विचार

बबाल बाटो

बबाल बाटो

गजधुम्म परेर हुमाने रिसाइरहेको थियो । जहिले भेट्दा पनि उज्यालो भएर स्वागत गर्ने हुमाने रिसाउनुको कारण साइँली भाउजूलाई सोधेँ । ‘खै, बाबु सात दिन भयो अँध्यारो भएर रोइरहेछ’  भाउजूको उत्तर थियो । उसलाई भेट्न कति साहसिक यात्रा गरेर पुगेका थियौं राजु दाइ र म । कोटेश्वरदेखि बल्खुसम्मको चिल्लो सडकमा रमाउँदै गएको हाम्रो अनुहार चोभारदेखि उता लागेपछि हुमानेकै जस्तो भयो । समुद्रमा उत्रिरहेको गोहीजस्तै देखिने टुक्राटुक्रा सडक आफ्नो ढाँडमा ठूलठूला खाडल बोकेर बसेको थियो । ढलपल ढलपल हुँदै फर्पिङसम्म पुग्दा करिव दुई घण्टा बितिसकेको थियो ।

‘माथिल्लो बाटो जानुस् तल्लो बाटो बन्द छ ।’ फर्पिङमा बसेका प्रहरीले टाढैबाट सुझाए । मुसलधारे पानीमा उनले बोलेको कुरा त्यति स्पष्ट नसुने पनि हातको इशाराले प्रष्ट भएको थियो ।  हुमाने भेट्ने बाटो शरीरभर खटिरा बोकेर बसेको थियो । कतै माथि उठेको कतै तल भासिएको सडकको वनावटले गाडीको सन्तुलनलाई चुनौती दिइरह्यो ।  ‘एस्टो बाटो ट कटी हिँडियो कति, मलाई त दरै लाग्दैन’  राजु दाइ आधा वुझ्ने आधा नवुझ्ने गरी बाटोभरी बोल्दै गए । ब्रेक र क्लच थिच्दाथिच्दा थरथर कामिरहेका खुट्टामा पनि राजु दाइको कुराले साहस भरिन्थ्यो । मलाई उकालो बाटो ड्राइभ गर्न डर लाग्छ । जिउमा तेल दलेर बसेको उकालो त झनै तारेभीर ।

त्यहीँमाथि घाउखटिरा, खोल्साखोल्सी, डोविल्का–डोविल्की, खाडल–साडल लिएर ठिङ्ग उभिएको उकालो पार गर्दै भेट्न आइपुगेको हो यिनीहरु भनेर हुमानेलाई के थाहा ? ‘अहिले ट सबै वडाढ्यक्षसँग डोजर हुन्छ । बाटो किन नसम्याको होला बा’ राजुदाइले दुखेसो पोखे हुमानेसँग भेट हुनासाथ । कालो कम्मल ओडेको हुमानेले यताउता हेर्न पनि दिएन । लगातार रोएर बाटोमा उभिन पनि दिएन । पुरानो संझनाले मात्र प्यारो थियो त्यो दिन हुमाने ।

सर मैले घरैमा बनाको वोकेको छु प्यूँने हो अलिकटि ? खाजा खाने बेलामा राजु दाइको प्रश्न थियो । एक त बाटो त्यस्तो त्यहीँमाथि राजुदाइको घरमै बनाको लाउने हो भने हालत के होला ? मैले असहमति जनाएँ । हुन ट हो, राजु दाइले स्वीकृति जनाए । अबको यात्रामा बाधक थियो बाटोभरी भेटिने पहिरो । बाटैभरी ढुङ्गा लडेका थिए । एक ठाउँमा त हिँड्दा हिँड्दै अगाडि पनि पहिरो झ¥यो पछाडि पनि । बीचमा रह्यो ४÷५ वटा गाडी । भीरको बाटो न माथि हेर्न सकिने न तल । अलिमाथि जमिन सलल बग्दै हामीतिरै आइरहेको थियो । रुखहरु ढल्दै तलतल बग्दै आएको देखियो । अगाडि जान नसकिने । पछाडि फर्कन पनि नसकिने । त्यहीँ वस्ने आशा पनि सकिँदै गयो ।

पहिरोले कति तल धकेल्छ होला भनेर तलतिर हेर्दा सातो जाने ठाउँ थियो । नभन्दै एउटा डोजर आयो र अगाडिको बाटो पन्छाइ दियो । गाडीको बम्पर अगाडि पछाडि दुवैतिर फुट्यो थरथर थरथर आवाज आउने भयो । यो टाटा सुमोको ड्राइभरको डिल हुँदैन कि के हो सर ? त्यस्तो विपतमा हिँडिरहँदा पनि टाटासुमोले ट्वाँ ट्वाँ हर्न बजाउदै निर्दयी तरिकाले ओभरटेक गर्ने, बाटो मिच्ने गरेको देखेर राजु दाइले प्रश्न गरे । अगाडिबाट आउनेले मिचेर ल्याउने । पछाडिकोलाई तुरुन्तै साइड चाहिने । मानवता नभएका टाटासुमो चल्दो रहेछ बाटोभरी । टाटा सुमो देख्दा यमराजको भिजिटिङ कार्ड हातमा परेजस्तो लाग्ने ।

कुलेखानी कटेपछि आउने जंगलको उकालो झन जिउमा मोविल दलेजस्तै भएर उभिएको थियो । कि अगाडि जा कि पछाडि सर अडिने अधिकार छैन तँलाई भनेजस्तै गर्यो । अगाडि पछाडि उही टाटासुमोको आतंक अनि अविरल वर्षा । वल्लतल्ल पार लागेको उकालोले फेरि साँघुरिएको ओरालो दिएर विदा भयो । साइड लाउने ठाउँ हेरेर पर्खिनु पर्ने । ज्यानमारा सुमो अलि स्लो पनि नगरी सुइयँ आउने । कुन भीरबाट कता झारिदिने हो कि भन्ने त्रास बाटैभरी ।
भीमफेदी पुगेपछि सुखको सास फेरियो ।

जीवन रक्षा भएको महशूस भयो । बाटो पनि निकै सुध्रिएको भेटियो । मजा आयो नि हैन सर ? हाँस्दै प्रश्न गरे राजु दाइले । मेरो अनुहारमा पनि मुस्कुराहट देखा पर्यो  । अब हेटौँडा पुगेरै खाना खानु पर्छ सर । नभन्दै हेटौँडा पुगियो । गाडीमै लुगासुगा फेरियो । सहकारी मन्त्रालयको काम सकेर बाहिर निस्केपछि मोबाइलमा कल आयो । खाना खाने ठाउँको लोकेशन पाइयो । त्यतै लाग्यौं । धेरै वेर खोजियो ठाउँ लोकेशन त ठिकै थियो तर होटलको नाम फरक परेछ । भोकले आँखा धमिल्याइ सकेको थियो । यही होटल हुनुपर्छ भन्ने ठम्याइले हामी खाना खान थाल्यौं ।

हँसिलो अनुहार, फर्साइलो मान्छे त्यसै त्यसै आत्मीय भएजस्तो लाग्ने । भेट्नासाथ उनको नमस्कार फर्काउदै मैले ठट्टा गरेँ – ‘तपाइँले चिनेको मान्छे  हो राजु दाइ ?’ राजु दाइ छक्क परे । मैले फेरि थपेँ– ‘मैले त चिनेको होइन ।’ राजु दाइले अझ छक्क परेर हेरिरहे । जवाफमा उनले लामो हाँसो हाँसिन । ‘मैले पनि चिन्या छैन के नचिनेको मान्छेलाई नमस्कार गर्न हुन्न ?’ उनले प्रश्न गरिन । ल खाना खाएर बाहिर आउनु म त्यहीँ हुन्छु भन्दै उनी बाहिर निस्किन । त्यहाँबाट केही समयको लागि हामी उनको पाहुना भयौं । दिउँसो ४ बजेसम्म हेटौंडाको विभिन्न ठाउँहरु घुम्यौ । अनि खाजासाजा खाएर उनी विदा भइन । ‘असाढ्ढे राम्रो मान्छे रहेछ टपाइँको साठी’ –राजु दाइले तारिफ गरे । असलीमा उनी छिन नै तारिफ योग्य । हामीलाई वेलुका पदमपोखरी पुग्नु थियो त्यतै लाग्यौं ।

हेटौंडा सिमेन्टलाई दाहिने पारेर केही पर पुगेपछि आउने खोलाको नाम रहेछ कुखुरेनी खोला । बन्दै गरेको पक्की पुल चारवर्षदेखि केही खुट्टामात्र हालेर बसेको रहेछ । स्थानीयले साधारण बलौटे पुल हालेका रहेछन । खोला तरेपछि भेटिने रहेछ वनस्पति चोक । त्यहाँबाट जंगलको बाटो केही माथि गएपछि बुद्धचोक पुगिँदो रहेछ । त्यही ठाउँको नाम रहेछ पदमपोखरी । झपक्कै साँझ परेपछि पुगियो पाहुना लाग्न भदैनीको घर । धेरैपछिको भेटघाट खुव रमाइलो भयो । संस्कारी मान्छे सवै । निकै गर्विलो स्वागत सत्कार पाइयो । राजु दाइको घरकोले मात्र पुगेन । त्यहीँको लोकल पनि रित्तिएछ एक जम्बो बोतल ।
राती करिव १० वजेदेखि सुरु भयो मुसलधारे वर्षा । लगातार वर्षा भइनै रह्यो । हावाहुरी पनि उस्तै गरी चलिरह्यो ।

बाटोका तलमाथि लहरै वनेका एकतले घरहरुले आफ्नो छतबाट पानीका फोहोरा बर्साइ रहे । निद्रा पर्दै परेन । मनमा डर लागिरह्यो । साँचो अर्थमा मैले त्यसरी एकनासको मुसलधारे पानी लगातार परेको पहिलो पटक देखेको हो । विहान हुनासाथ बाटो लाग्न हतारियौं हामी । कुखुरेनी खोलाले थुन्ने डर लागेको थियो । नभन्दै भयो त्यस्तै । बलौटे पुल बगाइसकेको रहेछ । अनेक वैकल्पिक बाटोहरु खोजियो कतै रहेनछ ।

भोजपुर जिल्लालाई अरुण नदीले थुनेजस्तै कुखुरेनीले थुन्यो पदमपोखरी । अघिल्लै दिनदेखि विजुली कटेको थियो । विस्तारै सवैका मोवाइल पनि स्वीच अफ हुँदै गए । यसरी त्यसैदिनदेखि सम्पर्क विहिन बन्यो पदमपोखरी । न फोन, न समाचार, न इन्टरनेट न विजुली एकाएक ढुङ्गेयुगमा पुग्यो । हेटौंडा उपमहानगरको दुईवटा वडा वेखवर बन्यो । तराईको ठाउँमा एउटै खोलाको उपद्रोले मान्छे त्यसरी थुनिन्छन भन्ने लागेको थिएन । तर, कुनै वैकल्पिक बाटो पनि नहुनु र खोलामा पुल पनि नहुनुले विकट वनेको रहेछ त्यो ठाउँ । दिनभर पनि बर्षा उही शैलीमा लगातार भैरह्यो ।

करिव दुई वजेपछि डुवान सुरु भयो । दुःखसुख रोपेको धानको नाम निशान रहेन । पाक्न लागेका मकै सवै सोत्तर भैसकेका थिए । घरहरु डुव्न थाले । मानिसहरु कुटो कोदालो वोकेर यत्रतत्र पानी काटिरहेका थिए । हामी बसेको ठाउँ भने डुवानमा परेन । राम्रै निकास रहेछ । बाहिर सप्तकोशी बगेजस्तै पानी वगिरह्यो ।

रातको २ बजेतिर पानी केही कम भएजस्तो भयो । विहान पानी पुरै रोकियो । हामी हिँड्न हतारियौं । पानी रोकिएपछि कुखुरेनी पनि छ्याप्प हुँदो रहेछ । बाटोको नाम निशान केही थिएन । स्थानीयले तुरुन्त डोजर ल्याएर खोलालाई केही सम्याएपछि जवर्जस्ती गाडी पार तारियो । हामी त पुग्यौं हेटौंडा तर त्यहाँ बस्ने आफन्तहरुसँग सम्पर्क गर्न सकिएन । हामी हिँडेपछि फेरि वर्षा भएको र त्यसरी नै सम्पर्क विहिन भएर थुनिएको खबर काठमाडौं पुगेपछि पाइयो ।

यात्रा छोटो थियो तर निकै साहसिक यात्राको रुपमा लिएँ मैले यसलाई । फर्पिङ हुँदै भीमफेदीको बाटो हेटौंडा जाने कल्पनाले मात्र पनि आङ सिरिङ्ग हुन्छ । त्यसैले त फर्किदा नारायणघाटको बाटो फर्कियौं हामी । त्यहाँ पनि बडा रोचक कुरा भयो । बाटोमा पर्ने सवै खोलानाला नदीजस्तै बनेका थिए । कुन नदी, कुन खोला भन्ने पत्तै भएन । यहाँसम्म कि नारायणी नदी पार गरेर पश्चिमतिर लागेको पनि पत्तै भएनछ । त्यति धेरै बाटो पार गर्दा पनि नारायणघाट नआएकोले शंका भयो मनमा । नारायणघाटबाट ३८ किलोमिटर पश्चिम पुगिएछ कावासोती । फेरि ३८ किलोमिटर फर्किदा राजु दाइ र म खुव हाँस्दै आयौं ।
 

मुसलधारे पानी गजधुम्म