भिडियो कभर स्टोरी

महिलाको तस्बीर हाइलाइट गर्ने तपोवन नै हो (भिडियोसहित)

महिलाको तस्बीर हाइलाइट गर्ने तपोवन नै हो (भिडियोसहित)

स्वामी कृष्णानन्द भारती ओशो सन्यासी हुन् । उनको संसारिक वा औपचारिक नाम गुणचन्द्र विष्ट हो । नेपालको पोल्ट्री व्यवसायमा विष्टको योगदान ठूलो छ । नेपालआजसँगको कुराकानीमा ओशो दर्शन र व्यवसाय दुवै क्षेत्रबारे कुराकानी भएको छ । 
 

ओशो दर्शनमा नेपालमा मिसावट गरियो भन्ने गरिन्छ । हो ? 
ओशोको कुनै ठोस सिद्धान्त छैन । हामी ठोस खोज्छौं, ओशोको दर्शन त्यस्तो छैन । ओशोलाई पढ्न जाँदा  ठोस रुपमा एक दुई तीन गरेर खोज्न सकिदैन । विभिन्न धर्ममा गर्न हुने नहुने कुराहरु छुट्याइन्छ । जस्तो कि क्रिष्चियानिटीमा ‘टेन कमान्डमेन्ट्स’ छ । तर ओशोले त ‘टेन नन कमान्डमेन्ट्स’ भन्नु भएको छ ।  यसकारण ओशोले कुनै कमान्ड गर्नुभएको छैन । फ्रिडम भन्नुभएको छ । अर्थात सन्यास भनेको नै स्वतन्त्रता हो । अर्को शब्दमा भन्नु पर्दा सन्यास भनेको स्वतन्त्रताको घोषणा हो । समाज, शास्त्र, सम्प्रदाय, सिद्धान्तले मानिसलाई विभिन्न बन्धनमा बाँधेको हुन्छ । ती बन्धनबाट मुक्त भएपछि मानिस सन्यासी हुन्छ । 

संसारका सबै मानिसहरु यस्तो बन्धनबाट मुक्त हुने हो भने संसार कस्तो बन्थ्यो होला ? 
तपाईंको प्रश्न हाम्रो समाजअनुकुलको छ । यस्तो समाजसँग मिल्दो उहाँको कुनै विचार नै छैन । हाम्रो र उहाँको भाषा नै मिल्दैन । उहाँले बुझेको हामीले बुझेभन्दा फरक छ । जस्तो कि हामी दिनको विपरितार्थ रात भन्छौं । तर उहाँले परिपुरक भन्नु हुन्छ । यी दुई पक्ष एक अर्काका विपरित होइनन् । नेगेटिभ खराब, पोजिटिभ राम्रो भन्ने बुझ्छौं । यदि नेगेटिभ हुँदैन भने पोजिटिभ मात्रै रहन सक्ला ? 

ओशोका उत्तराधिकारी को हो ? 
सम्पत्तिको उत्तराधिकारी हुन्छ । ज्ञानको उत्तराधिकारी कोही हुँदैन । ओशो त ज्ञानभन्दा पनि माथिको हुनुहुन्थ्यो । 

नेपालमा ओशो तपोवन चाहिँ ओशोको आधिकारिक संस्था भन्ने चलन छ नी ? 
हामी नेपालमा बसेर नेपालको मात्रै हेर्छौं ।  कुवामा बसेर कुवालाई नै संसार ठान्छौं । फेरि पनि भन्छु, ज्ञानको उत्तराधिकारी हुँदैन । सम्पत्तिको हुन्छ । ओशोसँग केही पनि सम्पत्ति थिएन । 

अहिले ओशो भन्ने नामकै ट्रेडमार्क दर्ता गरेर व्यापार भइरहेको छ त ? 
नेपालमा पनि कति छन् शरिर कामेको भरमा माता घोषणा गर्ने, कति होलान् बाबा घोषणा गर्ने । धेरै छन् विभिन्न दुःख निवारण गर्ने, उपचार गर्नेहरु धेरै छन् । यिनीहरु लोभीपापी हुन् । यस्ता लोभीपापीहरु जहाँ पनि छन् । लोभी मान्छे रहुञ्जेल पापीको पेट कहिल्यै भोको रहँदैन । ओशोले कहिँ पनि आफूलाई उत्तराधिकारी राख्नु भएन । 

तपाईंहरु ओशोलाई भगवान भन्नुहुन्छ । मान्छे भगवान हुन्छ ? 
भन्छन्, म भन्दिनँ । किनभने उहाँले शरिर छाड्नु तीन महिना अघि पहिलाका नाम हटाएर ओशो भन्ने नाम आयो । उहाँले आफूले केही समय भगवान शब्द प्रयोग गर्नुभयो । आखिरीमा उहाँले यो शब्द आफूले छाडेको र कसैले आफूलाई भगवान भनेमा त्यो आफ्नो लागि गाली सरह हुने उल्लेख गर्नुभयो । भगवान भन्ने शब्द आफैंमा फोहोरी शब्द पनि हो । भग भनेको योनी, वान भनेको लिंग हो । यति भनेपछि हामीले किन विवाद गरिरहनु पर्यो र ?

ओशो कम्युन र कम्युनिस्ट पार्टीले चाहेको कम्युनमा के फरक छ ? 
नेपालका कम्युनिस्टहरुले कस्तो कम्युन बनाउन खोजेका हुन् उनीहरुलाई सोध्नु पर्छ । जहाँसम्म कम्युनमा सबै समान भन्ने कुरा आयो, यस्तो कहिले पनि हुन सक्दैन । नेपालमा कम्युनिस्ट सरकार छ भन्छन् त्यो मैले बुझेको छैन । समाजवाद पनि भन्छन्, त्यो पनि मैले बुझ्न सकेको छैन । उहाँले बामपन्थी पनि हुँ भन्छन् । यो शब्द कहाँबाट, कहिले शुरु भयो, यसको अर्थ के हो ? र बामपन्थ कसले शुरु गरे भन्ने विषय एक गम्भीर विषय हो । 

मान्छेले बनाएका विषय छाड्ने हो भने त मानिसमा समानता होला नी त । ओशो कम्युनमा त्यस्तो हुन्छ ? 
मलाई यो प्रश्नको जवाफ दिन गाह्रो भयो । यहाँ कसले कसलाई बनायो, कसले के बनायो भन्ने विषय नै जटिल छ । महिलालाई किन पढ्न नदिने ? भन्ने विषयमा याज्ञबल्क्य र गार्गीबीच शास्त्रास्त्र भयो । गार्गीले यो श्रृष्टि भगवानले सिर्जना गरे भने भगवानलाई सिर्जना गर्ने चाहिँ को हो त त्यो ? भन्ने प्रश्न गरिन् । याज्ञबल्क्यले ‘यो अति प्रश्न भयो’ भने । अर्थात उनले तर्कमा जित्न नसकेपछि निषेध गरे । त्यसपछि महिलालाई पढ्न दिनु हुँदैन । पढ्न दिँदा अति प्रश्न गर्छन् भन्ने मान्यता विकास गरियो । बनाउनेको खोजी गर्दै जाने हो हो भने अनन्तमा पुगिन्छ । 

जस्तो कि धर्म, मजहब र रिलिजन एक अर्काका पर्यायबाची हुन् । यी तीन एक अर्काको रुपान्तरण होइन । 

म सात वर्ष कम्युनमा बसे । म बस्दा सबै काम गर्थेँ । प्रायः म व्यवस्थापनमा बसेँ । लिगल, आर्थिक, पब्लिक रिलेसनमा म काम गर्थेँ । तर अरु धेरै कामहरु पनि गर्थेँ । जसको क्षमता जे छ उसले त्यही काम गथ्र्यो । काम सानो ठूलो भन्ने हुँदैन थियो । 

नेपालका कम्युनमा त भगवानलाई झै आरती उतारिन्छ नी ? 
जसले गर्यो उसैलाई सोध्नु होला । नेपालका झ्याउरे स्याउरे भन्दा मै हुँ भन्ने अरु पनि थिए, तर ती कोही पनि ओशोका उत्तराधिकारी थिएनन् । उत्तराधिकारी हुँदा पनि हुँदैनन् । आरती, फूलमाला, मूर्ति पुजा गर्नेहरु परम्परागत ढर्रा चल्ने भएर त्यस्तो गरिएको हो । 

ओशो तपोवनमा त विशिष्ट व्यक्तिहरुको आरती उतारिन्छन किन ? 
हाम्रो समाजमा अहिले पनि माग अन्धविश्वासको छ । त्यही अन्धविश्वास ओशो तपोवनले बिक्री गर्छ । ओशो तपोवन व्यापार हो । लगानी बिनाको लगानी हो । लोभी हुञ्जेल पापीको पेट खाली हुँदैन । ओशो तपोवन जानेहरु सबै ध्यानका लागि जाँदैनन् । विभिन्न स्वार्थ पूरा गर्नका लागि पनि जान्छन् । जति पनि समाजमा धर्मका ठेकेदारहरु छन् नी सबै व्यापारी हुन् । सन्यासी भएपछि श्री भन्ने उपाधि किन चाहियो ? स्वामी भएपछि किन चाहियो बोधिसत्व ? 

आनन्द अरुणको पूरा नाम के हो थाहा छ ? म भन्छु, ‘बोधिसत्व आचार्य स्वामी आनन्द अरुण’  यो नामको उहाँले खुब प्रचार गर्नुहुन्छ । मानिलिनुस तपाईं आफ्नो मिडियाको सम्पादक हो र आफू सम्पादक भएको खुब प्रचार गर्नुहुन्छ भने तपाई ‘ठीकैको मान्छे’ हो । खासै गुदी भएको मान्छे होइन । आनन्द अरुण पनि आफ्नो टाइटलको खुब प्रचार गर्नुहुन्छ । त्यो पनि हुँदै नभएको उपाधि ।  उहाँ पनि त्यस्तै हो । ओशोले नामका अगाडिपछाडि अनेकन उपाधि जोडेर एक खेल खेल्नु भएको थियो । खेल सकिएपछि सबै फालिदिनुभयो । त्यो खेलमा अहिले पनि अरुणहरु रमाइरहनु भएको छ । 

ओशोका सन्यासीहरुले किन फेरि मूर्ती पुजालाई प्रश्रय दिएको होला ? 
अब मूर्ती पुजाको प्रशंग आउँदा भगवान कृष्णको विषय जोड्छु । उनी विष्णुका अवतार हुन् भन्ने थाहा छ । तर उनलाई विरोध गर्ने पनि त्यो बेला थिए । महाभारत जितेपछि पाँच पाण्डवबीच विवाद भयो कि कसका कारण जित भयो ? यो प्रश्नको जवाफ कृष्णले नदिएपछि पाण्डप एकलव्यभए ठाउँ पुगे । जसरी भगवान कृष्ण बुझाउन कठिन छ । कृष्ण दिन पनि हुन् रात पनि हुन् । साँझ पनि हुन् बिहान पनि हुन् । गुलीयो पनि हुन्, तीतो पनि हुन् । सुगन्ध पनि हुन् दूर्गन्ध पनि हो ।  अर्थात उनी सम्पूर्ण हुन् । के हुन् के हैनन् भन्ने नै छैन । सबै हुन । कसैले कृष्णमा प्रेम देखेर पुज्छन्, कसैले सत्य, कसैले धर्म । 

ओशो पनि यस्तै भेग छन् । जता छोयो त्यो पनि छ, हेर्दा उल्टो पनि देखिन्छ । यसकारण म ओशोलाई यस्तै हुन् भनेर परिभाषा गर्न सक्दिनँ । अब तपाईंले अरुण र ओशो तपोवनलाई नै ओशोको मापदण्ड मानिदिनु भयो । यो साँघुरो घेरामा बसेर ओशो बुझ्न सकिदैन । 

धेरैले आनन्द अरुणलाई नै आधिकारिक प्रतिनिधि भनेर बुझ्छन नी त । 

अरुणको मात्रै किन कुरा । देवीमाताहरुका ठेकेदार छन्, ठेकेदारनीहरु छन् । विष्णु, महादेवका ठेकेदार अरु पनि छन् । जब ठेकेदार हुँ भनेपछि मात्रै बिक्री भइन्छ भने मान्छेले भगवानको ठेकेदार हुँ त भन्ने नै भयो । 

आनन्द अरुणले हिजोका दिनमा जस्ता परम्परा, अन्धविश्वास थिए हाम्रो समाजमा त्यसैलाई ओशोको विचारमा ल्याएर मिसाइएको छ । तपाईं बारम्बार उनी नै ‘म्यासेन्जर’ हुन् भन्नु हुन्छ भने त्यो तपाईंको कुरा हो म त भन्दिनँ । उनी खासमा केही पनि होइनन् । ओशोले शरिर त्याग्ने समयमा उनले काम गरेका पनि होइनन् । 

अरुण अब साथीभाई नै हुन् । मैले एकाधपटक सम्झाएको पनि थिएँ । उनले पनि बारम्बार भनेका थिए कि ‘म पथभ्रष्ट हुन सक्छु । साथीभाईले सुधार्नु पर्छ ।’ मैले उनलाई प्रष्ट भनेको पनि हो । तपोवनकै केसमा मैले उनलाई  ‘कमजोरमाथि बद्मासी’ भयो यस्तो नगर्नूस् भनेको हो ।’

आफ्नै गुरुभाईहरुलाई जेल हाल्ने काममा उत्रिनु भएको छ नी त उहाँ !
हो, त्यो काम नगर भनेको थिए । झगडा नगर पनि भने मानेनन् । महिलाले खुट्टा मसाज   गरेको तस्बीर प्रचार गर्ने काम तपोवनले नै गर्यो । केस तपोवनले नै गरेको हो । मुद्दा मामिला तपोवनले नै गर्यो । हाइलाइट गर्ने काम तपोवनले नै गरेर उचालेको हो । 

ओशोले ‘म नेपालमा बसिरहेमा अरुणको पत्ता कट्छ’ भन्नु भएको हो ? 
अरुण हाइलाइट भएको कारण नै ओशो नेपाल आएर ६ हप्ता बसेका कारण हो । एक हप्ताका लागि आउनु भएको थियो । के कारण पर्यो ६ हप्ता बस्नुभयो । ओशो नेपालमा अटाउन सक्ने व्यक्तित्व नै हुनुहुन्थेन । समुद्रलाई कचौरामा हाल्न खोजेर हुन्छ र ? ओशो नेपाल आएपछि म नै हुँ सर्वेसर्वा जस्तो गरे । उनलाई अरुले उचालेको पनि छन् । पहिले पनि अरुणलाई दुइ पटक अरुले उचाल्दा दुई चार वर्ष सन्केका थिए । स्वामी कृष्णबेदान्तले ‘केही समस्या नभए को सन्यासी हुन्थ्यो र ? स्वामीजी’ भनेका थिए । त्यो सुनेर अरुण तिल्मिलाएका थिए । अरुणले गेरु वस्त्र लगाउनमा जोड दिए, कृष्णवेदान्तले भने कि ‘कुखुराको प्वाँख पनि गेरु नै हुन्छ । के कुखुरा पनि सन्यासी भयो ? ’ भनेर सोधे । उनी फेरि तिल्मिलाए । 

अहिले बजारमा बिक्री हुन्छ भनेर आरती उतार्ने, पुष्पमाला चढाउने, स्वागत सत्कार उस्तै गर्ने, चाकरी चाप्लुसी बिक्छ । उहाँले त्यही गर्नुहुन्छ । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।