कभर स्टोरी

‘मलाई अब कसैको डर छैन, हजार पल्ट भन्छु, ‘निर्मला पन्तको हत्यारा दिलिप नै हुन्’ 

‘मलाई अब कसैको डर छैन, हजार पल्ट भन्छु, ‘निर्मला पन्तको हत्यारा दिलिप नै हुन्’ 

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको एक वर्ष पुग्दासमेत हत्यारा पत्ता नलागेको भन्ने कुरा बाहिर आइरहँदा सो घटनाको अनुसन्धान गर्ने सिआइबीका डिएसपी अंगुर जिसीले हत्यारा पत्ता लागेको दोहोर्याएका छन् । भिआइी अपराधी जोगाउन मानसिक रोगी दिलिपसिंह विष्टलाई फसाउन अंगुर जिसीले भूमिका निर्वाह गरेको भनेर उनलाई नेपाल प्रहरीले अहिले निलम्वन गरेको छ । तर उनले अहिले पनि दिलिपसिं विष्ट नै अपराधी रहेको दावी गरेका छन् । 
उनले घटना, दिलिपसिंह विष्ट, डिएनए र भ्रमका विषयमा विस्तृत रुपमा यसरी वर्णन गरेका छन् ।     

पृष्ठभूमि
‘म सिआइबीमा कार्यरत थिए । घटना भएको तीन चार दिनपछि म कञ्चनपुर पुगेँ । अनुसन्धानको निष्कर्ष निकाल्यौं । करिब २५ दिन हामी कञ्चनपुर बसेर धेरै मानिसहरुसँग सोधपुछ पनि गर्यौं । जब हामीले दिलिपसिंह बिष्टलाई गिरफ्तार गर्यौं, त्यसपछि उसको साबिति बयानले हामी ‘शक्ड’ भयौं । किनभने उसले अपराध स्वीकार गर्यो । उसले भनेभने जसरी नै बलात्कार भएको प्रमाणहरु पनि थिए । उसले साबिति बयान दिँदैमा पनि प्रहरीले मान्दैन सजिलै । उसले दिएको बयानसँग मिल्ने आधार र अरु प्रमाणले पनि त्यसलाई पुष्टि गर्नुपर्छ । 

हामीले घटना र प्रकृति हेरेर यो तरिकाले बलात्कार र हत्या भएको हुनुपर्छ भन्ने आँकलन गरेका थियौं । त्यो आँकलनसँग मिल्ने गरी दिलिपसिंह बिष्टको बयान थियो । चार पाँचवटा टेक्निकल विषय पनि उसले भन्न सकेको छ । जुन अपराध नगर्नेले भन्न सक्दैन ।

घटनाक्रम यस्तो थियो  

२०७५ साल साउन १० गते ११ बजे निर्मला होमवर्क गर्न भनेर आफ्नो साथी रोशनी बमको घरमा गइन् । रोशनी बमको घरबाट निर्मला २ बजेतिर निस्किन् । उनको साइकल बम दिदीबहिनीको घर र निर्मलाको घर जाने बाटोकै नहरमा चार बजे भेटिएको छ । निर्मलालाई बम दिदीबहिनीको घरमा मारेको भए साइकल किन नहरमा ल्याउनु ? निर्मलालाई ओपेरा होटलमा मारेको भए पनि साइकल किन नहरमा ल्याउनु ? निर्मलाको हत्या अन्तै गरेर साइकल मात्रै फाल्न दिउँसो जानु भनेको जोखिम उठाउनु हो । हत्याराले त्यस्तो गर्दै गर्दैन । 

बम दिदीबहिनीको घरबाट निर्मला निस्किन् । साइकल भेटिएको स्थानमा निर्मला ‘इनकाउन्टर’ भइन् ।  अर्थात नहरमा निर्मलालाई जसले भेट्टायो उसैले जबर्जस्ती नहरपारि लग्यो । त्यो पनि १०० मिटर परको पुलबाट होइन, नहरकै पानी हुँदै अर्को ठूलो मान्छेले त्यहाँबाट निर्मलालाई जबर्जस्ती लग्यो ।  घटनास्थलमा एक ठूलो मान्छेको पाइलाको डाम पनि छ । त्यसरी लैजाने मानिस भनेको निर्मलासँग अपरिचित थियो । चिनजानको भए फकाएर पुलबाटै पारि पुर्याउन पनि सक्थ्यो । यसकारण हामीले त्यो व्यक्ति निर्मलासँग अपरिचित हो भन्ने निष्कर्षमा पुगेका छौं । 

जुन उखुबारीमा निर्मलाको शव भेटिएको छ, त्यसमा माथि टिसर्ट लगाएको, घोप्टो परेको, सुरुवाल खोलिएको, एक खुट्टामा भने सुरुवाल नखोलिएको अवस्था छ । औंला उखुमा समातिरहेको जस्तो पनि देखिएको छ । 

भनेपछि उनले त्यही स्थानमा प्राण त्यागेको हो जस्तो देखिन्छ । यसले हामीलाई केही कन्फ्युजनमा पनि पारेको छ । तीन चार दिनसम्म उनले त्यहाँ प्राण त्यागेको हो कि होइन भन्ने कुराले इलुजन सिर्जना गर्यो । पछि मैले उत्तानो परेको फोटो पनि हेरेँ । ती फोटोमा पनि हातको औंला कक्रक परेको देखिए । चिकित्सकहरुसँग सल्लाह गर्दा के पत्ता लाग्यो भने मानिस मरेको तीन चार घण्टापछि मानिसको हातका औंला खुम्चिन्छन् । हात पनि कक्रक्क पर्न थाल्छ । अर्थात मृतकको हातका औंला क्रमशः खुम्चिन्छ । त्यहाँ जे भेटिन्छ, त्यसलाई समाउँछ । वा समाएको जस्तो देखिन्छ । 

पोष्टमार्टममा घाँटी थिचेर मारिएको उल्लेख छ ।  देब्रे हातले थिचेर मारिएको रिपोर्ट छ । 

भिभिआइपीलाई जोगाउन प्रमाण नष्ट
 

अहिलेसम्म हामीले प्रमाण नष्ट गरेको भनेर भएको प्रचारलाई चिर्न सकेका छैनौं । सार्वजनिक भएको भिडियोमा प्रमाण नष्ट गरेको भनेर निर्मलाको कपडा पानीमा चोबलेको, निर्मलाको तीघ्रा र गुप्तांगमा पानीले पखालेको र छोपेको देखिन्छ । त्यही कुरालाई प्रमाण नष्ट गरेको भनिएको छ । निर्मलाको कपडा धोएर प्रमाण नष्ट गरिएको भनिएको छ । तर म यहा प्रष्ट पार्न चाहन्छु कि निर्मलाको कपडा प्रमाण हो कि होइन  ? निर्मलाकै शरिरमा अड्किएको कपडा निर्मलाकै हो भन्ने स्पष्ट भइसकेपछि त्यो कपडा पानीमा चोबल्दैमा प्रमाण नष्ट हुँदैन । 

जतिबेला निर्मला भन्ने चिनिएको छैन । शव कसको हो भन्ने थाहा छैन भने त्यो बेला उनको कपडा सुरक्षित राखेर अनुसन्धान गर्नुपर्छ । भिआइपी अपराधीले प्रमाणको रुपमा लुगा छाडेको र त्यसलाई धोएर उसलाई जोगाउन खोजेको भनिएको छ । भिआइपी अपराधीले लुगामै आफ्नो प्रमाण राखेको थियो होला त ?  लुगा जुन अवस्थामा देखिएको छ, त्यसबाट हामीले हेर्ने भनेको कपडामा  निर्मलाको रगत, अपराधीको वीर्य र उसको गुप्तांगको रौं हेर्ने हो । रातभर पानी परेको छ । पानी, हिलोमा छ कपडा । त्यस्तोमा वीर्य रगत रहि रहन्छ होला ? यस्तो अवस्थामा हामीले परीक्षण गर्ने भनेको डिएनए परीक्षण हो । 

सुरुवाल पखालेको प्रमाण नष्ट गर्न हो कि होइन त ? एक महिला सिपाहीले गुप्तांग छोप्न, हिलो लागेको सुरुवान पानीमा चोबलेर गुप्तांगमा राखिदिएकी छिन् । त्यो पनि भिडियो खिचिरहेका पत्रकारका अगाडि । यदि प्रमाण नष्ट गर्ने उद्देश्यले त्यस्तो गरिएको भए, गर्नेले पनि यो थाहा पाउँथ्यो कि यस्तो काम पत्रकारको अगाडि गर्नु हुँदैन भन्ने । 
प्रहरीले हरेक शव भेटेपछि नांगेझार बनाएर हेर्छ र मुचुल्का तयार पार्छ । शरिरमा भएको सबै निलडाम, चोट मुचुल्कामा लेख्नु पर्ने हुन्छ । ताकि पोष्टमार्टम गर्ने डाक्टर नझुक्किउन् । 

मानिसहरुले उखुबारीमै प्रहरीले शव पखालेर प्रमाण नष्ट गरेको भनेको छ । यदि त्यस्तो हुन्थ्यो भने निर्मलाको गुप्तांगमा वीर्य कसरी भेटियो त ? चिकित्सकले निकालेको भेजिनल स्वावमा वीर्य भेटिएको छ । कपडामा पनि भेटिने भनेको अपराधीको वीर्य वा रौं हो । त्यो त भेटिएकै छ । 

कुकुर किन प्रयोग भएन ? 
 

कुकुर कुन अवस्थामा प्रयोग गर्ने भन्ने बुझ्न जरुरी छ । कुनै बेला कुकुरले सहयोग गर्छ, कुनै बेला मिसगाइड गर्छ । खोला तरेर गएपछि कुकुरले सुँघ्न सक्दैन । घटनास्थलमा पानी,हिलो छ । अरु मानिसहरु पनि गएर घटनास्थलमा टेकेका छन् । त्यस्तो अवस्थामा कुकुर लैजाने हो भने शव हेर्न जाने मानिसलाई कुकुरले इशारा गर्छ । अब के त्यहाँ शव हेर्न, फोटो खिच्न गएकालाई कुकुरले देखायो भनेर पक्राउ गर्ने ? 

नहरवारि निर्मलाको कापी भेटिएको थियो । कापीमा किन कुकुरलाई सुँघाइएन भन्ने पनि प्रश्न छ । मैले कापीमा किन कुकुर प्रयोग गरिनँ ? भन्ने पनि छन् । मैले त कापी भेटेको भनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको ड्रयरबाट हो । मैले घटनास्थलबाट कापी उठाएको होइन । मैले भेटेको अवस्थामा कापी सुँघाउने हो भने त जसले घटनास्थलबाट कापी उठायो, त्यही प्रहरीलाई कुकुरले भुक्छ । 

कापी किन भिजेन ? भन्ने प्रश्न छ । कापी प्लासिष्टक कोटेट छ । कापीको तीन छेउबाट केही भिजेको छ । पुरै लतक्क छैन । किनभने पानी चुर्लुम्म डुब्ने स्थानमा थिएन । 

प्रहरीले भिआइपी अपराधी जोगाउन दिलिप सिंह विष्टलाई अभियुक्त बनाइयो भन्ने आरोप छ । दिलिप सिंह विष्टको सर्टको खल्ती च्यातेर घटनास्थलमा राखिएको भन्ने आरोप लागेको छ । डिएनए परीक्षणमा दिलिपसिंह विष्टको डिएनए म्याच गर्दैन । नगरेपछि प्रहरीले दिलिप सिंह विष्टलाई यातना दिएरै घटना स्वीकार गर्न लगाएको रहेछ, प्रहरीले फसाउने उद्देश्यले नै विष्टको सर्टको खल्ती च्यातेर घटनास्थलमा राखेको रहेछ भन्ने आम मानिसलाई पर्न गएको छ । बाह्रखरी भन्ने अनलाईनमा मैले सर्टको खल्ती च्यानेर घटनास्थलमा राख्न लगाएको भनेर प्रकाशित भयो । त्यो कुरा मेरै विभागका एक जनाले बाह्रखरीलाई भनेका रहेछन् । बाह्रखरीलाई सोध्दा रिलायबल सोर्स भनियो । स्रोत भनेको विभागका मानिसलाई मैले सोध्दा उनले मसँग माफी मागे । 

खासमा पछिल्ला समितिहरुले टर्चर दिन थालेछन् । भिआइपी जोगाउन अंगुर जिसीले सर्टको खल्ती च्यातेर राखेको भन् भन्दै ती हवल्दारलाई करकापमा पारेछन् । ऊ आफै दुर्घटनामा परेर दाँतमा स्टीर राखेर भोलिपल्ट डाक्टरलाई भेट्न जानु पर्ने अवस्थामा रहेछन् । के भन्दा मलाई छाड्ने हो ? भनेर उसले सोध्दा छानविन समितिका सदस्यहरुले प्रायोजित घटना हो भनेर स्वीकार गर भनेछन् । अनि उसले सर्टको खल्ती आफैंले च्यातेर राखेको भनेछन् । तर रिपोर्टमा डिएसपीले भनेर यसो गरेको भनेर आएछ । 
त्यस्तो बयान दिने हवल्दारले पनि मसँग माफी मागेका छन् । उनले भनेका छन्, ‘सर, मैले त जे जे कबोल गर्नुपर्ने हो त्यो सबै लेख्नुस । म सही गरिदिन्छु भनेँ । खल्ती म आफैले च्यातेको भनेर स्वीकार गरेको थिएँ । त्यहाँ हजुरको नाम कसरी मुछियो म छक्क परेँ ।’

यो घटना अनुसन्धान गर्नका लागि गठन भएका अन्य समितिहरु पनि यहि सिद्धान्तलाई मियो बनाएर अनुसन्धानमा केन्द्रीत भएका छन् । उहाँहरुले डिएनए नमिलेपछि सबैकुराहरु प्रायोजित हुन् भन्ने माइन्ड सेट गरेर केन्द्रीत हुनुभएको छ । 

डिएनए नमिलेका कारण खल्ती, विष्ट, उसको बयान झुठ वा प्रायोजित हुन् भन्ने सिद्धान्तबाट पछिल्ला समितिहरुले आफ्नो प्रतिवेदन लेखे । तर रेप र मर्डर केसमा डिएनए परीक्षण भएको निर्मलाको केसमा मात्रै हो । मैले शुरुदेखि नै भन्दै आएको यो हो कि डिएनए परीक्षण गर्ने पद्धति सहि छैन । अहिलेको डिएनए परीक्षण भनेको बाबु छोरा हो कि होइन भन्ने पत्ता लगाउनका लागि गरिने पद्धती हो । यो निर्मला पन्त प्रकरणमा उपयुक्त छैन । मैले डिएनए परीक्षण कै प्रमाणिकता जाँच्नु पर्छ भनेँ । तर कसैले पत्याएन । अहिले राष्ट्रिय मानवअधिकार आयोगले फोरेन्सिक एक्स्पर्टहरुसहितको टोलीले दिएको प्रतिवेदनका आधारमा भन्यो कि यो डिएनए परीक्षण विधि ठीक छैन । डिएनएकै मात्र आधारमा अपराधी खोजिनु वा छाडिनु हुँदैन भन्ने कुरामा आयोग पनि कन्भिन्स भयो । 

हाम्रो टोलीका चार चार जना अनुसन्धान गर्ने प्रहरीलाई कारबाही स्वरुप विभिन्न गणमा राखिएको छ । उनीहरुलाई नजरबन्दमा राखिएको छ । दुई हवल्दारले त राजीनामा नै दिइसकेका छन् ।  उनीहरुलाई मानसिक यातना दिइएको छ ।  मलाई त निलम्बन नै गरिएको छ । 

अपराधी मैले लुकाएको भनियो । एक वर्षसम्म खै त मैले लुकाएको अपराधी अरुले बाहिर ल्याउन सकेको  ? निर्मलाका खातिर मैले यो गरेँ, त्यो गरेँ भन्ने धेरै बकम्फुसेहरु पनि भेटिए । 

डिएनए किन मिलेन दिलिपसँग ? 
निर्मलाको डिएनए आमासँग मिल्यो । भेजिनल स्वावको नमुनाबाट निकालिएको डिएनए र दिलिपबीच मिलेन । के यो विधि सर्वस्वीकार्य सतप्रतिशत विश्वसनीय विधि हो ? मेरो प्रश्न यो हो । यो प्रश्न सुन्न कोही तयार थिएनन् । तर मानव अधिकार आयोगले गठन गरेको डिएनए विज्ञहरुले मेरो प्रश्न सुन्न तयार भए । उहाँहरुले गरिँदै आएको डिएनए विधि गलत भएको ठहर गर्नुभयो । वंशज पहिचान गर्ने डिएनए परीक्षण गरिएको त अहिले आएर पुष्टि भयो । आयोगले त्यही भन्यो । व्यक्ति पहिचान गर्न नसकिने डिएनए परीक्षण गरिँदै आइएछ ।

 अब डिएनए मिलेन भन्दैमा निर्मलाले न्याय नपाउने ?  निर्मलाले न्याय पाउन अब के बलात्कार गरिरहेको भिडियो नै ल्याउने त ? पोखराको श्रीया सुनार भन्ने १० वर्षकी बालिकाको केसमा अभियुक्तले घटना स्वीकार मात्रै गरेको भरमा उमाथि मुद्धा दर्ता भयो । त्यो केसमा अभियुक्तले घटना स्वीकार गर्नेबाहेक केही पनि प्रमाण छैन । कतिपय केसमा प्राविधिक प्रमाण हुँदैन, अब के पीडितले न्याय नपाउने ? 

दिलिप सिंह विष्टले आफूले देब्रे हातले निर्मलाको घाँटी थिचेर मारेको स्वीकार गरेका छन् । आफैंले बयानका क्रममा बलात्कार गरेको, आफैले मारेको बताएका छन् । 
(न्युज २४ को कार्यक्रम ‘जनतासँग सीधा कुरा’मा डिएपी अंगुर जिसीले व्यक्त गर्नुभएको कुराकानीका आधारमा)