विचार

नेपालीबाट नै शोषित छन् विदेशमा नेपाली 

नेपालीबाट नै शोषित छन् विदेशमा नेपाली 


सरोज खडका
उमेरले २२ वर्ष पनि ननाघेकी बबिता दाहाल धेरै पैसा कमाएर सुखको जिन्दगी जिउने सपना बोकेर दुवई आईन । सुदुरपश्चिम घर भएकी उनको काठ्माडाैमा एकजना मेनपावर एजेन्टसँग चिनजान भयो । एउटा सहकारीमा बजार प्रतिनिधिको नोकरी गरिरहेकी बबितालाई विदेश गएपछि यस्तो दुःख पनी गर्नु नपर्ने र पैसा पनि धेरै कमाउन सकिने सपना देखाए ती एजेन्टले ।

आर्थिक स्थिति पनि कमजोर भएकी उनी धन कमाउने सपनामा डुब्न थालिन् । एक वर्ष अघि परिवारको सहमति विना अन्तर जातीय विवाह गरेकी ववीताका श्रीमान् पनि बिहे गरेको केही दिनमै विदेशिएका थिए ।

श्रीमान श्रीमती नै विदेश गएर कमाएपछि भविश्यमा सुखसँग जिवन कट्ने भन्दै श्रीमानसँगको सल्लाहमा विदेश जाने तयारी गरिन् । एजेन्टलाई नगद रु १,२०,०००( एक लाख विस हजार) जोरजाम पनि गरिन र खाँदैगरेको जागिर पनि छोडेर विदेश जाने तयारीमा लागिन् । 


पासपोर्ट बुझाएको १५ दिनमा भिजा आयो भन्दै एजेन्टको फोन आएको दिन बबिता निकै खुशी भईत् । एजेन्टले भोलिपल्टै उडान भएकोले पैसा बोकेर अफिसमा आउनु भन्न नभ्याउँदै उनी पैसाको पोको बोकेर काठमाडौँको गौशलामा रहेको पिस ईन्टरनेसनल भन्ने मेनपावर कम्पनीमा पुगिन् ।

वेटरको जागिर मिलेको, ४५,००० नेपाली तलव रहेको अनी ओटी र टिप्स गरेर ५०,००० अतिरिक्त कमाई हुने, खाने बस्ने सुविधा भएको जस्ता निकै लोभलाग्दा सपना देखाए ।

पैसाको पोको बुझ्दै भालि बेलुका ५ बजे विमानस्थल पुग्नुपर्ने बताए । मनमा अव त दुःखका दिन गए भन्ने सोच्दै भएभरको पैसाले किनमेल गर्दै गोंगबुमा रहेको कोठामा पुगिन । लगभग १ लाख कमाई हुने जागिर भेटेको र भालि बेलुकाको उडान रहेको कुरा उनका विदेशमा रहेका श्रीमान्लाई भिडियो कल गरेर बताईन ।

श्रीमानपनी खुबै खुसी भए । श्रीमान् श्रीमती मिलेर धेरै धन कमाउने र नेपाल फर्केर सुखसँग जिन्दगी विताउने योजना बनाए । 


आफन्त, साथीभाई र शुभचिन्तकसँग विदा मागी कुम्लो कुटुरो बोकेर उनी बेलेका ४ बजे नै मेनपावर अफीस पुगिन । तर मेनपावरका कर्मचारीले आज उडान रद्ध भएको र भोली बेलुका आजकै समयमा आउन भन्दै गेटबाटै फर्काईदिए । ठुलो जोश जाँगरका साथ विदेश हिँडेकी वविताको अध्यारो मुख पारेर घर फर्किन ।

तर अफिसले दिनदिनै बोलाउँदै उडान रद्ध भयो भन्दै फर्काउँदै गर्न थाल्यो । वबिताको विदेश गएर काम गर्ने आधा जाँगर मरी सकेको थियो । पाँचौ दिनपनि उनी उही समयमा पुगीन । आज पनी फर्कीनु पर्छहोला भन्दै मेनपावर पुगेकोै पाँचौ दिनमा भने उनको उडान भयो । 


काठमाडौंबाट उडेको केही घण्टामा नै उनी खाडी मुलुक युनाइटेड अरब इमिरेट्स पुगिन् । विमानस्थलमा उनलाई दुवईमा काम लगाइदिने कम्पनी एक्सो डस हस्पीटालीटी सर्भिस भन्ने कामदार सप्लाएर कम्पनीका व्यक्ति पुगेका थिए । ठुला ठुला भवन, चिल्ला र फराकिला सडक, जताततै झिलीमिली उनलाइ लाग्यो ।

एक्सो डस हस्पिटालीटी सर्भिस भन्ने कामदार सप्लाएर कम्पनीमा आएकी उनी त्यो कम्पनी रोजगारदाता कम्पनी नभएर कामदार सप्लाएर कम्पनी भएको र वेटर नभई क्लिनर र घरायसी कामदारहरु मात्र सप्लाई गर्ने कम्पनी भएको थाहा पाएपछि भने एकपटक झुक्किईन । उनी एक्लै नभएर उनी सहित चारजना अरु महिला पनि सँगै भएकोले उनलाई खासै चिन्ता भने लागेको थिएन । 


उनीहरुलाई बस्नको लागी व्यवस्था गरीएको ठाउँमा पुर्याएर ती कम्पनीका प्रतिनिधि भोलि १० बजे गाडी लिन आउने र तयारी भएर बस्न भन्दै हिँडे । उनको आधा सपना त तव उड्यो जव उनीहरुको लागि व्यवस्था गरेको वासस्थानमा पुगिन । एउटा कोठामा १७ जना महिलाहरु बसेका थिए ।

कोही १५ दिन अगाडि मात्र आएका थिए भने कोही ३÷४ दिन देखी त्यहाँ बसेका थिए । भोलिपल्ट कम्पनीको गाडी त आयो तर उनीहरुलाई एक्सो डस हस्पीटालीटी सर्भिसको कार्यालयमा लगेर उनीहरुसँग भएका सम्झौता पत्र लगाएत सम्पुर्ण कागजातहरु जफत गरियो ।

पासपोर्टको र भिजाको फोटोकपी दिँदै एक्सो डस हस्पीटालिटी सर्भिसका सञ्चालक मनोज रिजालले काम सुरु नहुनजेल कोठामै बस्न र बाहिर ननीस्किन आदेश दिदै पनः कोठामा ल्याएर छाडिदिए । 


मान्छे भएर पनी भेडा बाख्रा जस्तो बस्नु पर्छ होला भनेर कहिल्यै नसोचेकी उनी काम गर्न थालेपछि राम्रोहोला भन्ने आसमा बसिन् । दिन वित्यो, हप्ता वित्यो अनि महिना तर काममा पठाएन ।

कोठामा न खाने कुरा छ न किन्ने पैसा छ, नेपालबाट ल्याएको अली अली पैसापनी सकिएपछि भरे के खाऊँ ? भालि के खाऊ ? भन्ने अवस्थामा पुगिन् । उनी लगायत १६÷१७ जनाको एउटै अवस्था थियो । काममा नपठाएपनि खानको लागि पैसा त दिन्छ होला भनेर माग्न गएका उनीहरुलाई काम नगरी पैसा नपाउने र कम्पनीले बस्ने व्यवस्थामात्र गर्ने सम्झौता भएको बताउँदै फर्काई दिए ।

 
दुवाई आएको महिनौ वितिसक्यो, कम्पनीले न त जागीर दिन्छ न त घर जान दिन्छ । कि काम देउ की घर पठाईदेउ भनेर एक्सो डस हस्पिटालीटी सर्भिस का सञ्चालकलाई कैयौँ पठक बिलौना गरिसकिन् । तर तिमीहरुलाई ल्याउादा ५,००० दिराम (लगभग रु १५०, ०००) खर्च भएको र नेपालबाट पैसा मगाएर तिर  अनी पासपोर्ट दिन्छु भन्छन ।

दुःखै दुःखको चपेटामा परेर १२०,००० ऋण खोजेर दुवई आएकी उनी अव फेरी १५०, ००० ऋण खोजेर नेपाल फर्किने तयारीमा छिन । 


यस्तै दुःख छ धरानकी विना मगरको । नेपाल फर्किनका लागि नेपालमा भएका आफन्तसँग पैसाको जोहो गर्दैछिन् । ४ महिना अगाडि दुवई आएकी उनलाई पनी वेटरको काममा लगाईदिने भनेर ल्याइएको थियो ।

दुबई पुगेको १ महिनापछि काममा त लगाइदिए तर घरायसी कामदारमा । अरवी परिवारको घरमा कामदारको रुपमा बसेकी उनी न त भाषा आउँथ्यो न त घरका काम नै । दिनको १८ देखी २२ घण्टाको काम अनी घर मालीकको विभिन्न अत्याचार जसो तसो १ महिना विताईन तर मर्नु न बाँच्नुको अवस्थामा पुगेपछी घरबाट भागेर काम दिलाइदिने एक्सो डस हस्पीटालीटी सर्भिसको कार्यालय पुगिन् ।

नेपालीकै कम्पनी भएकोले सहयोग पाउने आशा गरेर पुगेकी उनी कम्पनीका संचालक मनोज रिजालले काम यहि हो गर्ने भए गर नत्र ५००० दिराम तिरेर नेपाल जाउ भन्ने जवाफ दिए । नेपालमा रहेका आफन्तले कहिले १५०,००० को जोहो गर्लान र नेपाल जान पाइएला भनेर कुरेर वसेकी छिन ।

 
बबिता र विना त प्रतिनिधि उदाहरण मात्र हुन । उनीहरुका अनुसार एक्सो डस हस्पीटालीटी सर्भिस नामको कामदार सप्लाएर्स कम्पनीमा मात्र १०/१५ जना महिला महिनौँ देखि यसरी बसिरहेका छन ।


खाडी मुलुक त्यसमा पनि विशेषगरी दुवईमा यसरी फसाउने कम्पनीहरु धेरै छन । धेरै धन कमाउने आशा देखाएर कुनै ज्ञान र सीप नभएका ववीता र विना जस्तालाई दुवई पठाउने पिस ईन्टरनेसनल मेनपावर अनि दुवाईमा कामदार सप्लाएर्सको काम गर्ने एक्सो डस हस्पीटालीटी सर्भिस र ३ महिनाको भिजिट भिसामा रोजगारीको ग्यारेन्टि गदै २/३ लाख लिएर विदेश पठाउने मेनपावर एजेन्टहरुलाई नेपाल सरकारले निगरानी वढाउनु पर्छ ।   युएई स्थित नेपाली दुतावासले पनी यस सम्बन्धि चासो देखाउनुपर्छ । 


मेँले दुवईमा आएपछि थुप्रै यसरी दुःख पाएकाहरु भेट्ने मौका पाएको छु । ठुला ठुला सपना देखाएर विदेश ल्याइएका नेपालीहरु मध्य धेरै दुःख पाउनेहरुमा विनाजस्ता कुनै सीप नभएका नेपालीहरु बढी छन् । त्यसैले पनि जुनसुकै देशमा पनी रोजगारीमा जानु भन्दा अगाडी सम्वन्धित कामको जानकारी वा दक्षता र त्यहाँ प्रयोग हुने भाषा जानेको हुनुपर्छ ।

यसो भएमा मात्र दुवईमा कामको दक्षता भएका जो कोही व्यक्ति वा जुनसुकै क्षेत्रमा पनी रोजगारी पाउन सक्छन ।