समाचार

वडाध्यक्षकै रोहवरमा कुटपिट, घाइतेको मृत्यु

वडाध्यक्षकै रोहवरमा कुटपिट, घाइतेको मृत्यु

विराटनगर । वडाध्यक्षकै रोहवरमा भएको छलफलका क्रममा घाइते भएका विराटनगर–१४ का ५५ वर्षीय शर्मानन्द यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । छोराको विवाहको विषयमा ३२ जेठमा भएको छलफलका क्रममा उनी घाइते भएका थिए ।  घटनालगत्तै उपचारका लागि उनलार्ई विराटनगर अस्पतालको आइसियूमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भारतको सिलगढी रेफर गरियो । सिलगढीबाट फेरि उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो ।

 

यादवको कोसी अञ्चल अस्पतालमा शुक्रबार मृत्यु भएको हो । घटनापछि आक्रोशित बनेका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । युवती पक्षका आफन्तले मरणासन्न हुनेगरी कुटपिट गरेको उनीहरूको आरोप छ । उनीहरूले शक्तिको आडमा अपराधीहरूले छुटकारा पाउने अवस्था सिर्जना भएको आशंका गरेका छन् । उनीहरूले अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

 

वडाध्यक्षकी आफन्तसँग बिहे गर्न अस्वीकार 
मृतकका आफन्तहरूका अनुसार शर्मानन्दका छोरा राजेशकुमार यादवसँग विवाह गर्नका लागि विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवले जेहदा गाउँपालिकाकी एक युवतीको प्रस्ताव ल्याएका थिए । यी युवती बलदेवकी नातेदार हुन् । सुरुमा शर्मानन्दले यस प्रस्ताव स्वीकारेका थिए, तर राजेशकुमारले मानेनन् । ३२ जेठमा बलदेवले छलफलका लागि बोलाए ।

 

छलफलमा विराटनगर–१८ का वडाध्यक्ष सञ्जय शाह, जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपनन्द यादव तथा बलदेवका आफन्तहरू उपस्थित थिए । शर्मानन्दले छोराले नै प्रस्ताव अस्वीकार गरेकाले आफूले केही गर्न नसक्ने बताए । त्यसपछि आक्रोशित युवतीका आफन्तहरूले उनीमाथि कुटपिट सुरु गरे । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विराटनगर कुटपि

विशेष