समाचार

भोलिको जाँच रोक्न आज प्रदर्शन

भोलिको जाँच रोक्न आज प्रदर्शन


काठमाडौँ । स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि आज विभिन्न संघ संगठनले धर्नासहित प्रदर्शन गरेका छन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ–संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

 

‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९ हजार १ सय ३१ कर्मचारी माग गरेको थियो । लोक सेवाको विज्ञापन खुलेसँगै आदिवासी जनजाति महासंघलगायतका विभिन्न संघ–संगठनहरू रुष्ट बनेका छन् ।

 

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् । आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ।