समाचार

फूल टिपेको भन्दै वडाध्यक्षले कुटे बालक

फूल टिपेको भन्दै वडाध्यक्षले कुटे बालक

दाङ । आँगनको फूल टिपेको निहुँमा घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले छिमेकी नौ वर्षीय बालकलाई बायाँ गालामा नीलडाम हुने गरी कुटेका छन् । बुधबार गाउँमा साउने संक्रान्तिको लुतो फाल्ने कार्यक्रम चल्दै गर्दा अन्य केटाकेटीसँगै खेल्दै हिँडेका भरत घर्तीलाई वडाध्यक्ष सार्कीले कुटेका हुन् । 

 

भरतको बायाँ कान र पेटमा समेत चोट लागेको आमा रेवता घर्तीले बताइन् । वडाध्यक्ष सार्कीले पनि भरतलाई कुटेको स्विकारेका छन् । तर, कानमा नभई टाउकोमा हल्का हिर्काएको उनको दाबी छ । बालक भरतले भने आफूले वडाध्यक्षको आँगनको फूल नै नटिपेको बताएका छन् । 

 

बालकको घोराही नयाँ बजारस्थित ‘नयाँ बजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टर’मा उपचार गरिएको छ । रातभर कान दुखेर छटपटाएपछि छोरालाई बिहीबार बिहान अस्पताल लगेको रेवताले बताइन् । भरतले कान नै सुन्न छाडेको उनको भनाइ छ । तर, बालकको कानमा धेरै फोहोर जम्मा भएकाले एक हप्तासम्म फोहोर झिकेपछि मात्रै कानको जालीमा असर परे–नपरेको थाहा हुने चिकित्सक विक्रम बुढाथोकीले बताए । 

 

छोरो कुटिएपछि रेवताले वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी छिन् । जिप्रकाका इन्स्पेक्टर राजन गौतमले महिला तथा बालबालिका सेलमा निवेदन दर्ता गराएको बताए । शुक्रबार दुवै पक्ष बोलाएर छलफल गराउने उनले बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

घोराही उपमहानगरपालिका फूल भीमबहादुर सार्की