खेल

विश्वकप छनौट चरणको खेल : नेपाल कठिन समूहमा

विश्वकप छनौट चरणको खेल : नेपाल कठिन समूहमा


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘बी’ मा परेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोट खेल हुन लागेको हो । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।

दोस्रो चरणको छनोट आगामी भदौ १९ गतेदेखि सुरु हुनेछ । पहिलो खेलमा नेपालले भदौ १९ मा घरेलु मैदानमैँ खेल्नेछ ।

गत अप्रिलमा फिफाले निकालेको वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सीधै दोस्रो चरण खेल्न पाएको हो । नेपाल सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्न सफल भएको थियो ।

यसपटकको छनोटमा ४० टोलीलाई आठ समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइने छ ।

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा ठाउँ बनाउने छन्  ।