खेल

सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य

सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं : सिंगापुरमा जारी आइसिसी टि २० विश्वकप एसिया छनोटअन्तर्गत नेपाललाई आयोजक सिंगापुरले १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुरले २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो।

नेपाली समयअनुसार बिहान ७:१५ बाट सुरु भएको खेलमा सिंगापुरका तिमुथी ह्यास डेबिडले ४३ बलमा ८ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७७ रन बनाए। रोहन रंगराजनले ३३ बलमा ३ चौका र ४ छक्का हान्दै ४९ रनको योगदान दिए भने मनप्रित सिंह २७ बलमा ३ चौका र २ छक्काको मद्दतले ४२ रन जोडे। सिंगापुरका अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।

नेपालका लागि ३ ओभरमा २६ रन खर्चिएर करन केसीले २ विकेट लिए भने अभिनाश बोहोराले ४ ओभर खेल्दै ३५ रन खर्चिएर ४ विकेट लिए। अहिले नेपालले सिंगापुरले दिएको लक्ष्य पछ्याइरहेको छ।

आजको विजेता टोली आगमी अक्टोबरमा युएईमा हुने ग्लोबल छनोटमा स्थान पाउने छन्। त्यसैले नेपाल आज जित्नै पर्ने दबाबमा छ। नेपाल पराजित भए वा वर्षाका कारण अंक बाँड्नु परेमा विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन सपना पूरा हुने छैन।

तीन खेलबाट दुईमा जित र एक खेलमा अंक बाडेको सिंगापुर पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने समान खेलबाट दुईमा जित र एकमा हार व्यहोरदै चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

क्रिकेट