विचार

पदको भुङ्ग्रोमा नेकपा

.कृष्ण मल्ल

पदको भुङ्ग्रोमा नेकपा

जिन्दगी भर पदमा बसेर सुख सुविधा भोग गरी  अघाइकेका नेताहरुलाई अहिले पनि पदकै आशक्ति किन ? अरु पार्टीको होइन, आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुरा गरौं । 

अहिले नेकपामा कार्यविभाजनको लडाईं चलिरहेको छ । जनवर्गिय संगठन र जिल्ला इन्चार्ज÷ सह इन्चार्जको टुंगो लगाइसकेपछि अहिले बिभागहरुको नेतृत्व तोक्ने रस्साकस्सी चलिरहेको छ । अचम्म के छ भने बिभागहरुको नेतृत्वमा उनै बासी नेताहरुको नाम चर्चामा छ । जसले जीवनभर पार्टी र सरकारको लाभको पदमा बसी आनन्द उठाए, अहिले पनि उनीहरु नै ती पद हडप्न लागिपरेका छन् । लगभग केही पद न हडपीसके । 

अचम्म छ, अध्यक्ष र प्रधानमन्त्री पद केपी शर्मा ओली र पुष्पकमल दाहाललाई नै चाहिने । कुनै लाज नमानी आलोपालोको ५ बुँदे सहमति पनि गरेका रहेछन् । अझ, सार्वजनिकरुपमै मलाई यो चाहियो, त्यो चाहियो भन्छन् । पार्टी भनेको आफनो  विर्ता हो र यसमा अरु कसैको हक लाग्दैन भनेजस्तो । 

अझ हेर्नुस न प्रधानमन्त्री भैसकेका र १५ वर्ष पार्टीको महासचिव चलाएका माधव नेपाललाई विदेश बिभाग नभई नहुने । माधव नेपाल नेता मात्र होइन, आफैमा संस्था भैसकेका व्यक्ति हुन् । उनले आफु बन्ने होइन अब अरुलाई बनाउने हो, पार्टी बनाउने हो, देश बनाउने हो । 

उनलाई मन लागेको चिज गर्न कसैले छेक्न सक्दैन । बिना पद मुलुक तथा पार्टीमा उनको रवाफ चल्छ । विदेश घुम्नलाई सो बिभागको प्रमुख भैरहन जरुरी छैन । उनले अभिभावक भएर पार्टीमा अरु कुनै युवा नेतालाई सो विभाग प्रस्ताव किन गर्न सक्दैनन् ?

अर्का नेता बामदेव गौतम हुन् । उनी पार्टीको अध्यक्ष र प्रधानमन्त्री मात्र बनेका छैनन्, बाँकी सबै प्रकारका शक्तिमा पुगेका नेता हुन् । पार्टीका अरु साथी प्रधानमन्त्री भए, अध्यक्ष भए, म चाहिं हुन पाएन भन्ने रोग बामदेवले पाल्न जरुरी छैन । 

गौतमले पनि संगठन बिभाग नभइ हुन्न भनेर जुन पदको आशक्ति देखाइरहेका छन्, त्यसले पनि राम्रो सन्देश दिएको छैन । बामदेव पनि परीक्षण भैसकेका नेता हुन् । उनले अब हामीलाई पुग्यो, नयाँ क्षमतावान युवा नेताहरुलाई मौका दिनुपर्छ भन्ने हो भने उनको उचाईं सगरमाथा भन्दा अग्लो हुनेछ । यसले पार्टीलाई पनि नयाँ जीवन दिनेछ । 

ईश्वर पोखरेल पनि पार्टी र सरकारी लाभको पदमा बेलाबेला मौका पाइरहेका नेता हुन् । आफूले बिगतमा पाएको जिम्मेवारीप्रति गर्व गरी उनले पार्टीलाई धन्यवाद दिंदै स्कुल बिभागको जिद्दी छोड्नुपर्छ । उनको बौद्धिकता, सैद्धान्तिक ज्ञान, वाकशक्तिको प्रयोग गर्न स्कुल विभाग नै चाहिन्छ भन्ने छैन । 

माओवादी केन्द्रबाट आएका नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता बाहेक अन्य जिम्मेवारी नपाएकाले उनको परीक्षण हुन बाँकी छ । उनले पनि मलाई त्यै केटी चाहिन्छ भने जस्तो स्कुल विभागकै अडान लिनु भन्दा अन्य जिम्मेवारीलाई पनि स्वीकार गर्न सक्नुपर्छ । 

केन्द्रीय सचिवालयका प्रायः सबै नेताहरुले आफूले रोजेको विभाग लिइरहेकाबेला शक्ति सन्तुलन र न्यायका हिसाबमा पनि झलनाथ खनालले जिम्मेवारी माग गर्नुपर्ने अवस्था हुन्छ । त्यही भएर होला, उनले पनि स्कुल विभागमा चासो देखाएका छन् । तर, खनालसहित सबै शीर्ष नेताहरुले अब अभिभावकको भूमिकामा गएर युवा नेताहरुलाई पद हस्तान्तरणको नीति अख्तियार गर्नुपर्छ । 

यो विडम्बना हो कि पार्टीमा वैचारिक नेताको छवि बनाएका घनश्याम भुषालले स्कुल विभागको जिम्मेवारी मलाई दिनुस भनेर मुख खोल्नु पर्यो । अझ उनले न पार्टीमा अलिकति ‘न्याय’ बाँकी छ भने भन्ने शब्दको प्रयोग गरेका छन् । यसबाटै थाहा हुन्छ,  नेकपामा अन्यायको सीमा कहाँसम्म पुगेको छ । 

एमालेमा हुँदा उपमहासचिव र झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिका बाहेक अरु कुनै कार्यकारी पद उनले पाएका छैनन् । भुषाल मात्र होइन पार्टीमा भएका कुनैपनि क्षमतावान, अनुशासित र समर्पित नेतालाई पार्टीले आफै मुल्याङ्कन गरेर जिम्मेवारी दिनुपर्छ । मागेर पाएको पदमा प्रतिष्ठा भन्दा आत्मग्लानीको मात्रा बढी हुन्छ । 

अझ अनुशासन आयोगमा उनै अमृत बोहराको नाम लिइदैछ । होइन जिम्मेवारी दिने भनेको कुनै अमुक नेतालाई आजिवन खुशी बनाउन हो कि पार्टीसँगै देश बनाउन हो ? अनि बोहरा कमरेडले पनि भो मलाई चाहिंदैन भन्न सक्नु हुन्न ? 

नेकपाका शीर्ष नेताहरु मात्र होइन तल्लो तहदेखि माथिल्लो तहसम्म सबै ठाउँमा पद लोलुपता चरम देखिन्छ । भर्खरै टुंग्याएको जिल्ला इन्चार्ज र सह इन्चार्जको सूची हेरौं त, एउटै जिल्लामा दश–दश जना सह इन्चार्जसम्म छन् । युवा नेताहरुको चाहना र त्यस अनुसार व्यवस्था गर्नैपर्ने शीर्ष नेताहरुको बाध्यता । योग्यता, क्षमता, दक्षता, रुची भन्दा पनि गुटगत व्यवस्थापन मात्रै । यसले पद नै सबथोक हो भन्ने पुष्टि गरेको छ । जुन पार्टीमा पद नै सबथोक हो भन्ने स्कुलिङ छ, त्यहाँ के को स्कुल बिभाग ?

नेकपाका चर्चित नेता योगेश भट्टराईले त यो विषयमा सामाजिक संजालमार्फत आफनो भनाइ राखि नै सकेका छन् । उनी भन्छन् : 

१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ । 

२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊँ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौं । 

३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊँ । 

४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊँ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौं । त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटी बसालौं । 

५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौं र बुझाऔं ।

नेता योगेशले दिएका सुझावमा पाँचौं बुँदा गम्भीर छ । उनले जिम्मेवारी विर्ताका रुपमा दिएको होइन भन्ने बुझौं र बुझाऔं भनेका छन् । भनेपछि नेकपामा केही नेताहरु अझैपनि आफूले पाएको पदलाई बिर्ता नै ठान्छन् । यसरी पद लिनेमा शीर्ष नेताहरु सबैभन्दा अगाडि  छन् ।  उनीहरुलाई पनि बुझाउनुपर्ने अवस्था छ भने सो पार्टीको हालत के छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । 

एक समय चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टीमा चरम अन्याय छ भनेर अन्तर्वार्ता दिंदै गर्दा भक्कानिएको भिडियोले नेकपालाई तरंगित बनाएको थियो । अहिले पनि धेरैले सो अन्तर्वार्ताको चर्चा गरिरहन्छन् । कतिपयको मनमा गुम्सिएका कुरा रामकुमारीले ओकलेकी थिइन् । दुःख, पीडा र अपमान बेहोरेका छन् तर अभिव्यक्त गर्न सक्दैनन् । 

सर्वहारावर्गको हीतका लागि भनेर कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरु आज आफै अन्यायमा पर्दा पनि पार्टीमा बोल्न सकिरहेका छैनन् । पार्टीमा बोल्यो कि पोल्यो भन्ने स्थिति छ । बरु गुम्सिएर बस्न तयार छन् तर नेतृत्वले गरेको पक्षपात र अन्यायपूर्ण व्यवहारमा प्रश्न समेत उठाउन सक्दैनन् । कहिलेकाहिं एक दुई जनाले बोल्ने प्रयास गर्छन्, त्यो त्यसै हराएर जान्छ । कतिपय नेताहरुका लागि त्यही बोली नै जिन्दगीभरका लागि पासोसमेत बनेको छ । 

हो, काम गर्न पद चाहिन्छ । पद भनेको जिम्मेवारी हो । तर, एउटै व्यक्तिलाई पटक–पटक जिम्मेवारी दिनु भनेको अन्य नेताहरुमाथिको चरम अन्याय हो । अझ प्रतिभावान युवा नेताहरुमाथि त अपराध नै हो । युवा नेताहरुलाई राष्ट्र हीतमा काम गर्ने अवसरबाट वञ्चित गरिएकाले यसलाई  राष्ट्रमाथिकै अपराध भन्दा पनि फरक पर्दैन । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।