अर्थ

कति कमाउनुहुन्छ ? आजदेखि यस्तो छ तिर्नुपर्ने कर

कति कमाउनुहुन्छ ? आजदेखि यस्तो छ तिर्नुपर्ने कर


काठमाडौँ । नयाँ आर्थिक वर्ष लागेसँगै सरकारले बजेटमार्फत घोषणा गरेका विभिन्न विषय आजदेखि कार्यान्वयनमा आएका छन् । आजैबाट सरकारलाई बुझाउनु पर्ने राजश्व पनि हेरफेर हुन्छ । ‘आर्थिक विधेयक २०७६’ मा गरिएको व्यवस्था अनुसार सरकारलाई तिर्नुपर्ने आयकरको अवस्था यस्तो छ ।

 

सरकारले विवाहित र अविवाहितका लागि बेग्लाबेग्लै करको दायरा तय गरेको छ । 

अविवाहितहरुका लागि
अविवाहितहरुले वार्षिक ४ लाख रुपैयाँसम्मको कमाई गरेमा १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ तिर्नुपर्छ । ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ । ७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ रुपैयाँ तिर्नुपर्छ ।

 

२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

 

विवाहितहरुका लागि
विवाहितहरुका लागि ४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

 

४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ पर्छ । ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

 

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । २० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ ।

 

यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।