विचार

 गणतन्त्र सिध्याउने अरिंगालहरु 

 गणतन्त्र सिध्याउने अरिंगालहरु 

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा शूरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिनसक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउनुपर्ने प्रस्ताव गरे । प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंग जस्तो देखिन्थे । सवै विदावारी भएपछि कर्णलाई अंगालो हाल्दै एकान्तमा लगेर दुर्योधनले भने– ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । वास्तवमा उहाँहरु पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौं । म त तिमै्र भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौं ।’ दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन– ‘अब म पाण्डवहरुलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सवै पाण्डवलाई म आफ्नो शिविरमा ल्याएर थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाड्स दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेको जस्तो देखिएपनि शंकाको लाभ लिन चुक्दैनथे । उनीहरु सहयोगीका नाममा एकले अर्कालाई राम्रैसंग ठग्दथे । यिनीहरुको सम्बन्ध नङ् मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो । 

तेलपानी घुलन पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो श्रृंखला हो, जसका पात्रहरुले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ । युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् । राज्यभोग गर्नुपर्ने पाण्डव एक एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कुटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण आफ्नो दाजु भएको भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरु यति व्यथित भए कि जीवनको उत्तराद्र्ध उनीहरुका लागि अनन्त सुरुङ यात्रा सावित भयो । युद्धका वीरहरु किंकर्तव्यविमूढ बने । 

महाभारतका पात्रलाई जस्तै नेकपाका कार्यकर्ताहरुमा उत्कर्षको वैराग्य छाएको छ । प्रतिवाद गरौं पाएको जागिर खोसिने, नगरौं कुण्ठाले जीवन सत्यानास गर्ने । भाषणमा दुई तिहाईको सरकार भनेर के गर्नु ? नेकपा भित्रभित्रै चिनियाँ कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी, अमेरिकी कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस कम्युनिष्ट पार्टी, राजावादी कम्युनिष्ट पार्टी हुँदै होली वाईन कम्युनिष्ट पार्टीमा विभाजित छ । कुन शक्तिले नेतालाई भुट्ने सामथ्र्य राख्छ, त्यही एजेण्डा देशको राष्ट्रिय माग बन्छ । संघीय गणतन्त्र भन्नु मात्र हो, यो कस्तो व्यवस्था हो ? ल्याउनेलाई थाहा छैन् । गणतन्त्रको जमिनलाई पैसाको सुनामीले सिध्याएको छ । पैसाका अगाडि सबै क्रान्तिकारी लुला भएका छन् । चाकरी र सलामीको भोकलाई पीर्कामाथिको रातो टालोले उदांगो पारेको छ । जिन्दगीभर गरिब र जनताका नाममा सती जान खोज्ने नेताहरु एकाध दशकमै कम्पनी प्रालिका महाप्रबन्धक भएका छन् । यस्तो व्यवस्था संसारमा कहाँ होला, जहाँ राजनीति गर्नेहरु सबै सत्तापक्ष हुने मौका पाउँछन् । घरमा नोकर चाहियो– पुलिस हाजिर । उपचार खर्च चाहियो– राजश्वबाट कति चाहिन्छ ? छिमेकी, मामा चेला, फुपू चेलालाई सान देखाउनु प¥यो– आफैंले भर्ती गरेका सिपाही नामै किटेर घर सरुवा गरे हुन्छ । एकाध वर्षपछि माल असुल्ने ठाउँमा बक्सिस स्वरुप सरुवा गरिदियो ।

सरकारी श्रम र शक्ति यसरी व्यक्तिगत बनाउन पाइने शासन व्यवस्थामाथि प्रश्न चिन्ह जसले उठाउँछ, त्यो गणतन्त्र विरुद्धको कालोबादल करार हुन्छ । हाइड्रोपावरदेखि बालुवाखानीसम्मका कमिसन तलदेखि माथिका नेताको खातामा जम्मा भइहाल्छ । नातागोता, हुक्के, ढोके, छाते कसलाई के बनाउनु पर्छ ? कुनै नियम कानुनले छेक्दैन् । कसैलाई सिध्याउन र कसैलाई बनाउन कानुन रबर बनाउने छूट नेतृत्वलाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजदूत बनाएकी शेरबहादुर देउवाकी सासु प्रतिभा राणाको जागिर सुरक्षित गर्ने वित्तिक्कै कांग्रेसले बाहिर देखाउने झाँकी मात्र हो । देउवालाई खुसी पार्न के के गर्नुपर्छ, त्यो ओली–प्रचण्डलाई घाँटीघाँटीसम्म कण्ठ छ । आम्दानीको कुलोमा अवरोध नगरेपछि सरकारका जालसाजी कागजमै किन नहोस, पटाक्षेपमा देउवाले दशऔंलाको ल्याप्चे लगाइदिए भने आश्चर्य नमाने हुन्छ । 

नेपाल त्यस्तो देश हो, जहाँ दिउँसो हैन राती काम हुन्छ । अफिसभित्र नभएर अफिस बाहिर फाइलका कर्म तमाम गरिन्छ । कार्यालय समय त काम नगर्नेहरुले बाहना बनाउने मेलो मात्र हो । सरकारी समय गुजारेपछि रातोमसी चल्ने मुखियाहरुको बाहुली सुर लाग्छ । राजनीतिभित्रको पानी कति बेइमानी छ भने बाबुराम अर्को गुठी खोलेर आफू कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म पनि गर्न चाहँदैनन । नारायणकाजीलाई पार्टी नखाउँ दिनभरिको शिकार, खाउँ कान्छाबाउको अनुहार जस्तै भएको छ । एकथरि माओवादी काठमाडौंको सभ्रान्त परिवारमा रुपान्तरण भइसकेका छन् । उनीहरु आफ्नो माओवादी विगतलाई ‘नराम्रो सपना’ भन्ने अवस्थामा पुगेका छन् । अर्काथरि अरबका डोरीलाउरे र बाँकी रहेकाहरु युरोप अमेरिकामा ‘तोरीलाउरे’ बन्ने धूनमा छन् । यी खाले बुज्रुकहरु उल्टो माओवादी पीडितको कागज बनाएर विदेशी बन्ने क्रममा अदालती बयान दिइरहेका छन् । विशुद्ध माओवादी त माओवादी लिष्टबाटै हराइसकेका छन् । पहिला पहिला कम्युनिष्ट र काँग्रेस अलग दल हुन्थ्यो । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो ।

अहिले त एमालेभित्र काँग्रेस–माओवादी, माओवादीभित्र काँग्रेस–एमाले यी सवै दलभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ । लोकमान त झारले छोपिएको पिपल जस्तै हुन । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरुपी लोकमान लहलह भएर उदाउने छन् । केही समयका लागि अस्ताए पनि उनले छरेका सलाईका काँटी देशभर फिँजिएका छन । फेरि जयजयकार शुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सवैभन्दा घृणा गरिने पात्र कमल थापा समकालीन राजनीतिमा म्यारिजको मालजस्तो भइसकेका छन् । उही समयका मानिस हातमा घडी फेरेर समय आफ्नो कब्जामा रहेको भ्रम दशकौंदेखि छर्न सफल छन् ।  

केपी ओलीले चराको चुचोजस्तो रेल र चुलोचुलोमा ग्यास ल्याउने सपना देखाउँदा उनका कार्यकर्ताले राजनेताको पखेटा लगाएर फेसबुक भरेको दृश्य देखेको पूर्वमाओवादी नेतृत्व  उपत्यका उज्यालो बनाएको जशमा बर्बराउने गर्छ ।  तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिष्ट मनोविज्ञानबाट माओवादी स्वयं चुकेको बुझ्न कठिन छैन् । बाटो बढाएका बाबुराम बैरी भएर निस्किए । पार्टी एक गराएपछिका अध्यक्ष ओली कुरै खाने, कुरै ओढ्ने, कुरै ओछ्याउने रोगबाट मुक्त भएनन् । ओलीको बोली माओवादीका लागि निल्नु न ओकल्नु भएको छ । संसारका मानिसले बुझ्ने समान भाषा हो– हाँसो । अन्धकार नासिएपछि सम्भवत यही भाषा सर्वसाधारणको अनुहारमा भेटिनु पर्छ ।  हाम्रो भूधरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औंलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सवैथोक आफैं  मिलेर जान्छ ।

यहाँ राजनीतिक दलले जित्न, देश हार्ने प्रतिस्पर्धाले घर गर्यो । नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेताहरु लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरुकै चक्रव्यूहबाट निस्कन सक्दैनन् । यसैको परिणाम अहिले प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ । शहरी नूनको प्रभावले माओवादीजस्तो कि गर, मरको हुकूमी दर्शनमा हुर्किएका असली कार्यकर्ताहरु विभिन्न आवरणमा अलप भएका छन् । बरु अवसरवादी चैते वर्णशंकर सन्तानको आवादीमा माओवादी जमिन सिंचित छ । माओवादका प्रणेता माओत्सेतुङले जनताबाट सियो पनि लिनु हुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीहरुले देशको ढुकुटीमा संगठित आक्रमणलाई संस्थागत तुल्याए । कांग्रेस–एमालेले सच्याउनु साटो नजिरका रुपमा यही प्रवृत्ति आत्मसात गरेका छन् । जति सत्य बुझ्यो उति जीवन सरल हुन्छ । विश्वमा शान्ति र विकास बलले नभई समझदारीले आएको छ । रुखपछि बनेको भन्दैमा पीर्कामा रिस पोख्ने दुस्साहस किमार्थ गर्नुहुन्न । राजनीतिमा त झन् यो आत्मघाती सिद्ध हुन्छ । 

नेपाल एउटा विश्वको त्यस्तो नमूना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो पैmसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा त्यो हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिसहरु आफ्नो स्वधर्मभन्दा अलग पेसामा पारंगत छन् । सफल राजनेता   आफू  साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा   पुर्याउन अहोरात्र खट्छन् । तर हामी कहाँ राजनीति कहिल्यै अवकास लिन नपर्ने जागिर भएको छ । एउटा माकुराले आत्महत्या गरेछ ।  मर्नुअघि उसले लेखेको सुसाइड नोटमा लेखिएको थियो– ‘जाल बुन्नमा मैले नेपालका नेताहरुको मुकाविला गर्न सकिन ।’ संविधानलाई विश्वको उत्कृष्ट भन्ने तिनै नेताका लागि एक वर्ष नपुग्दै त्यो दस्तावेज भिरको चिन्डो भएको छ ।

राजा ज्ञानेन्द्रका जिउमा टाँसिएका सवै परजीवी किर्नो अहिले ओली, प्रचण्ड, शेरबहादुर दरबारमा सरेका छन ।  किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसंग उसको संगतै हुँदैन । सत्य चाहीँ के हो भने यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ– अहिलेका अधिकांश नेताहरु खसी बेच्ने हुन्थे । बाँदरले हाँगा लच्काउने मात्र हो, रुख भाँच्ने होइन । यो तागत ऊसंग हुँदैन । समाज बिग्रन नागरिक बीचको सम्बन्ध पो बिग्रनु पर्छ । थोरै त्यो सम्बन्ध नेताले तामो तुलसो छोएर गाँसिदिएको हो र ? नेता नामको पेपर टाइगरलाई साँच्चैको बाघ ठानेर तर्सनु आफनै मूर्खता सिवाय केही होइन ।

जो खुसी रहन चाहान्छ, उसलाई कसैले पनि दुखी बनाउन सक्दैन । जो दुखी रहन चाहन्छ, उ सुखमा पनि दुख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण सुंसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरुको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरुको धुइरो लाग्दै गयो । समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरुको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिपेर घुयँत्रो हान्छन् । रुखको हाँगाबाट झरेपछि पातको औचित्य हराएर जान्छ । अर्को सत्य के हो भने संसारका सवै परीक्षामा सफल भएको मानिस अर्थपरीक्षामा चिप्लिन्छ । सम्भवतः हाम्रो समस्या पनि यही हो । झन्डे र डन्डेलाई कानुनको दायरामा ल्याएपछि मात्र देश सुमार्गमा अघि बढ्ने निश्चित छ । 

गुरु द्रोणाचार्य पाण्डव