विचार

सत्ताले जन्माएका सामन्तीहरु

सत्ताले जन्माएका सामन्तीहरु

अनुशासितहरूको पार्टी– कम्युनिष्ट 
देश र जनताको माया गर्ने– कम्युनिष्ट 
अन्याय नगर्ने, अत्याचार नसहने– कम्युनिष्ट 
लोभलालच नगर्ने– कम्युनिष्ट

मैले मानष्पटलमा सजायको विशुद्ध कम्युनिष्टको परिचयले आज ठ्याक्कै १ सय ८० डिग्री फेरो मारेको छ । हिजो गरिबको नारा लिएर राजनीति गर्नेहरु पत्तै नपाई आफू टाईकुन भएका छन् । सामन्तवाद विरुद्ध जेलनेल भोगेकाहरु नवसामन्त भएर उभिएको प्रमाण खोज्न टाढा जान पर्दैन् । त्यसैले कम्युनिष्टहरुको परिचय अहिले यसरी रिमिक्स भएको छ । 

अनुशासनहीनहरुको समूह– कम्युनिष्ट 
देश र जनताप्रति अनुदार– कम्युनिष्ट
फाइदाका लागि जे पनि गर्ने– कम्युनिष्ट
अनैतिक र लोभ लालचको गोरखधन्दा चलाउने– कम्युनिष्ट 

पुराना धेरै सन्दर्भ त बिर्सिएँ तर केही प्रसंग जरो गाडेरै हार्डडिक्समा बसेका छन् । ०३५, ०३६ को विद्यार्थी आन्दोलन चलेको थियो । हाम्रो घर भोजपुर सदरमुकाममा पर्दथ्यो । सुरक्षाका दृष्टिले हाईअलर्टको अवस्था थियो । मध्यरात गाउँटोलमा भएको सानो घट्नाले उग्र रुप धारण गर्न सक्थ्यो । हाम्रै छिमेक घरमा आन्दोलनकारीहरूको बैठक बसिरहेको थियो । कालेले जानकारी दियो बाहिर कोही आयो । म बाहिर निस्किएँ । जूनको चहकिलो प्रकाशले वातावरण सौम्य थियो । घर पछाडि धाराको छेउमा गम्लङ्ग बर्को ओडेर कोही उभिएको थियो । म सरासर उसको अगाडि पुगेर सोधें– ‘तपाई को हो ? यति राति किन आउनु भएको ?’ विनम्र शैलीमा उसले जवाफ दियो– ‘म ऐंसेलुखर्कबाट आएको । म बासु दाजुलाई भेट्न चाहन्छु ।’ बासुदेव नेपाल मेरो जेठो दाजुको नाम हो । नवआगन्तुकलाई एकछिन त्यहीँ रहन लगाएर भित्र दाजुलाई सविस्तार लाएँ । दाजु तत्काल बाहिर निस्कनु भयो । त्यो मान्छेसंग दाजुको भेट भयो ।  केहीछिनको खासखुसपछि दाजुले उसलाई क्याम्पस पढने विद्यार्थीको कोठामा लैजानु भयो । भोजपुरका गाउँघरबाट मात्र हैन, खोटाङ, ओखलढुंगा, सोलुसम्मका विद्यार्थी क्याम्पस, स्कुल पढ्न आउँथे । त्यतिबेला भोजपुर शैक्षिक हबजस्तै थियो । बाहिरबाट आउनेहरुका लागि हाम्रो गाउँ शिक्षित र सुरक्षित थलो मानिन्थ्यो । क्याम्पस विदा भएका कारण विद्यार्थी साथीहरू घर घर गएका थिए । कोठा खाली थियो । दाजु केहिवेरमा नै त्यो कोठाबाट निस्कनु भयो । मैले ती रहस्यमय पात्रका बारेमा खोजीनीधि गरिन । विहान त्यो मानिस कतिखेर गयो, त्यो पनि पत्तो भएन । 

भोलिपल्ट विहान अफिस जाने तर्खरमा रहेका बेला दाजुले एउटा चिठ्ठी  हातमा दिनुभयो । तत्काल सासै नफेरी पढें ।  प्रदीप दाजुले लेखेको रहेछ । ०३३ सालमा ‘जेल ब्रेक’ गरेर फरार रहेको, न सास, न लासको मेरो दाजुले लेखेको पत्र पढ्न पाउँदा मेरो खुशीको सीमा नै रहेन । पत्र पढेपछि मैले दाजुलाई नै फिर्ता दिएँ । यो खबरले पुरै गाउँमै खुशीयाली छायो । जुन पत्र हिजो राति आएको मान्छेले ल्याएको रहेछ । यसपछि उ मलाई देवदूतजस्तै लाग्यो । पत्र पट्याएर गोजीमा राख्दै दाजुले भन्नुभयो– ‘त्यो मान्छे पछि पनि आउँछ । उसलाई स्नेही व्यवहार गर्नु । तर उ आएको अति गोप्य राख्नु । यसो गरिस भने उसले तँलाई प्रदीपसंग भेट गराइदिन्छ ।’ एउटा चिठ्ठी ल्याउँदा त हौसिएर पाताल छोडेका मैले भेट नै गराइदिने भएपछि लागि जे गर्न पनि तयार थिएँ ।  त्यसवेला म गाउँ पञ्चायत सचिव थिएँ । आम्दानीको स्थायी श्रोत थियो । दुईचार पैसा खेलाउन खाँचो थिएन् । केवल मलाई उसंग भेट्न पाइने दिनको व्यग्र प्रतिक्षा थियो । 

भोजपुर क्याम्पसको हातामा हाम्रो भेट जुर्यो । त्यो भेट पूर्व नियोजित भएकाले म तयारीसाथ कलेज पुगेको थिएँ । कलेज हाताको डिलमा बसेर हामीले कुराकानी गर्यौं । भूमिगत दाजुका विषयमा मैले मनमा लागेका सबै सोधें । हिँड्ने बेलामा केही रकम र एकजोर कपडाको जुत्ता हस्तान्तरण गरें । उसले मुसुक्क हाँसेर समात्यो । अनि झोलाबाट सानो पकेट डायरी निकालेर लेख्यो– ‘कमरेड समिरबाट नगद.... र एकजोर जुत्ता प्रात भयो ।’ मैले भने– ‘किन लेख्नु भएको ?’ इमानसाथ उ बोल्यो– ‘यो सबै पार्टीमा बुझाउनु पर्छ । यसैले सबै कुरा टिप्नु पर्छ नटिपे त बिर्सिहालिन्छ नि । त्यसो भयो भने पार्टीप्रति अन्याय हुनेछ । तपाई पनि हाम्रो पार्टीको सदस्य हुनु भएको छ । यो सबै काम तपाईले पनि गर्नु पर्छ । कसैको त्यसै केही लिनु हुँदैन । गरिव दुखीलाई माया गर्नुपर्छ । महिलालाई आदर सम्मान गर्नुपर्छ । धेरै तडक भडक उत्ताउलोपन देखाउनु हुँदैन । नम्र भएर बोल्नु पर्छ ।’ सौम्य मधुर भाषामा मलाई यसरी दिव्य ज्ञान दिने व्यक्ति कोही नभएर तात्कालिन मालेका आदरणीय नेता कमरेड अशोक राई हुनुहुन्थ्यो ।

जागिर खाँदै क्याम्पस पढने मेरो चाहाना भोजपुर बसेर पूरा हुन नसक्ने भयो । क्याम्पस पढने चाहनाले म भोजपुर छाडेर काठमाडौं आएँ, ०३९ सालमा । पाटन संयुक्त क्याम्पसमा भर्ना भएँ । ०४१ मा पद्मकन्या कलेजमा पढ्दै गरेकी राधा थपलियासंग विवाह भयो । स्थानीय विकास मन्त्रालय, हरिहर भवन पुल्चोकको जागिर, पाटन क्याम्पसको पढाई अनि रक्तकालीको बसाई । रक्तकालीको डेरामा समय समयमा प्रदीप दाजु आउने जाने गर्नु हुन्थ्यो । यही बुझेर होला मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, अमृत बोहरा, सत्यनारायण मण्डल, जीवराज आश्रित, सुशीला श्रेष्ठ, विष्णु प्रभात मेरोमा बाक्लै आउजाउ गर्नुहुन्थ्यो । मलाई इतिवृतान्त चिन्ने, मैले नचिन्ने मेरा मावली दाजु मुकुन्द न्यौपाने समेत यो पंक्तिमा हुनुहुन्थ्यो । २०५२ सालमा मात्र मैले उहाँलाई औपचारिक चिनेको हो । अहिले पनि म सम्झन्छु– मेरो कोठाका भित्तामा टाँसिएका पत्रिकाको खाली ठाउँमा उहाँले लेखेको ‘साधु’ शीर्षकको कविता । जुन अत्यन्त प्रेरणादायी थियो । त्यतिखेर आउजाउ गर्ने कमरेडहरूका नाम हालको भन्दा फरक हुन्थे । 

पहिले आएका नेता पार्टी खुल्ला भएपछि भेटिएका र खुल्ला नाममा चिनिएका हुनाले मैले प्रचलित नाम नै प्रयोग गरेको हुँ । कतिपय बेलामा नेता कमरेडको खानपान र बसाईको व्यवस्थापन पनि गर्नुपथ्र्यो हामीले । यसैले एउटा कोठा पार्टीका लागि भनेर छुट्टै लिएको थिएँ । आफ्नो घरमा आउनेहरुको नाउँ, गाउँ, ठाउँ बारे कोहीसंग ‘केरकार नगर्नू’ भन्ने स्कुलिङ थियो त्यसवेला । हाम्रा लागि त्यो आदेश ढुंगाको अक्षर बनेको थियो । अनुशासन फलामे थियो यद्यपि हार्दिकता, प्रेम, निष्ठा बेहिसाव मीठो थियो । नेताहरूसंगको एकछिनको सामीप्यले अतिसय उर्जा दिन्थ्यो । अझ संगै बसेर चिया, खाजा, खाना र बास बस्न पाउँदाको अपूर्व आनन्दको शब्दमा व्याख्या  हुन सक्दैन् । नेताले दिएको आदेश र नदीमा फालिएको ढुंगा उस्तै हुन्थ्यो । 

त्यो  स्नेह, त्यो निष्ठा आज मिथक भएको छ । कमरेड मदन, अमृत र मुकुुन्द नेता मात्र थिएनन, ज्ञानका अजस्र श्रोत थिए । उनीहरुको सामान्यभन्दा सामान्य जीवनशैली देख्दा आफैंलाई आत्मसमीक्षा गर्न कर लाग्थ्यो । उहाँहरुका कुरा यति कर्णप्रिय थिए कि दिनरात सुनिरहूँ झैं लाग्ने । तर उहाँहरुसंगको संगत त्यतिबेला कम जोखिमपूर्ण थिएन । के नेता, के कार्यकर्ता सवै आफ्नो जिम्मेवारीप्रति वफादार थिए । सुखद दिनको पर्खाइमा सवैले आआफ्नो ठाउँबाट योगदान दिएका थिए । देशमा परिवर्तन अवश्य हुन्छ भन्ने एउटा अटल विश्वासले स्वतस्फूर्त उर्जा भरेको थियो । 

मलाई नैतिकताको त्यो पाठ पढाउने, मलाई त्यस्तो शिक्षाबाट दीक्षित गर्ने तिनै नेता आज नेतृत्वमा छन् । मैले जीवनको ओत लाग्ने ठाउँ ठानेको पार्टी दुई तिहाई जनमत लिएर सरकारमा छ । मैले अभिभावक ठानेका नेताहरु कार्यकारी ठाउँमा छन् । राजनीति नीतिहरुको राजा, जसको काम सेवा मात्र हो भनेर हामीलाई सानैदेखि बुझाइएको थियो । आज त्यही राजनीति जागिरमा अनुवाद भइरहेको छ । लाखौं जनताको आशा, भरोसाको पार्टीलाई बोइङमाा रुपान्तरण गरिएको छ । यसो भएपछि पार्टी नेताले नभएर पाइलटले हाँक्नु स्वाभाविक हो । पाइलटले सीमित यात्रु लिएर हिँडेपछि उसलाई तिनै यात्रु गन्तव्यमा पुर्याउने मात्र चिन्ता हुन्छ ।

हो, अहिले पार्टीभित्र त्यही भएको छ । पार्टीको तल्लो तहदेखि नै ध्वस्त छ । पार्टीको नभएर व्यक्तिका आशिर्वादप्राप्त मानिसहरुको हालीमुहाली छ । तिनैले विश्वास गरेका विश्वासपात्र  ठाउँ ठाउँमा जिम्मेवारी लिएर बसेका छन् । तदर्थवादले पार्टीमा राम्रै घरजम गरेको छ । पैसाका अगाडि त्याग, तपस्या, वलिदानको चीरहरण हुन थालेको धेरै भइसक्यो । खान पाउने र नपाउने बीच द्वन्द्वको ठूलो खाडल छ । पार्टी एकीकरण त भएको छ तर तेलपानी छुट्टिएको दृश्य नाङ्गो  छ । पार्टीमा भएका बेथितिका विषयमा बोल्यो भने गणतन्त्रमाथि षड्यन्त्र गरेको भनेर पखेटा काट्ने काम हुन्छ । हिजो राजा ज्ञानेन्द्र र काँग्रेसको सरकार बद्नाम गराउनेहरु अहिले सरक्कै नेकपामा बसाईं सरेर ज्वाईंको सम्मान ग्रहण गरिरहेका छन् । यो प्रवृत्ति विरुद्ध बोल्नु भनेको अपराधभित्र पर्छ । 

नेतालाई फनफनी घुमेर चारधाम बनाउनेले नै नेताको इज्जत लिलाम गरेका छन् । ती उपियाँको साइनो भनेको रगतसंग मात्र हो । उनीहरुलाई नेकपा रहे के, नरहे के । यही प्रवृत्तिका मानिस नेकपाको भण्डारमा पुगेका छन् । कसलाई माथि लग्ने, कसलाई सिध्याउने रणनीति यस्तै दलालको हातमा छ । यसो नहुँदो हो त मुलुकको कार्यकारी सरकार प्रमुखले कुरा बुझ्ने श्रोत सञ्चारमाध्यम किन हुन्थ्यो होला र ? थोरै खरानीका लागि आफ्नै घरमा आगो लाउने प्रतिस्पर्धा चलेको छ । नेतालाई उनीहरुले सुन्न चाहेको राम्रा कुरा मात्र सुनाएर आफूहरु शासक र जनता शासित बनाउने खेलले राम्रैसंग घरजम गरेको छ । यो कालो बादलबाट उन्मुक्ति अपरिहार्य छ । अतिसम्म त सहलान तर अत्याचारको लाभाले भोलि नेकपा इतिहास ‘न रहे नेकपा, न रहे सत्ता’ नहोस् । 

नेपाल कम्युनिष्ट पार्टी कमरेड अशोक राई