अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

इन्जिनियरको निष्कर्ष : काठमाडौंको स्थिति अझै भयावह हुने (भिडियोसहित) 

इन्जिनियरको निष्कर्ष : काठमाडौंको स्थिति अझै भयावह हुने (भिडियोसहित) 

एक दिनको पानीले काठमाडौं डुबानमा पर्नु सामान्य जस्तै भैसकेको छ । यो हरेक वर्षको नियति हो । यसपटक त कलंकी र ललितपुरको सानेपा क्षेत्रका सडकमा कार डुब्दा पौडिएर बाँच्नुपर्ने अवस्था आयो । 

निकै सुरक्षित र योजनाबद्धरुपमा बनाएको भनिएका ठूलाठूला अपार्टमेन्टसमेत डुबानमा परे । त्यहाँ बस्ने मानिसहरुलाई सुरक्षाकर्मीले डुंगा चलाएर उद्दार गर्नुपर्यो । पुतलिसडक, बागबजार, नयाँ बानेश्वर, चावहिल, कालिमाटी लगायतका क्षेत्र डुबानमा परे । नदी छेउका बस्ती सबै डुबानमा परे । उता, भक्तपुरको हनुमन्ते खोलाले बितण्डा मच्चायो । 
काठमाडौंको यो दुर्दशापछि सबैले एउटै कुरा भन्ने गरेका छन्, ‘ खोला बस्तीमा छिरेको होइन, बस्ती खोलामा छिरेकाले डुबान भएको हो । ’

थापाथली इन्जिनियरिङ क्याम्पसका उप–प्राध्यापक एवम जियो टेक्निकल इन्जिनियर रमेश कार्की पनि आम सर्वसाधारणले भने जस्तै खोलामा बस्ती छिरेकाले नै यो समस्या निम्तिएको धारणा राख्नछन् । 

उनी भन्छन्, ‘ यो सबै भू माफियाका कारणले निम्तिएको समस्या हो । भएका खोलालाई साँघुरो बनाउने काम भयो । खोला साँघुरो बनाएर आसपासको जमिन कब्जा गर्ने र घर टहरा ठड्याउने गरियो । खोलाको क्षमता घटाएपछि बाढी आउँदा पानी कहाँ जान्छ ? पानी ‘ओभरफ्लो’ भएर आसपासका क्षेत्रमा नै छिर्ने हो । काठमाडौंमा डुबानको मुख्य कारण यही हो ।’

बागमति, विष्णुमति, मनहरा, भक्तपुरको हनुमन्ते लगायतका खोलालाई पनि साँघुरो बनाइदैछ । अझै करिडोर निर्माणका नाममा दायाँबायाँ पर्खाल बनाउनु झन खतरनाक हुनसक्छ । यो गलत हो । करिडोर निर्माण गर्नुपर्छ तर नदीको क्षमता घटाएर होइन । 

‘केही वर्ष अघिसम्म खोला बग्ने ठाउँमा जग्गा प्लटिङ गरेर घर बनाइएको छ । बस्ती निर्माण भएको छ त्यहाँ । ती ठाउँमा घर बनाएका कतिपय मानिसहरुलाई कुनै समय त्यहाँ खोला थियो भन्ने पनि थाहा छैन । बिभिन्न ठाउँबाट एकीकृत भएको पानी ओरालो भएर सोही ठाउँबाट बग्ने हो तर बग्ने ठाउँ रोकिएको छ । यो अवस्थामा डुबान नभए के हुन्छ ? ’ इन्जिनियर कार्कीको प्रश्न छ । 

इन्जिनियर कार्कीका अनुसार काठमाडौंको अर्को प्रमुख समस्या भनेको उचित ढल निकास नहुनु हो । बिभिन्न ठाउँको ढल टालिएको छ । पानीका निकासद्वारा बन्द भएका अवस्थामा छन् । टालिएका ढललाई खुलाउने, पानीको निकास अवरुद्ध भएको ठाउँ संचालन गर्ने काम अझै हुन सकेको छैन । सानो पानी पर्यो कि पुतलीसडकमा डुबान हुने कारण पानीको निकास हुने प्रणाली अवरुद्ध भएरै हो । यसमा कसैको ध्यान गएको पाइदैन । 

यही अवस्था रहने हो भने काठमाडौंको अवस्था भयवाह हुने निश्चित छ । एक दिन पानी पर्दा त यो अवस्था छ भने लगातार एक हप्ता पानी परे के होला ? ‘ग्लोबल वार्मिङ’ का कारण भोलिका दिनमा वर्षा झन बढी हुन्छ । यस्तो किसिमको वर्षा अझ  ‘अनटाइम’ हुने गरेको छ । काठमाडौंमा पानी निकास र खोलाको वहाव स्वभाविक बनाउने प्रक्रियालाई अविलम्ब अघि नबढाउने हो भने कुनैपनि समय  अनिष्ट हुने खतरा छ । 

काठमाडौं लगायत देशभर भैरहेको डुबानको प्रमुख कारण भनेको अव्यवस्थित रुपमा भैरहेको जग्गा प्लटिङ हो । खोला मासेर भैरहेका प्लटिङलाई सरकारले समेत छुट दिनु आश्चार्यको विषय हो । सर्वसाधारणलाई जग्गा कित्ता काट गर्न नदिने तर भूमाफियाले निर्वाधरुपमा खोला अतिक्रमण गर्दासमेत सरकार मौन बसेको छ । यसलाई छिटो भन्दा छिटो नियन्त्रण गरी  गाउँ शहर जताको भएपनि नदीको क्षमता यथावत राख्न ढिलो गर्नु हुँदैन । 

काठमाडौं लगायत शहरी क्षेत्रमा संरचना निर्माण गर्दा नक्शा पाससहित भवन निर्माण आचारसंहितका प्रक्रिया पूरा गरिएपनि जग्गा र माटोको प्रकृति, अवस्थिति, नजिकैको नदीको अवस्था लगायतका विषयमा ध्यान गएको पाइदैन । 

इन्जिनियर कार्की भन्छन्, ‘ सरकारले मात्र होइन, स्वयं व्यक्ति पनि अब सचेत हुनुपर्छ । आफूले किन्ने जमिन र घर बनाउनु पूर्व माटो परीक्षण लगायत त्यसको समग्र परिस्थितिबारे इन्जिनियरिङ अध्ययन गराउन जरुरी छ । सरकारले यतिको विनाश देखिसकेपछि अब नीति निर्माण र यसको कार्यान्वयनमा पनि त्यत्तिकै गम्भीर हुन जरुरी छ । अन्यथा काठमाडौंलाई विनाश हुनबाट कसैले रोक्न सक्ने छैन । ’