भिडियो समाचार

शान्ति प्रक्रियाप्रति जर्मनीको चासो

शान्ति प्रक्रियाप्रति जर्मनीको चासो

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका जर्मनीका विदेश मन्त्रालयका प्रतिनिधि एव‌ अफगानिस्तानका लागि जर्मन राजदूत  मार्कस पोट्जेल्ले नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाक्रमबारे गहिरो चासो व्यक्त गर्नुभएको छ । आफ्नो दुई दिने भ्रमणबारे जानकारी गराउन काठमाडौँस्थित जर्मनी दुतावासमा आज भएको पत्रकार सम्मेलनमा उहाँले शान्ति प्रक्रियाका बाँकी काम यथाशक्य चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिने नेपाल भ्रमणका क्रममा आफूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग पनि भेटवार्ता गरेको जानकारी दिनुभयो ।

कानूनमन्त्रीसँगको भेटमा यसबारे आफूले गहन रुपमा कुरा उठाएको जानकारी दिँदै उहाँले भन्नुभयो –‘ नेपालको शान्ति प्रक्रियाका बाँकी काम कसरी पूरा हुन्छन् भन्नेबारे जानकारी लियौँ । पछिल्लो दिनमा मानव अधिकार र प्रेससँग सम्बन्धित विधेयक विवादमा आएको प्रति पनि हामीले चासो राख्यौँ । ’

यसबारे कानूनमन्त्री ढकालले नयाँ संविधान जारीपछि विभिन्न ऐन निर्माणको क्रममा रहेकाले द्वन्द्वकालिन समस्या र पीडितले न्याय पाउने कुरा पनि ऐनले समेट्ने जानकारी दिनुभएकाे उहाँले बताउनुभयाे । 

यसअघि गत माघ १४ गते पनि नेपाल स्थिति संयुक्त राष्ट्रसंघीय कार्यालयको अगुवाइमा जर्मनी लगायतका १२ कुटनीतिक नियोगले द्वन्द्वकालका पीडितहरूलाई न्याय दिन ढिलाइ गर्न नहुने भन्दै सार्वजनिक अपिल जारी गरेका थिए । त्यसबेला उनीहरुले हतियार लिएर भिड्न जाने मृतक तथा घाइतेहरूलाई संक्रमणकालीन न्याय र द्वन्द्वमा सामेल नभएका मृतक र घाइतेहरुलाई दिने न्यायिक प्रक्रियाबारे जनतालाई प्रष्ट पार्न सुझाएका थिए । 

जर्मनीले ५५ मिलियन युरो सहयोग गर्ने

पत्रकार सम्मेलनमा पोट्जेल्ले जर्मनीले यस वर्ष नेपाललाई ५५ मिलियन युरो सहयोग गर्ने जानकारी दिनुभयो । उक्त रकम जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा लयागतका क्षेत्रमा खर्च हुनेछ । पोट्जेललेका भ्रमण पूर्व गत असार २० गते काठमाडौँ उपत्यकामा मातृस्वास्थ्यको प्रवद्र्धन र दुर्गम गाउँमा सौर्य ऊर्जाको प्रवद्र्धनका लागि २४.३ मिलियन युरो सहयोगको सम्झौता भैसकेको छ ।

त्यस्तै ४ मिलियन युरो सौर्य ऊर्जाको प्राविधिक पक्षको अपग्रेड गर्न खर्च हुनेछ । साथै संस्कृत शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको ठूलो विश्वविद्यालय ह्यामबर्ग र नेपालका दुई विश्विद्यालयबीच संस्कृत भाषाका पाण्डुलिपीको संरक्षणबारे भएका सम्झौताको अनुमोदन पनि भएको छ । 

सरकारको चासो लगानी  र भ्रमण वर्षको प्रवर्द्धन 

पोट्जेलले सरकारी अधिकारीहरुले आफूहरुसँगको भेटमा नेपालमा लगानी गर्न भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि आग्रह गरेको जानकारी दिनुभयो । जर्मनी नेपालमा सिधै लगानी गर्न इच्छुक रहेकाले लगानीका लागि सुरक्षित वातावरण बनाउन आग्रह गरेको थियो । साथै नेपालले अर्को वर्ष मनाउने भ्रमण वर्षबारे प्रवद्र्धनका लागि सहयोग गर्न आफूहरु तत्पर रहेको जानकारी उहाँले दिनुभयो ।

नेपालमा पछिल्लो वर्ष ३७००० पर्यटकले भ्रमण गरेको पाइएको छ । नेपाल र जर्मनीबीच द्धिदेशीय सम्बन्ध गाँसिएको ६० वर्ष पुगेको अवसरमा दुई देशीय अधिकारीको भ्रमण भएको हो । नेपालको तर्फबाट यसअघि परराष्ट्रमन्त्री शंकरदास वैरागीले जर्मनीको भ्रमण गरिसकेका छन् भने जर्मनीका उपमन्त्री नोबर्ट बार्थल आगामी अक्टोबर महिनामा नेपाल आउँदैछन् ।