विचार विदेश

देश आप्रवासी, बहस आदिवासी

देश आप्रवासी, बहस आदिवासी

अमेरिकालाई कतै प्रतिकात्मक हिसावले प्रस्तुत गर्न  पर्यो  भने स्टाचु अफ लिबर्टीको प्रयोग गरिन्छ । सिक्रीले बाँधिएकी नारी बन्धनबाट मुक्त भएर हिँड्न लागेको आकृति स्टाचु अफ लिबर्टीको विशेषता हो । मूर्तिमा देखिने नारीले दायाँ हात टाउको भन्दा माथि उठाएकी छन् र हातमा बल्दै गरेको टुकी लिएकी छन् । उनले बायाँ हातमा रोमन अंकमा १७७६, जुलाई ४ खोपिएको बस्तु समातेकी छिन् । १७७६, जुलाई ४ मा अमेरिका बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । बेलायती बन्धनबाट मुक्त भएर स्वतन्त्रताको उज्यालो बाटोमा अघि बढ्न तयार रहेको अमेरिकालाई सो मूर्तिले प्रतिबिम्बित गरेको छ ।

न्यूयोर्कको म्यानह्याटनस्थित टापूमा सो मूर्ति सन् १८८६ मा प्रतिस्थापन गरिएको थियो । अमेरिकाले आफ्नो प्रतिकका रुपमा प्रयोग गर्ने सो मूर्ति फ्रान्सेली जनताले उपहारस्वरुप अमेरिकामा पठाएका थिए । फ्रान्सका हजारौँ जनताबाट सुका सुका जम्मा गरेर कलाकार फ्रेड्रिक अगस्ट बार्थोडीले सो मूर्ति बनाएका थिए ।

रोमन किम्बदन्तीकी स्वतन्त्रता देवीको आकृतिलाई आधार मानी सो मूर्ति निर्माण गरिएको बताइन्छ । स्वतन्त्रता देवीको आकृतिलाई आधार माने पनि बार्थोडीले मुहार चाहीँ काटीकुटी आफ्नै आमाको जस्तो बनाइ दिए । पुत्रधर्म निर्वाह गर्ने यो भन्दा उपयुक्त साइत उनका लागि सायदै कुनै अर्को हुन्थ्यो ।
मूर्तिको आकृति रोमन देवीसंग मिलोस कि मुहार बार्थोडीकी आमासँग, कुरा प्रष्ट छ– स्टाचु अफ लिबर्टीको आकृति र मुहारसँग अमेरिकाको जन्मजात साइनो छैन । म्यानह्याटनमा १५० बर्ष यता ठिङ्ग उभिइराखेको स्टाचु अफ लिबर्टी पनि आप्रबासी हो तर पनि अमेरिकाको प्रतिक हो ।

अमेरिकालाई आप्रवासीहरुको देश मानिन्छ । इटालीका किष्ट्रोफर कोलम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाएसँगै अमेरिकामा युरोपियनहरुको बसाइसराइ चल्यो । प्रकृतिका पूजारी रैथाने अमेरिकनहरुको तुलनामा बसाइसराइ गरेर अमेरिकन भएका युरोपियनहरु नै अमेरिकाको सत्ता र शक्तिमा हाबी भए । डोनाल्ड ट्रम्पलाई उदाहरणका रुपमा लिन सकिन्छ । आप्रवासीहरुलाई बेलाबखत कटाक्ष गरेर चर्चामा आइरहने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं पनि आप्रवासीका सन्तान हुन् । उनकी आमा म्यारी स्कटल्याण्डबाट अमेरिका आएकी थिइन् । ट्रम्पका बुबापट्टिका हजुरबुबा र आमा दुबै जर्मन आप्रवासी हुन् । ट्रम्पका तीन पत्नी मध्ये दुई आप्रवासी हुन् । जेठी इभाना चेकोस्लोभाकियाकी हुन् । ट्रम्पसँग विवाह गरेपश्चात उनले अमेरिकाको अंगीकृत नागरिकता प्राप्त गरेकी थिइन् । अमेरिकाको प्रथम महिलासमेत रहेकी ट्रम्पकी कान्छी बहालवाला श्रीमती मेलानिया युगोस्लाभियाकी हुन् । उनले नागरिकता लिएको केही बर्षमात्र भयो । आप्रवासीको छोरो, आप्रवासीको पति भए पनि ट्रम्प आफूलाई अमेरिकन आदिबासी अर्थात रेड इन्डियनभन्दा बढ्ता आदिबासीझैँ प्रस्तुत गरिरहेका छन् । हुँदाहुँदा उनले जन्मजात अमेरिकी संघीय सांसद सदस्यलाई समेत आफ्नै देश फर्कन सुझाव दिएका छन् । 

अमेरिकाको संघीय संसदका बहालवाला चार महिला सांसदका बारेमा राष्ट्रपति ट्रम्पले गरेको ट्वीट र टिप्पणीका कारण विश्वभर तरंग पैदा गरेको छ । म्यासाच्युसेट राज्यकी आयना प्रेस्ली, न्युयोर्ककी अलेक्जेन्ड्रिया ओकासिया कार्टेज, मिचिगनकी रशिदा हर्बी टलिब र मिनोसोटाकी इल्हान ओमारलाई राष्ट्रपति ट्रम्पले अमेरिका मन नपरे आफ्नै देशमा फर्कन सुझाएका हुन । अमेरिकाको संघीय सांसद रहेका उनीहरु मध्ये तीनजना जन्मजात अमेरिकी हुन् भने ओमार सोमालियाबाट बाल्यकालमा अमेरिका आएकी हुन् । यी चारजनामध्ये पनि ट्रम्पले ओमारको नामै किटेर आलोचना गर्दै आएका छन् । ट्रम्पले उनीमाथि अलकायदाको प्रशंसक रहेको बात लगाउँदै आएका छन् । भलै, सो आरोपको पुष्टि उनले गर्न सकेका छैनन् । आफ्नो देशमा फर्की जाउ भन्ने ट्रम्पको विवादास्पद अभिव्यक्तिप्रति संसदको तल्लो सदनले खेद प्रस्ताव पारित गरेको छ । 

संसारकै सर्वशक्तिमान व्यक्ति ट्रम्पको एकपछि अर्को ट्वीटे आक्रमणका कारण ओमारको परिचय विश्वव्यापी बनेको छ । २ बर्ष अघिसम्म खासै चर्चामा नरहेकी ओमार अहिले अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि ‘हट केक’ बनेकी छिन् । उनका दैनिक गतिविधि र यात्राबारे विशेष सामाग्री प्रकाशन तथा प्रशारण हुने गरेका छन् । क्यानाडा, जर्मनीलगायतका देशका सरकार तथा राष्ट्रप्रमुखले ट्रम्प–अभिव्यक्ति अस्वाभाविक भन्दै ओमार–समूहप्रति ऐक्यवद्धता जनाएका छन् । हेर्दाहेर्दै ओमार अन्तर्राष्ट्रिय सेलिब्रेटी बनेकी छिन् । 

को हुन ओमार ?
तिमी मलाई तिम्रा शब्द बाण प्रहार गर्न सक्छौ
तिमी मलाई तिम्रा आँखाले छेदन गर्न सक्छौ
तिमी मलाई तिम्रो घृणाले मार्न सक्छौ,
तर पनि, म फेरि पनि उठ्ने छु, हावासरी !

ट्रम्पको पछिल्लो ट्वीट आक्रमण र ट्रम्प समर्थकको ‘फर्की जाउ ओमार’ भन्ने नाराबाजीको जवाफमा ओमारले माया अंगेलु रचित कविताको यो अंश ट्वीट गरिन् । कवितामा भनिएझैँ इल्हान अबदुल्लाही ओमार ट्रम्पको निशानामा परेसँगै हावासरी विश्वभर परिचित भएकी छिन् । 
अमेरिकी राजनीतिमा उनको उदय केही कीर्तिमानसहित भएको छ । उनी अमेरिकाको संघीय सांसद बन्ने पहिलो सोमाली–अमेरिकी हुन् । सांसद निर्वाचित हुने पहिलो अंगीकृत अफ्रिकन अमेरिकनको रेकर्ड पनि ओमारको पोल्टामा परेको छ । मिनोसोटा राज्यबाट सांसद निर्वाचित हुने पहिलो अस्वेत महिला पनि ओमार हुन् । इतिहासमै पहिलो पटक सन् २०१९ मा मुस्लिम महिला अमेरिकाको सांसद बने । ती दुई मुस्लिम मध्ये एक हुन् ओमार ।

प्यालेस्टाइनी मूलकी रशिदा हर्बी टलिब मुस्लिम भएपनि परम्परागत हिजाव लगाउँदिनन् । तर, ओमारको राष्ट्रिय राजनीतिमा व्यापक परिचय हिजावका कारण स्थापित भयो । अमेरिकी संसदको १८१ बर्षे इतिहासमा संसदभित्र टोपी लगाउन वा टाउको ढाक्ने गरी केही लगाउन पाइन्नथ्यो । संसदमा ओमारको आवागमनसंगै सो नियम परिमार्जन गरियो । धार्मिक आस्थाका आधारमा लगाइने हिजावजस्ता पहिरनलाई फुकुवा गरियो । अमेरिकी संसदभित्र टाउको छोपेर प्रवेश गर्ने पहिलो संसदको रुपमा ओमारको नाम अंकित भयो । सबैभन्दा फराकिलो मत अन्तरले विजयी हुने सांसदका रुपमा पनि अमेरिकी राजनीतिक इतिहासमा ओमारको नाम लेखिएको छ । 

उमेरले ३६ पुगेकी ओमारको यो राजनीतिक छलाङ कथात्मक चलचित्रको जस्तो देखिन्छ । सन १९८२ मा सोमालियामा जन्मिएकी ओमार शरणार्थीका रुपमा केन्या हुँदै १२ बर्षको उमेरमा अमेरिका प्रवेश गरेकी थिइन् । शरणार्थीका रुपमा अमेरिका प्रवेश गरेको २३ बर्षमै ओमार अमेरिकी राजनीतिको केन्द्रीय पात्र दरिएकी छिन् ।

स्पष्टवक्ता ओमार परम्परागत कतिपय अमेरिकी मान्यताको कटु आलोचक रहँदै आएकी छिन् । अरु देशमा सैन्य क्याम्प खडा गर्दैमा अमेरिका शक्तिशाली र सुरक्षित रहन नसक्ने ओमारको मान्यता छ । उनी अनावश्यक सैन्य ब्यारेक राख्न खर्च गर्नुको साटो शिक्षामा लगानी गर्नुपर्ने तर्क गर्छिन । ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीहरुलाई कडाइ गरिरहँदा उनी अमेरिकाभित्र रहेका कागजातविहीनले पनि सहज स्वास्थ्य सेवा पाउनुपर्ने तर्क गर्छिन । निसर्त स्वाश्थ्य सेवा ओमारको नीति हो । ओमार आप्रवासनसम्बन्धी अमेरिकी नीतिको आलोचक रहँदै आएकी छिन् । 

अमेरिकाले प्यालेस्टाइनको अस्तित्वका बारेमा भूमिका निर्वाह गर्न नसकेको ओमारको ठम्माइ छ । उनी प्यालेस्टाइनप्रतिको इजराल नीतिको कटु आलोचक हुन् । अमेरिकाको मानवअधिकार सम्बन्धी धारणा सन्तुलित नभएको ओमारको निष्कर्ष छ । आफू पक्षधरले मानव अधिकारको गम्भीर उल्लंघन गर्दासमेत अमेरिकी सेना र सत्ताले आँखा चिम्लेको भनी ओमारले संसदीय सुनुवाइमा व्यक्त गरेको विचारले उनीप्रति धेरैको ध्यान तानेको थियो । एल साल्भाडोर, ग्वाटामाला र निकारागुवामा अमेरिकी समर्थक समूहले गरेको नरसंहारप्रति अमेरिकी सेना मुकदर्शक बनेको सन्दर्भ ओमारले संसदमा उठाइदिएकी थिइन् । 

भेनेजुयलाका बहालवाला राष्ट्रपतिलाई अवैध घोषणा गर्ने ट्रम्प नीतिको पनि ओमार आलोचक हुन् । अर्को देशको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने ओमारको तर्क छ । अरुको देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नका लागि गरिने खर्च शिक्षा क्षेत्रमा लगाए सबै अमेरिकीलाई निशुल्क शिक्षा दिलाउन सकिने ओमारको विश्वास छ । पढ्नका लागि लिइएको शैक्षिक ऋण मिनाह गर्ने ओमारको नीतिका कारणपनि उनीप्रति युवावयको चासो बढेको छ । ट्रम्पको बोर्डर वाल अर्थात सीमा क्षेत्रमा पर्खाल लगाउने नीतिलाई ओमारले पैसाको सत्यानाशका रुपमा अर्थाउने गरेकी छिन् । 
अर्थात, ओमार अमेरिकाको राजनीतिमा बागी बनेर उदाएकी छिन् । अमेरिकामा आप्रवासीका लागि अथाह अवसर छ भन्ने उदाहरण पनि ओमार बनेकी छिन् । आप्रवासीको उदय र आवाजप्रति रंगभेदी तप्का कति असहिष्णु छ भन्ने बुझाउनका लागि पनि ओमारको राजनीतिक यात्रा काफी जानकारीमूलक देखिन्छ । 
 

डोनाल्ड ट्रम्प स्टाचु अफ लिबर्टी ओमार