कला साहित्य साहित्य आज

आमा, कतै मैले तपाईंप्रति अन्याय त गरिन?

करिष्मा ढकाल

आमा, कतै मैले तपाईंप्रति अन्याय त गरिन?

आज पनि कोठाभरि छरिएका छन् किताबहरु । नपढ्ने नै भएपनि किताब कापी छरेर बस्न मलाई कसैले रोक्न सक्दैन। घडीको सुई तिब्र गतिमा दौडदै थियो। म उसकै पछि पछि आफूलाई दौडाउँदै थिएँ। आज घरमा बाआमा सँगै हुनुहुन्छ, सोच्छु जिन्दगीले यतिका वर्षसम्म बाआमालाई अलग किन बनायो? अनि सम्झन्छु एकतमासले बा त भोलि फर्किहाल्नुहुन्छ, आमा के गरेर बस्नुहुन्छ अब? बनपाखा घाँस दाउरा , गाइबाख्रा , त्यही च्यातिएको चोली र त्यही च्यातिएको फरिया ।

पटकपटक आमा कुर्ता लगाउनु न भनेर कर गर्दा नि फरिया नै लतार्न रमाइलो लाग्छ उहाँलाई। करैले माइजुले कुर्ता सुरुवाल किनेर दिएपछि कहिलेकाहीँ कुर्ता लगाएर पनि निस्कनु हुन्छ अचेल। लवाईखवाई त अलिकति बदलियो मेरी आमाको तर बोलीवचन कहिल्यै बदलिएन । अहिले पनि फोन गरेर आमाले कान्छो भन्नुभएन भने मलाई घन्टौं रुन मन लाग्छ।

मिल्ने साथी बिदेशिदाँ त रातभरी रुने म अनि १८,१९ बर्षसम्म बासँग छुट्टिएर बस्नुभएकी मेरा आमालाई रुन मन लागेन होला? आमा, म किन तपाईं जति बलियो हुन सकिन? मलाई माया धेरै दिदाँ एकपटक थोरै हिम्मत दिन सक्नुभएन? गुनाशो छ तपाईं प्रति। बाले सानु भनेर फोन गर्दा, भेट भएको बेलामा गाला सुम्स्याउँदा, काउ काउ भनेर काउकुती लगाइदिदाँ जति खुशी हुन्थें नि त्यो भन्दा पनि बढि खुशी लाग्छ तपाईंसँग बोली मिसिएको दिन।

कहिलेकाहीँ एक्लै सम्झेर बेस्सरी हाँस्छु। तपाईंले जिस्केर मान्छेको मासु मिठो हुन्छ भन्दा मैले मेरो मासु खान्छु भन्नुभयो भनेर नाम्लो बोकेर तगारामा झुण्डिएको त्यो पल। मलाई झुन्डिन पनि आएन। पातो घाँटीमा कसेर त नमरिने रहेछ, बरियो कस्न पर्ने रहेछ, जमिनमा सुतेर नमरिने रहेछ, झुण्डिनु पर्ने रहेछ। अहिले म त्यो दिन सम्झिदाँ मज्जाले हाँसिदिन्छु , तपाईं त्यो दिन सम्झेर पटकपटक रुनुहुन्छ। आमा, मेरो बचपनले तपाईंलाई रुने पनि बनायो है? आफ्नै सन्तानको मृत्युको कल्पना कुन आमाले गर्न सक्नुहुन्छ? तपाईं त झन् मेरी आमा।

मैले बर्षामासमा भलमा खेलेर कपडा हराएर घर आएको दिन तपाईं मलाई अँगालो मारेर रुनुहुन्थ्यो , दुई चार लपेटा पनि लगाउनुहुन्थ्यो अहिले तपाईंकी छोरीलाई केही हुन्छ कि भनेर पानी परेको बेलामा सजग रहन भन्नुहुन्छ। म फेरी भलमा खेल्न जान्न भन्ने त तपाईंलाई थाहा छ तर आमाको मन त्यति सजिलै कहाँ मान्छ र?

नेपोलियन बोनापार्टले मलाई एउटा आमा देउ म तिमीलाई एउटा असल रास्ट्र दिन्छु भनेका थिए। आमाको महिमा नबुझ्ने त को नै थिए र? सत्य युगदेखि यो वर्तमान कलियुग सम्म आमा शब्द उत्ति नै प्यारो छ, हुँदेै आएको छ। स्कुलमा भर्ना भएदेखि मात्र होइन त्यो भन्दा पहिले पनि सोध्ने गरेको एउटै प्रश्नमा मैंले तपाईंलाई समेट्न सकिन।

सानामा कस्लाई माया गर्छौ भनेर सोध्दा सबैको जवाफ आमा हुन्थ्यो, तर मैले कहिल्यै आमा भनेर जवाफ दिईन। मलाई थाहा छैन, मैले बचपनदेखि अहिलेसम्म बाबाको माया बढी लाग्छ भनेर तपाईंप्रति त अन्याय गरिन?

तपाईंले मलाई कहिल्यै मायाको अभाव हुन दिनुभएन। म त मायाले पुल्पुलिएकी जो थिएँ। कसैले नराम्री भन्दिए पनि रुने, जिस्काइदिएँ पनि रुने, अझ तपाईंलाई कसैले तेरी आमा नराम्री भन्दिदा पनि रोइदिन्थें। घाँसको भारी माथी मलाई बोकेर रातु गाई र गाजली धपाउँदै चाम गहिरीको असजिलो साँघुरो बाटो पार गर्न तपाईंलाई कति पिडा भयो होला है? कुखुरालाई कोरल्न दिएको सबै अण्डा फुटाएर फालिदिदाँ पनि त तपाईंलाई धेरै रिस उठ्याथ्यो।

अँ त्यो दिन मलाई बाख्राको खोरमा पनि थुन्दिनुभएको थियो। सम्झन्छु एक तमासले हाँस्छु। बिचरा ती अण्डाहरु चल्ला बन्नै पाएनन्, अलिअलि बनेकाहरुलाई नि मेरा तिखा दाँतहरुले किरीकिरी टोकेर मारिदिएका थिए। ए आमा, तपाईंले मलाई हत्यारा भनेर त्यति बेला कारवाही गरेको भए? म हाँस्छु।

एकदिन म घाँस काट्न डोको बोकेर गएकी थिएँ कुन्नी कसले हो , आमा घरमा नभएसी छोराछोरी साह्रै हुने ,हेर अनुहार गति भनेर मलाई च्व च्व र बिचरा भन्दा भक्कानिएर रोएकी थिएँ।

तपाईं बिरामी भएर काठमाडौं आएर बस्नुभएको त्यो पन्ध्र सोह्र दिन मेरो लागि पन्ध्र सोह्र बर्ष थियो। खानलाई बोरामा चामल थिएन, भकारीमा धान थिएन, बारीमा तरकारी थिएन। बाबा ऋण खोजेरै आत्तिनुभएको थियो। घुँडामा मुन्टो अड्याएर झोक्राउनुभएको बाबालाई देखेर म भान्छाकोठाको कुनातिर लुकेर रुन्थें । अन्नको नाममा कोदो थियो। मलाई निल्न आउँदैनथ्यो। दाइदिदी जसोतसो खान सके खाएरै नसके भोकभोकै स्कुल जानुहुन्थ्यो ।

एकदिन म घाँस काट्न डोको बोकेर गएकी थिएँ कुन्नी कसले हो , आमा घरमा नभएसी छोराछोरी साह्रै हुने ,हेर अनुहार गति भनेर मलाई च्व च्व र बिचरा भन्दा भक्कानिएर रोएकी थिएँ। तपाईं पनि त मलाई पन्ध्र सोह्रदिनपछि भेट्दा धेरै खुशी हुनुभएको थियो। तपाईंले लगिदिनुभएको त्यो रातो गन्जी र कट्टु लगाएर गाउँभरी‌ देखाउन हिडें तर कसैले कुनै प्रतिक्रिया दिएनन्। के त्यो कट्टु राम्रो थिएन? मलाई त खुब राम्रो लागेको थियो।

त्यसपछि त्यति दुख भोग्नु परेन मैंले। जति दुख भोग्नु त तपाईंले पो भोग्नुभयो। जति दुख भोगेपनि स्कुलमा प्रगति विवरण बितरणको बेलामा सबभन्दा खुशी तपाईं हुनुहुन्थ्यो। कारण अझैं पनि मैलें भन्नु पर्ला र? बाले हड्डि घोट्नुभएको छ भनेर जहिल्यै मलाई बाको चिन्ता लागिरह्यो तर आफ्नै अगाडि तपाईंको ढाँडको छाला खुइलिएको कहिल्यै देखिन। बाले छुट्टिएर पैसा कमाएर दिनुभएको देखें तर तपाईंले साथै बसेर माया दिनुभएको कहिल्यै देखिन ।

बासँग बिताएका थोरै पलहरुलाई आफ्नो ग्यालरीमा सजाएँ तर तपाईंसँग सँगै हुँदाका तस्बिर कहिले खिचिन। बालाई हरेक पटक भेट्दा अंकमाल गरें तर साथै हुँदापनि तपाईंलाई कहिल्यै अगाँलिन। आमा! मैंले ‌तपाईंप्रति अन्याय त गरिन?

मैले आमाका नामका धेरै पुस्तकहरू पढेकी छु, धेरै साहित्यिक रचनाहरु पढेकी छु तर मेरो‌ रचनामा तपाईंलाई समेट्न सकिन। गोर्कीको आमा पढेर त म एकछिन भावुक समेत भएकी छु। म एउटा कुरामा भने तपाईं जस्तै छु, तपाईं पनि कसैको भावना बिकाएर रोयल्टी लिनु ठीक मान्नुहुन्न अनि म पनि मान्दिन। स्तरिय लेख छान्ने चेष्ठा गर्दागर्दै म आफैं स्तरिय लेख्न भुलिदिन्छु। तर तपाईंलाई भुल्न कहाँ सकुँला र?

मलाई मेरा हरेक‌ रहरहरु पुरा गर्नुछ, तपाईंलाई अङ्कमाल गर्नुछ, तपाईंलाई ग्यालरीमा सजाउनु छ, तपाईंलाई धेरै माया गर्नु छ त्यो भन्दा बढी जति तपाईं मलाई बचपनमा गर्नुहुन्थ्यो। आमा, एकपटक ‌मलाई प्रायश्चित गर्नु छ। मायाले तपाईंप्रति भएको अन्यायलाई न्याय दिलाउनु छ।