउनासाथ पण्डितलाई सत्य बताएर आफूलाई लालारामको पञ्जाबाट मुक्ति दिलाइदिन अनुनय विनय गरें । उनले मलाई लालाराम र श्रीरामले गाउँ पुर्याइदिन्छन् भनेर आश्वासन दिए । यसै अवधिमा त्यस गिरोहका मानिससंग मेरो हेलमेल बढ्यो । उनीहरुले मलाई सहयोगको आश्वासन दिए ।  वास्तवमा उनीहरु ती दुई दाजुभाइ लालाराम र श्रीरामलाई मार्न चाहन्थे । तर श्रीरामले यो कुराको सुइँको पायो । यसको शंका उसले ममाथि गर्यो । साथै अविलम्ब मेरो हत्या गर्ने रणनीतिमा लाग्यो । सौभाग्यवश यसपाली पनि मलाई पण्डितजीले बचाए । 

यसैबेला बलवान गडरियाले मलाई उसको गिरोहमा सहभागी हुन खबर पठायो । म विवश थिएँ, जानै पर्यो । एक महिनापछि बाबा मुस्तकिमसंग भेट भयो । उसको गिरोह ठूलो थियो । उ विक्रमको हत्यारासंग बद्ला लिने कुरा गर्दैथ्यो । त्यसैले उसको गिरोहमा सहभागी हुने मेरो भित्री चाह थियो । तर बाबा मुस्तकिमको विचार अर्कै रहेछ । उ मलाई रखौटी बनाउन चाहँदो रहेछ । मैले उसको विचारलाई सरासर अस्वीकार गरिदिएँ । जसबाट उ क्रुद्ध भयो । 
यो घटनापछि मानसिंह एक्लैले मलाई साथ दियो । उ पनि मुस्तकिमको गिरोहमा संलग्न थियो । दुई महिनापछि हामी दुई उक्त गिरोहबाट अलग भयौं । त्यसपछि हामीले आफ्नै स्वतन्त्र गिरोह बनायौं ।

यो निर्णयसंगै हमिरपुर, झाँसी र बान्दाको जंगल हाम्रो खेलखोर हुन थाल्यो । यसबीच हामीले सानातिना डकैती पनि गर्यौं । केही समयपछि हामी त्यहाँबाट काल्पीको जंगलमा सर्यौं । जहाँ हामीले रामअवतार र रघुनाथको गिरोहबाट पीडा सहनुपर्यो । यी दुवै मल्लाह नै थिए । तर हामीले अलग गिरोह बनाएकोमा रिसले धुँवा धुँवा भएका थिए । यिनीहरु मलाई मार्न चाहन्थे । मानसिंहको सल्लाह अनुसार हामी चारजना भागेर हरिपुर गयौं । यही समय रामअवतार र विक्रमको भाइ रामपालले बेहमइयामा हुलदंगा मच्चाएर मेरो नाममा नारा लगाए । जसबाट त्यहाँका गाउँलेहरुलाई यी सबै घटनामा मेरो हात रहेको भ्रम पर्यो । शायद तिनीहरु चाहन्थे– ‘पुलिस हाम्रो पछि लागोस् र हामीलाई थुनोस् । किनभने हामीसंग थोरै मात्र हतियार थिए ।’

मलाई हरिपुर र बेहमइयामा भएको हुलदंगाबारे थाहा भयो । म यहाँ भएको घटनाका विषयमा जान्न उत्सुक थिएँ । हामी कालपी थानाको बिलौनी भन्ने गाउँमा पुगेका मात्र थियौं, हामी पुलिसको घेराबन्दीमा पर्यौं । यो घेरा दिनप्रतिदिन मजबुत र साँघुरिंदै गयो । अन्ततः भेष बद्लेर प्रहरीलाई छक्याउन सफल भयौं । अनि निहत्था झाँसी, हमिरपुर, छत्तरपुर र पन्नाको जंगलमा भौंतारिन थाल्यौं । यो समय कहिँ कतै डकैती गरेनौं । मूलत आफ्नो जीविकाका लागि केही व्यक्ति लुट्यौं । यसैबेला सरकारसंग आत्मसर्पण गर्नु भन्ने सन्देश आयो । मसंग एसपी राजेन्द्र चक्रवर्तीले भेटेर सम्झाइ बुझाइ गरे । 

यसपछिका सम्पूर्ण बेलिविस्तार अखबारमा छापिएका छन् । यतिबेला जेलको चारकिल्लाबाट हामी यही विश्वासमा दिन काटिरहेका छौं– फेरि एकपटक हामी समाजमा फर्कन सक्छौं । तर पनि हामीबाट गल्ती भएको छ । मैले पहिले नै जिन्दगी अन्त्य गरेको भए यो प्रसंग आउने थिएन । तर मैले यसो गर्न सकिनँ । न काका र अन्य मानिसको अत्याचार सामुन्ने झुक्नै सकें ।  समयले नै आज मलाई डाका बनायो । खराब काम गर्न विवश बनायो । तर के त्यो समाजमा बस्ने मानिसले मेरो पीर व्यथा बुझ्लान ? मैले जुन हण्डर खाएँ, जुन बेइज्जती सहें, त्यसप्रति विवेक राख्लान ? तर मलाई विश्वास छ– उनीहरुले मेरो विवशता बुझ्ने छन् । 
 

फूलनदेवी डाका