मेरो परिवार मेरो कथा परिवार

पत्याउनुहुन्छ ! ४९ जनाको एउटै परिवार

पत्याउनुहुन्छ ! ४९ जनाको एउटै परिवार

धनगढी । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार ।’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् ।

कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् । तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी/बुहारी र नातिनातिना छन् ।

घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन् । सबैको विवाह भइसकेको छ । यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ । साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन् । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन् ।

गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो । संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली हुन् । आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उनी बताउँछन् ।

“सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”, घरमूली डिल्लीराजले भने, “अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो । ” यसका साथै, प्रायः सबैलाई आफूले काममा लगाएको उनको भनाइ छ । “सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरो काट्ने कसैलाई फुर्सद छैन”, डिल्लीराजले भने ।

आमाबुवा र छोराछोरी मात्रै भएको परिवार पनि मिलेर बस्न नसकिरहेको बेला पाँच दाजुभाइका सन्तान मिलेर बस्दा अङ्ग्रेजीलालको खुसीको सीमा नै छैन । ७५ वर्षीय उनी भन्छन्, “म धर्तीको यस्तो भाग्यमानी व्यक्ति हुँ, जसले यति धेरै सदस्य एकैसाथ बसेको देख्न पाएको छु । ”

माइलो भाइको जेठो छोरा बलिचरण नेपाल सरकारको जागिरे हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका बलिचरणले परिवारका सदस्यको स्वास्थ्य हेरचाहदेखि आवश्यक सरसल्लाह दिँदै आएका छन् ।

ठूलो परिवार भएकाले चाडपर्वबाहेक अरू दिन सबै सदस्य घरमा सँगै हुँदैनन् । कोही न कोही हरेक दिन बाहिर जाने गरेको बताइएको छ । परिवारका लागि साँझबिहान दुई/तीन जना गृहिणीले मिलेर खाना पकाउने गर्दछन् । दिनभरि खानाको मेस चल्ने गरेको छ ।

भान्साको काम गर्दै गरेको अवस्थामा भेटिएकी सुशीलाले संयुक्त परिवारका लागि खाना पकाउँदा राम्रै लाग्ने गरेको सुनाइन् । 'दुई/तीन जना मिलेर खाना पकाउँछौँ', उनले थपिन्, ‘परिवार ठूलो भए पनि मिलेर खाना पकाउँदा झ्याउ लाग्दैन ।’ उक्त परिवारका लागि एकै छाकमा झन्डै २०/२५ किलो चामल पाक्ने गरेको छ । घरका सदस्यहरू पालैपालो आएर खाना खाने गरेको अर्की गृहणी सीता चौधरी कठरियाले सुनाइन् ।

वर्षमा दुईपटकसम्म परिवारका सदस्यलाई लत्ताकपडा खरिद गर्ने गरिएको छ । यसैगरी, चाडपर्व र विशेष अवसर पारेर परिवारलाई मासु खुवाउने गरेको घरमूली डिल्लीराजले बताए । “एकै छाकका लागि कम्तीमा दुईवटा खसी आवश्यक पर्दछ”, उनले भने, “वर्षभरि मासुमा मात्रै तीन लाख रुपियाँ खर्च गर्ने गरेको छु ।”

कठरिया परिवारको आर्थिक पाटो

ठूलो परिवार, खर्च पनि ठूलै । खर्च धेरै भए पनि यो परिवारको पैतृक सम्पत्ति धेरै छैन । नम्बरी जग्गा दुई कट्ठा र ऐलानी घरबाससमेत गरेर चार बिघा जमिन छ । जग्गा जमिन धेरै नभएकाले कठरिया परिवारको विगत कहाली लाग्दो थियो । मजदुरी गरेर जीवनयापन गरेका उनीहरू अहिले भने राम्रो अवस्थामा पुगेका छन् ।

युवापुस्ता विभिन्न पेसामा आबद्ध भई आर्थिक आर्जन गर्न थालेपछि परिवारको अवस्थामा सुधार आएको माइलो भाइ रामचन्दर बताउँछन् ।

‘पहिले अवस्था नाजुक थियो, अहिले छैन’, उनले भने । अचेल यो परिवारले ठेक्का/बटैया गरेर झन्डै २० बिघा जमिनमा खेतीपातीगर्दै आएको छ । जसमध्ये खानका लागि एक बिघा जमिनमा तरकारी खेती मात्रै गर्ने गरिएको जनाइएको छ ।

यसैगरी, यो परिवारको मेडिकल, कस्मेटिक र किराना गरी तीन पसल छ । कुटानीपिसानीको मिल पनि सञ्चालन गरेका छन् । तीनवटा ट्याक्टर र एउटा गहुँ काट्ने मसिनसमेत खरिद गरेका छन् ।

पसल, मिलका साथै ट्याक्टर र हार्वेस्ट मसिन चलाएर आम्दानी गर्ने गरेको घरमूली डिल्लीराजले बताउँछन्। ‘आम्दानी गर्ने बाटो भएपछि अचेल वर्षभरिलाई खान लाउन पुगेको छ’, उनले भने, ‘वर्षभरि करिब ५० लाख रुपियाँको कारोबार भइरहेको छ ।’ यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

परिवार