विदेश स्वास्थ्य

इबोला महामारीपछि कंगोमा संकटकाल घोषणा

इबोला महामारीपछि कंगोमा संकटकाल घोषणा


काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारीको रुपमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले “विश्व स्वास्थ्य सङ्कटकाल” घोषणा गरेको छ ।


कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय बढीले ज्यान गुमाइसकेका छन् । कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या २५ सयभन्दा बढी रहेको बताइएको छ । जसमध्ये दुईतिहाइको मृत्यु भइसकेको छ ।


 जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको संकटकाल निकै संवेदनशील खतराको सङ्केत हो । यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न भएको बीबीसीले जनाएको छ ।

सुरुमा इबोला सङ्क्रमितको सङ्ख्या एक हजार पुग्न २२४ दिन लागेको थियो। उक्त सङ्ख्या दुई हजार पुग्न भने थप ७१ दिन मात्र लागेको बताइएको छ । इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन् ।


विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट बाहिर फैलिन सक्ने प्रबल सम्भावना छ। युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताइएको छ ।


एउटा भाइरसबाट लाग्ने रोग इबोला लागेमा अकस्मात् ज्वरो आउने, मांसपेसीमा पीडा हुने र कान दुख्ने गर्छ । बिस्तारै बान्ता र पखाला हुनथाल्छ, आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ । विस्तारै धेरै अंगले काम गर्न छाड्ने र मानिसको मृत्यु हुने जनाइएको छ ।