समाचार

पूर्वमन्त्री बस्नेतको ६१ करोड सहकारीमा फेला, कालोधनको आशंकामा छानबिन सुरु 

पूर्वमन्त्री बस्नेतको ६१ करोड सहकारीमा फेला, कालोधनको आशंकामा छानबिन सुरु 


काठमाडौँ । पूर्व संचारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति फेला परेको छ। राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो।


विभागले सहकारीमा रहेको बस्नेतको ६१ करोड रुपैयाँ फ्रिज गरेर अनुसन्धान थालेको छ ।
प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छलीबाट आएको रकम जम्मा भएको देखिएको विभागले जनाएको छ । यसबारे अनुसन्धान भैरहको विभागको भनाइ छ । 


बस्नेत संविधानसभा सदस्य भएका बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए। बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संबैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए। 


बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर, सुन बजारका साथै पछिल्लो समय सहकारी क्षेत्रमा पनि शुद्धिकरणको नियम कडाइका साथ कार्यान्वयन गर्न थालिएको हाे। 

हाल मुलुकभर १४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन्।