अन्तरवार्ता मनोरञ्जन भिडियो Breaking News कभर स्टोरी

जहाजबाट बादल फाटेको देखेपछि धून फुर्‍यो (भिडियोसहित) 

विदेश जान कलाकार हुने बढे

जहाजबाट बादल फाटेको देखेपछि धून फुर्‍यो (भिडियोसहित) 

अहिलेका निकै चर्चित र व्यस्त संगीतकार सन्तोष श्रेष्ठ नेपालको सांगीतिक इतिहासमा नारायणगोपाललाई आफ्नो आदर्श र प्रेरणाको श्रोत ठान्छन् । गीतप्रतिको संवेदनशीलता, भाषागत सचेतना, गायकी र संगीतप्रतिको समर्पणका कारण नारायणगोपाल एक ‘कम्प्लिट प्याकेज’ भएको उनको बुझाइ छ । 


उनका अनुसार अहिले सुगम गीत संगीतको गुणस्तर निकै खस्किएको छ । पुरानादेखि नयाँ कलाकारसम्म धेरैले मेहनत गर्न छोडेका छन् । उनीहरु प्रविधिमा भर परेका छन् । लाईन लाइन रेकर्ड गर्नुपर्ने र गाउन नसकेको ठाउँमा प्रविधिले मिलाउने गरिएको छ । यदि स्टुडियोमा गाएको जस्तो हो,  त्यस्तै बाहिर ल्याउने हो भने कतिपय कलाकारको बेइज्जत हुन्छ । 


अहिले गीत गाउने लहर चलेको छ । गीत त गाउँछन् तर के गाए भन्ने थाहा छैन । यहाँ विदेश जानका लागि कलाकार बन्ने लहर छ । अझ गीत गाएर रातारात चर्चित हुने र छिटो भन्दा छिटो भीसा लिएर विदेश पलायन हुने नै मूल ध्येय छ । यो पाराले संगीतको विकास कसरी हुन्छ ? त्यस्ता गीत सुनेर मानिस आनन्दित हुन्छ कि बहुलाह ?


शताब्दी पुरुषको जीवनकै पहिलो गीत


संगीतकार श्रेष्ठ र गायक शिशिर योगीको पहलमा शताब्दी पुरुष सत्यमोहन जोशीको गीत रेकर्ड भएको छ । यो गीत जोशीको जीवनकै पहिलो रेकर्ड भएको गीत हो । २०७५ साल फागुन महिनामा गायक योगीको स्वरमा  गीत रेकर्ड भएको छ । गीतको शब्द यस्तो छ । 


‘तेरो मेरो जे भन्छौं हामी
आखिर यहाँ न तेरो न मेरो’

संगीतकार श्रेष्ठ भन्छन्, ‘गीतका दुईवटा धून तयार पारेको थिएँ । म र शिशिर योगी जोशीको घर पुग्यौं । त्यहाँ पहिलेदेखि नै २०÷२२ जना नेपाली उखान तुक्काका अध्यता र अनुसन्धानकर्ता थिए । जोशीले पहिला हामीसँग एक्लै धून सुन्नुभयो । उहाँलाई लोकलयको धून खुब छोयो । अनि उहाँले त्यहाँ आएका सबैलाई सुनाउन लगाउनुभयो । ’

शताब्दी पुरुष जोशीको जीवनवादको यो गीत छायाङ्कनको क्रममा रहेको र चाँडै बजारमा ल्याउने प्रयास भैरहेको उनले बताए । 

दिनेश अधिकारीको तीज गीत

प्रसिद्ध गीतकार दिनेश अधिकारीको तीज गीत पनि बिहिबारबाट बजारमा आएको छ । गीतको रेकर्डिङ छायाङ्कन पनि सकेर सार्वजनिक भैसकेको छ । 

‘घर माइती जोड्ने मनको पुल हो यो तीज
घुम्दै आ छ वर्ष दिनमा फेरि हामीबीच ’

गायिका इन्दिरा भट्टराईको स्वरमा रहेको यो गीतमा श्रेष्ठ आफैले संगीत दिएका छन् । 

तीजका गीतका मामिलामा श्रेष्ठ भन्छन्, ‘आजभोलि तीज गीतमा पुरुषले पनि स्वर दिने र नाच्ने गरेको पाइन्छ । यो तीज गीतको मर्म र भावना होइन । तीज भन्ने शब्द मात्र झुण्ड्याएर तीज गीत बन्दैन । तीज पूर्णरुपमा महिलाहरुको पर्व हो । यसमा पुरुषको भूमिका सहायक मात्र हुन्छ । व्यावसायिकताको नाममा कला संस्कृतिको भावना विपरित सृजना गर्दा मौलिकता मासिने डर हुन्छ । मलाई यो उचित लागेको छैन ।’

तिम्ले पराइ ठानेपछि...

‘तिम्ले पराइ ठानेपछि पराइ हुन के भो र ....गीतले ठूलो चर्चा लिएपछि संगीतकार आफनो व्यस्तता बढेको स्वीकार्छन् । २०६५ सालमा यो गीतका गीतकार लोकराज अधिकारीले सुरुमा  गीत दिंदा खासै वास्ता गरेको थिएन । संगीत भर्ने नभर्ने केही टुंगो थिएन । तर, त्यसै वर्ष म पहिलो पटक बहराइन गएँ । मलाई लाग्थ्यो जहाज बादलमाथि उड्दैन होला । जहाज त बादल भित्र, बादल माथि जता पनि जाँदो रहेछ । त्यहीबेला जहाजको झ्यालबाट मैले बादलै बादल देखें । अनि गीतको पङ्क्ति सम्झें.....‘बादल जस्तै फाट्नु रैछ, डाँडा काटी जानु रैछ... । ’

जहाजबाट फाट्दै गरेको बादल हेर्दै मेरो दिमागमा यो गीतको लय बनेको हो । यो गीतले अञ्जु पन्त र शिशिर योगीलाई पनि थप चिनाउन मद्दत पुर्यायो । 

संगीतकार श्रेष्ठले आफ्नो पहिलो गीत २०५८ सालमा रेकर्ड गरेका हुन् । उनको पहिलो संगीतमै रामकृष्ण ढकालले स्वर दिएका थिए ।

‘आउँछु भनी निष्ठूरीले भर किन पार्नु
ज्यानै दिने वाचा गरी माया किन मार्नु’

 दामु मार्सीफूलको रचना रहेको यो गीत गायक ढकालले पनि निकै मन पराएका थिए । 

श्रेष्ठ गीत संगीत बाहेक अरु कुनै पनि पेशा व्यवसायमा संलग्न छैनन् । संगीतबाटै उनले आफनो जीवन चलाएका छन् । महिनामा सरदर ८ देखि १० गीतसम्म रेकर्ड गर्दै आएका श्रेष्ठको आफनै शब्द र संगीतमा नयाँ गीत चाँडै बजारमा आउँदैछ । 

‘तिम्रो मेरा दिलको वास एउटै भै दिए...’ बोलको यो गीत अञ्जु पन्तको स्वरमा छ । यो गीतले पनि आफना श्रोता दर्शकको मन जित्ने श्रेष्ठको विश्वास छ ।