विचार

डा. रुईत गर्वबोध गर्ने व्यक्तित्व 

डा. रुईत गर्वबोध गर्ने व्यक्तित्व 


डा‍‍‍. देवी नेपाल । 
तिलगंगा आँखा प्रतिष्ठानले सोमबार २५ वर्ष पार गरेको छ । तिलगंगा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. रुईतको योगदानको चर्चा गर्दै खुलेर प्रशंसा गर्नुभयो । डा. रुईतबारे मलाई पनि केही भन्न मन लागेको छ ।

शनिबारमात्रै मसहितको कार्यक्रममा एम्बिसन एकेडेमीले डा.रुईतलाई सम्मान गरेको थियो । त्यस दिन पनि मलाई अत्यन्तै गर्वबोध भएको थियो । आज उहाँसँगका केही कुरा नेपाल आजमार्फत सेयर गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । उहाँसँग मेरो सानिध्य मेरो पुस्तक लेखाईबाट सुरु हुन्छ ।

२०६६ सालमा हामी एउटा नेपाली पाठ्यपुस्तक तयार गर्न जुटेका थियौँ । ऐरावती प्रकाशनबाट प्रकाशन हुने ‘मेरो प्यारो नेपाली’ किताब लेख्ने समयमा हामीले एउटा कुराको थालनी ग¥यौँ । प्रायः पाठ्यपुस्तकमा निधन भइसकेका व्यक्तिहरुको मात्र जीवनी राख्ने चलन थियो । हामीले सोच्यौँ, जीवित व्यक्तिहरुको जीवनी राख्दा पो बालबालिकालाई बढी प्रेरणा प्राप्त हुन्छ त । विद्यार्थीले पाठमा पढ्ने मात्र होइन, भेट्न नै चाहे भने पनि भेटेर केही कुरा सिक्न सकून् ।

यही कुरा सोचेर हामीले कक्षा ५ को ‘मेरो प्यारो नेपाली’ किताबमा पहिलोपटक वरिष्ठ नेत्रचिकित्सक डा. सन्दुक रुइतको जीवनी राख्यौँ । यही कुरालाई पछि पाठ्यक्रम विकास केन्द्रले निरन्तरता दियो र उहाँको जीवनी कक्षा १० को नेपाली पाठ्यपुस्तकमा राखियो ।

यही साउन ४ उनै महापुरुष डा. सन्दुक रुइतलाई एक भव्य समारोहका बिचमा एम्बिसन एकेडेमी बानेश्वरले ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान–२०७६ बाट सम्मान ग-यो । उक्त अवसरमा मैले डा. रुइतको व्यक्तित्व र योगदानका बारेमा केही बोल्ने मौका पाएँको थिएँ ।

उहाँको केही दिन अगाडि मात्र एउटा भिडियो सार्वजनिक भएको थियो, जहाँ कयौँ वर्षदेखि आँखा नदेखेका एकजना बालकको आँखाको अप्रेसनपछि आँखा खोल्दा अगाडि डा. रुइतलाई देखे अनि भावविह्वल भएर माया गरे, सुम्सुम्याए अनि म्वाइ खाए । त्यो दृश्य देखेर नरसाउने आँखा पाउन मुस्किल छ ।

डा. रुइतको सार्थक परिकल्पना, अद्भुत दूरदर्शिता, अनुपम सेवाभाव र कुशल संयोजनबाट वि.सं. २०५१ सालमा स्थापना भएको तिलगङ्गा आँखा केन्द्रले हालसम्ममा एकलाखभन्दा बढी सेवाग्राहीलाई आँखाको ज्योति दिने र गुमेको ज्योति फर्काउने काम गरेको छ ।

डा. रुइतको विराट ज्ञानको आविष्कार ‘रुइतेक्टोमी प्रविधि’ आज विश्वकै लागि वरदान सावित भएको छ । यस प्रविधिलाई अमेरिका, युरोप, अस्ट्रेलिया, चीन, कोरिया, भियतनाम, थाइल्यान्ड, भारतलगायत ८० भन्दा बढी देशले ससम्मान प्रयोगमा ल्याएका छन् ।

विश्वका अनेकौँ मुलुकहरूमा रुइत आफैँ पुगेर चिकित्सासेवा प्रदान गर्नुभएको छ । इटालीमा रुइतकै नाममा चलचित्रसमेत बनेको छ । रुइतको जीवनी, व्यक्तित्व र योगदानमा आधारित अनेकौँ कृतिहरू लेखिएका छन् र उहाँको उत्प्रेरणामूलक जीवनी पाठ्यपुस्तकहरूमा समेत समावेश भएपछि लाखौँ विद्यार्थीहरू उत्प्रेरित भएका छन् ।

रुइतको विराट ज्ञानगरिमाको प्रतिफलस्वरूप सिर्जना भएका एक दर्जनभन्दा बढी गहन कृतिहरू र अनेकौँ अनुसन्धानमूलक लेखरचनाहरू नेपाली माटोमा जन्मिएका चिकित्साजगत्कै अमूल्य निधि हुन् ।

उहाँ विश्वप्रसिद्ध अर्डर अफ अस्ट्रेलिया सम्मान, रोमन म्यागेसेसे पुरस्कार–२०६३ आदि र नेपाल सरकारबाट प्रदान गरिने ‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक–२०६९ जस्ता उच्च सम्मान, पुरस्कार र मानपदवीबाट सम्मानित र विभूषित हुनुहुन्छ ।

उहाँले विदेशमोह नदेखाई नेपाली भूमिमा नै बसेर बरु विश्वका नागरिकहरूलाई नेपालमा आउन बाध्य पारेर गर्नुभएको राष्ट्रसेवा, अनवरत खोज, अनुसन्धान र नवीन आविष्कारबाट सिङ्गो विश्वलाई दिनुभएको उज्यालो वरदान र अनाथहरूका नाथ, असहायहरूका अभिभावक र दृष्टिविहीनहरूका आँखाका ज्योति बनेर समग्र मानवजातिलाई दिनुभएको अनुपम योगदानलाई नेपाली माटोले कहिल्यै भुल्नु हुँदैन ।

डा. रुइत नेपाली माटोका मोती तथा दृष्टिविहीनहरूका आँखाका ज्योति हुनुहुन्छ ।

यी र यस्तै अनेकौँ तथ्यहरुलाई हेर्दा हामीले आजभन्दा एकदशक अगाडि नै उहाँको जीवनीलाई पाठ्यपुस्तकमा राखेको घटना सम्झेर आज थप गर्वबोध भएको छ । प्रतिभाको सम्मान जीवित अवस्थामा नै गरौँ, मरेपछि चढाइने फूलमाला र दिइने मानपदवीले त्यत्ति महत्त्व राख्दैन ।