खेल

ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टोरन्टोविरुद्ध सोमपालको टिम विजयी

ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टोरन्टोविरुद्ध सोमपालको टिम विजयी

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–२० लिग अन्तर्गत सन्दीप लामिछानेआवद्ध टोरन्टो नेशनलविरुद्ध सोमपाल कामी सम्मिलित विनिपेग हक्स विजयी भएकोे छ । सोमबार राति भएको खेमलमा क्रिस लिनको विष्फोटक ब्याटिङमा  विनिपेग ३ विकेटले विजयी भएको हो । सोमपालको टिमको यो लगातार दोस्रो जीत हो । नेशनलले दिएको २१७ रनको विशाल लक्ष्य विनिपेगले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि क्रिस लिनले विष्फोटक प्रदर्शन गरे ।

अघिल्लो खेलमा ३४ बलमा ७४ रन बनाएका उनले टोरन्टोविरुद्ध १० छक्का र २ चौकाको मद्दतमा ४८ बलमा ८९ रनमा रनआउटको सिकार भए । यस्तै सन्नी सोहल ५८, साइमान अनवार ४३ रनमा आउट हुँदा अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा टोरन्टोका सलमान नाजार, क्रिस ग्रीनले २–२, कप्तान युवराज सिंह र जेर्मी गोर्दानले एकएक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङको मौका पाएको टोरन्टोले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको थियो । उसका लागि रोड्रीगो थोमसले ६५, किरण पोलार्डले ५२, युवराज सिंहले ४५,  हेनरिक क्लोसेनले १५, क्रिस जोर्डनले ११ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा विनिपेगका डिजे ब्रावोले ४ विकेट लिए । 

अटाएनन् प्लेइङ ११ मा सन्दीप र सोमपाल
आइसीसी एसिया छनोट खेलेर क्यनडा पुगिसकेका सन्दीप र सोमपाललाई सोमबारको खेलमा मौका दिइएन । उनीहरु सोमबार मात्र क्यानडा पुगेकाले सोमपाल र सन्दीपलाई प्लेइङ ११ मा समावेश नगरिएको बुझिएको छ । अर्को खेलमा उनीहरुले प्लेइङ ११ मा मौका पाउन सक्न्े सम्भावना छ । अब विनिपेगको खेल आगामी विहीबार छ भने टोरन्टोको खेल शनिबार हुँदैछ ।         
 

ग्लोबल टी–२० लिग सन्दीप र सोमपाल