विचार

सत्ताको सुप, नेताको रुप          

सत्ताको सुप, नेताको रुप          

एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले मादल बजाएपछि नजिकै आएर बस्छौ ?’
मृगको बच्चाले जवाफ दियो– ‘मलाई थाहा छैन कि तपाईंको गायन राम्रो कि ताल । म त केवल यति जान्दछु– तपाईंको मादलमा रहेको छाला मेरी आमाको हो । जब तपाईं यसमा हान्नुहुन्छ मलाई लाग्छ, आमाले मलाई पुकार्दैछिन । तिनै आमाको आर्तनादले मलाई तपाईं सामु खिचेर ल्याएको हो ।          
यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आपूmलाई विसर्जन गरेका नेताहरुको अवस्था मादल सुन्ने पाठाको जस्तै हुँदो हो । बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला त्यही पाठा भैंm सुन्दा हुन् । अनि विरक्तिएर आर्तनाद गर्दा हुन् । आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन् । हुन पनि उनीहरुले शासन गरेको त्यो युग स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । राष्ट्रहितका लागि राजा प्रजा समान थिए । देशका प्रमुख चार शहीद जन्माउने पुरानो दल प्रजापरिषद्का नेता राजा त्रिभुवन रहेको इतिहास छ । एकथरि राष्ट्रियताको डोरी राजा त्रिभुवनको पालादेखि कमजोर भएको विश्लेषण गर्नेहरु पनि छन् । यद्यपि कमजोरी भएपनि त्यो बेला देशविरुद्ध अपराध कर्म विरलै हुन्थ्यो ।

यो देशमा कसैले संघीय गणतन्त्र शासन व्यवस्था छ भन्यो भने त्यो भन्दा पटमूर्ख बुझाई केही हुन्न । अहिले यो देश केपी–पीके कम्पनी प्रालि भएर चलिरहेको छ । राजनीतिको शीर्ष नेतृत्वकै परिवार अहिले राज्यबाट पालित पोषित छ । कुनै न  कुनै बाटोबाट उनीहरु सरकारी रासन, कासन खाइरहेका छन् । कुनै बेला अमेरिकी राष्ट्रपति अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राज्यसत्तामा यस्तै राइफाँडो लगाएका थिए । छोरी ज्वाईंको बिगबिगी थियो । मादल गरेर परिवारका सदस्य रसरमाइलोमा हिँड्थे । आखिर इतिहासकै कालो कलंक मानिने वाटरगेट काण्डसंग निक्सन विदा भए । नेपालमा बोइङका दुई पाईलटको यो मस्ती रस्साकस्सीमा अनुवाद हुन धेरै कुर्न पर्दैन् ।  

राज्यका संयन्त्र प्रयोग गरेर व्यक्तिका इच्छा पूरा गर्ने व्यवस्था संसारको कुनै राजनीतिक प्रणालीले कल्पना गरेको छैन् । यहाँ देशव्यापी त्यही अभ्यास भइरहेको छ । यो देशमा काठमाडौंमा घरजग्गा, गाडी, सन्तान राम्रा स्कुलमा पढाउने सपना जुत्ता सिलाउने देखि सिंहदरबार चलाउने सम्मलाई छ । सम्पत्ति व्यक्तिको हुन्न भन्ने जिन्दगीभर कागज घोकेका कम्युनिष्ट नेताहरु कार्यकर्ताको मर्मअनुसार उनीहरुको अभिष्ट पूरा गर्ने अभियानमा छन् । जब जग्गा र गाडी नेपालीको नाभीसंग जोडिएर आउँछ भने त्यसैलाई राजनीतिको भाँडो किन बनाइन्छ । भारतीय बजारमा ७ लाखमा पाइने गाडी यहाँ ४० लाख किन तिर्नुपर्छ ? घरजग्गा खरिद अपराधको जननी किन बन्छ ? घोषणापत्र त गाईको पुच्छर हो, जसलाई छेउ समाएर मस्म भने पुग्छ । कार्यकर्ता या मतदाताले प्रश्न गरेका दिन गफ बुन्न जानेकै छ । नेपाल धर्म बेचेर खानेहरुको देश हो । धर्म मानिसले धारण गर्ने अचुक तत्व हो । शेरबहादुर देउवा र रामचन्द्र पौडेल तातोपानीमा डुबुल्की मार्दा देउवाको जनै नभएको दृश्यले चर्चा पायो । आखिर किन ?

माधव नेपालले आमाको किरिया नबसेकोमा बहस जन्मियो । प्रचण्डले छाला जुत्ता लगाएर बाउलाई मुखाग्नि दिएकोमा मानिसले आपत्ति जनाए । नेता पनि समाजका अंश हुन् । अमेरिकी राष्ट्रपतिले कम्युनिष्टलाई देश छोड्न किन धम्की दिए ? उत्तर सजिलो छ– ‘कुनै दिन यस्तो नआओस् कि कम्युनिष्टले अमेरिकाको धर्म, संस्कृतिमाथि धावा बोलेर समाज भडकाउन ।’ मक्का मदिना जाने मुसलमान, टुँडिखेलमा भेला हुने तामाङ, चौधरी, मगरका पर्वमा नाटक गर्ने नेताहरु शिवरात्रीमा पशुपति जान किन सक्दैनन् ? कार्यकर्ताको धर्म संस्कृति परम्परा हुन्छ भने नेताको हुँदैन ? दोहोरो र पाखण्डी जीवन बाँच्नु हुँदैन् । रक्सी खाने भए सीसाको गिलासमा खाने हिम्मत गर्नुपर्छ । स्टीलको गिलासमा जाँड धोकेर आदर्शका राजनीति गर्ने युग उहिल्यै समाप्त भए ।

वास्तवमा राजनीतिक नौटंकी गोट्टीको शुरुवाती बाहुन नेताबाटै भएको छ । नेपालमा अब कोही कसैले काँग्रेस र कम्युनिष्टको अलग अन्तरा घोकेर कसैले अलग अस्तित्वको बाजा नबजाए हुन्छ । हरेक प्रधाानमन्त्रीको गर्जन ‘म नै राज्य हुँ’ बाट प्रारम्भ हुन्छ । यस्ता दुईपैसे घमण्ड नपाले हुन्छ । यो देशमा कोही रिसाएर खाँबो चिथोरे पनि जनताको एउटा रौं हल्लदैन् । सरकारी निर्णयले चुलोको अर्थशास्त्रलाई केही फरक पार्दैन् । अमेरिका र नेपालको अन्तर भनेकै यही हो । सत्ता त मूलतः नेताको रुप फेर्ने मीठो सुप मात्र हो । 

फेसबुके नेता, फेसबुके प्रशासक, फेसबुके जनताको भाइरसले देशका तमाम अंगहरु निष्कृय छन् । नूनको सोझो चिताउनभन्दा फेसबुकको लाइकमा रमाउने उन्मादले सवैलाई उत्ताउलो बनाउँदै लगेको छ । बाउ मरेको समाचार अपडेट नगरी घाटको कर्म गौण ठान्ने सन्तानहरु हजारौं लाखौं जन्मन थालेका छन् । सामाजिक सञ्जालमा देखिएका, लेखिएका वाक्य हेर्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटाको वौद्धिकता, बीपी कोइराला, मदन भण्डारी, मनमोहन, गणेशमानसिंहका राजनीतिक निष्ठा रंगहीन प्रमाणित हुन्छन् । मानौं अष्टबक्रजस्तै जन्मिनुअघि नै सबलाई सवै कुराको ज्ञान छ । नेपालमा प्रकट हुने राष्ट्रियताको चकमके झिल्कोले  केही समयमै अमेरिकाले उत्पादन गरेका युरेनियम भट्टी क्षणभरमै खरानी बनाइदिने छ । विवेकको बट्टामा विर्को लगाएर दास मानसिकताहरु असरल्ल छरिएका छन् ।

शिकार गर्ने ताकत सकिएपछि झिंगेदाउमा लागेको बाघ झैं अर्ती र बुद्धिका भकारी भएर बाँचेका नेता र प्रशासकका कुण्ठाले फेसबुकमा राम्रै जागिर पाएको छ । आफ्नो समयमा परिवर्तनका नाममा वास्तुशास्त्रीले दिएको सल्लाह हुबहु मानेर कुर्सी र टेबलको दिशा फेरेको बाहेक अरु काम नगरेका यस्ता भूतपूर्वहरुले नमागिएको सल्लाह दिएर अभूतपूर्व हुने जाँगर देखाउनु घोडाअघि बग्गीको प्रवेशजस्तै हो । वास्तवमा सामाजिक सञ्जालका राम्रा नराम्रा आआफ्नै विश्लेषण होलान तर यसले यो देशमा जनता नाममा दलका झोले मात्र बाँचेको प्रमाणित गर्छ । यहाँ मानिस मर्दैनन्, पार्टीका कार्यकर्ता मर्छन् । 

अहिलेको समकालिन दृश्य हेरेर विश्लेषण गर्ने जोसुकैले निकाल्ने निष्कर्ष हो–सृष्टिको पहिलो र अन्तिम सिर्जना नेपाल कम्युनिष्ट पार्टी हो । महत्वाकांक्षीलाई व्यवस्थापन गर्न नसकेर जिल्लामा आधा दर्जन मुखिया जन्माइएका छन् । यिनीहरुको काम, कर्तव्य, अधिकार भनेको खादाको खपत मात्र हो । मानिलिनुस् , देशैभरि नेकपाको वर्चस्व भयो रे ! के हुन्छ ? के सृष्टिको नियम बद्लिन्छ ? बरु जनादेश पाएका दलको तुलनामा प्रतिपक्षले फलमासु रोजीरोजी खाएको छ । भोलि उसैलाई ह्याकुलो टक्र्याउन तपाईंहरु तयार हुनुहुन्छ । पैसाले अघाएका कुन पार्टीका कुन नेता भेटिएला ? ४० प्रतिशत पद विक्रीमा तपाईंहरुले राख्नुभएकै छ ।    

शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओहरु समाज गठन गरेर राजनीति गर्छन् । उनीहरुलाई आफ्नो हैन, ओली, प्रचण्ड, देउवा हेडक्वार्टरको चिन्ता हुन्छ । न्यायाधीशहरु संघ बनाएर पानी आपैंm प्यासले तड्पिएको छनक दिन्छन् । न्यायालयमा पन्पिएको राजनीतिक बीउ अब अलि वर्षपछि यसरी झाँगिने छ कि त्यतिबेला कम्युनिष्ट, काँग्रेस र राजावादीका छुट्टाछुट्टै बेन्च हुनेछ । एउटाले गरेको फैसला अर्कोलाई चित्त बुझ्ने छैन् । त्यसपछि पूर्ण इजलासको माग हुनेछ । त्यसमा पनि सत्ता सन्तुलनको आधारमा न्यायाधीशको राय बाझिनेछ । त्यसबेला स्वतन्त्र न्यायालयको विरुप दृश्य कस्तो देखिएला, संझदा पनि काँडा उम्रन्छ । अब राष्ट्रियताको जग मजबुत पार्ने जिम्मेवारी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगतले नभएर सिमेन्ट र डन्डीले लिएका छन् । देशको मेरुदण्ड र नेपालीलाई जोड्ने सेतूका रुपमा यत्र, तत्र, सर्वत्र व्यापारिक विज्ञापन प्रकट हुन थालेपछि हात्ती र हात्तीछाप चप्पलबीचको अन्तर खुटिन छाडेको छ ।

नेपालको सन्दर्भमा मुलुकको कार्यकारी पद जिम्मेवारी नभएर चटकेको आसन बन्दै गयो । मूढ बुद्धि भएकाहरु पनि त्यहाँ पुगेपछि परमार्थी पुरुष बन्ने अभिनयमा मस्तराम भए । सिक्नु नपर्ने, सल्लाह लिनुनपर्ने तर आफूले  बोलेका हरेक वाक्य ब्रम्हवाक्य भन्ने भ्रम पाल्नुपर्ने अनौठो मनोविज्ञानबाट उनीहरु हौसिंदै गए । प्रधानमन्त्रीलाई अनुकूल हुने एजेण्डा लिएर जाने हुक्के, बैठकेहरुको भीडले ठूला मानिसहरु छोपिँदै गए । राम्रो लाउने र मिठो खानेमा सीमित ती एजेण्डाले व्यक्तिको अनुहार त फेरियो तर देश गर्तमा जाकिने प्रस्थान विन्दु कोरियो । जमिनविनाको त्यो अभिनय पदबा खुस्केका भोलिबाट सियोले घोचिएपछिको बेलुनको हावामा अनुवाद भयो । सिंहदरबार देशको त्यस्तो खतरनाक ७८ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सवै दाँत फुक्लेको बाघ भएर फर्किएका छन् । 

पुलिस र सेनामा क्रान्तिकारी संघ खुल्नुबाहेक त्यहाँ भित्रका रमिता झन्झन् छताछुल्ल भएका छन् । फौजीका हेडसर घर फर्कदा विनोद चौधरीजस्ता अर्बपति भएर निस्कन्छन् । सरुवा बढुवा हुन ब्रिफकेस हटकेक बनेका सन्दर्भ भलीभाँती बाहिर आएकै हुन । देशका हरेक निर्णय दारी र सारीका प्रभावमा पर्ने क्रम तीब्र छ । रामनाम जप्नेहरु हराउँदै छन् । बरु रिटायर्डहरु नेभर टायर्ड भन्दै राज्यकै सुविधामा रमाउन कस्सिदैछन् । रिटायर्ड हुनुअघि नै पदको मेलोमेसो मिलाएर निस्कनेहरुको भीड पनि उत्तिक्कै हेर्नलायक  देखिन्छ । आपूmबाहेक संसारलाई उल्लू देख्नेहरुको रोचक भीडन्त घरघर र टोलटोलका भट्टीमा देख्न पाइन्छ ।  

राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक  गौतम बुद्ध उठेका बुद्ध हुन भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । पुस्तकालयमा राखिएका गीता, कुरान र बाईबल आपैंंm युद्ध गर्दैनन्, जो युद्ध गर्छन तिनीहरुले त्यसको रस लिएकै हुँदैनन् । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि । 


 

मादल केपी–पीके