अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

वर्षाको जोखिम टरेको छैन, केही दिन सचेत हुन आवश्यक (भिडियोसहित)

वर्षाको जोखिम टरेको छैन, केही दिन सचेत हुन आवश्यक (भिडियोसहित)

लगातारको वर्षाले देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त पारेको छ । यसबाट थुप्रै धनजनको क्षति हुनुका साथै सयौं मानिसहरु विस्थापित भएका छन् । यतिसम्म कि राजधानी काठमाडौंमा ठूलाठूला अपार्टमेन्टमा बस्ने मानिसलाई समेत डुंगा चलाएर उद्धार गर्नुपरेको छ । 


वरिष्ठ मौममविद् एवम जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता डा. अर्चना श्रेष्ठका अनुसार अझै केही दिन निरन्तर वर्षा हुनेछ । मनसुन सक्रिय केही कम जस्तो देखिएपनि अझै केही दिन लगातार देशभर वर्षा हुनेछ । सोमबारसम्म अविरल वर्षा  र त्यसपछि मौसम सफा हुने, बादल लाग्ने तथा पानी पर्नेक्रम चलिरहने उनी बताउँछिन् । 


यसपटक न्यून चापीय प्रणाली मध्य तराई क्षेत्रमा पनि बलियो गरी विकसित भएकाले निरन्तर वर्षा भएको हो । यसैका कारण मध्य तराईकासाथै पूर्वी नेपाल र राजधानी काठमाडौंमा पनि अविरल वर्षा भएको हो । 


मौसमविद् श्रेष्ठ भन्छिन्, ‘बंगालको खाडीबाट नेपाल प्रवेश गरेको वायुको असर कायमै रहेको र यसले केही दिन अझै प्रभाव पार्नेछ । डराउनुपर्ने स्थिति त छैन, तर सचेत चाहिँ हुनुपर्छ । ’

">
श्रेष्ठका अनुसार यसपटक बाराको सिमरामा रेकर्डब्रेक गर्ने गरी पानी परेको छ । यसअघि सन १९७८ मा २६६ मिलिलिटर पानी परेकोमा यसपटक ३०० मिलिलिटर पानी परेको छ । अन्य क्षेत्रको वर्षा भने सामान्य नै हो । कुनै रेकर्ड कायम भएको छैन । 


वर्षा सामान्य भएपनि यसले पुर्याएको नोक्सानी भने अपूरणीय छ । काठमाडौंदेखि देशका विभिन्न स्थानमा जति क्षति भयो, त्यसको असर वर्षा होइन । अव्यवस्थित बसोबास, खोलानाल तथा नदी अतिक्रमण, ढल निकास नहुनु, कुलो कुलेसोको अव्यवस्था लगायतका कारणले डुबानको समस्या आएको हो । 
लगातार पानी पर्दा स्वाभाविक  यसले बग्ने बाटो खोज्छ । तर, बग्ने खोला नै अतिक्रमण गरेर घर टहरा बनाएपछि डुबान नभए के हुन्छ ? यो शहरी विकासको व्यवस्थासँग जोडिएको विषय हो । यसमा सरकार गम्भीर हुन जरुरी छ । 


जहाँसम्म पहाडी क्षेत्रमा पहिरो गएको कुरा छ, यसमा पनि जंगल विनाश र माटोको गुणमा भर पर्छ । लगातारको वर्षाले कुनै क्षेत्रको माटोले चट्टासँगको सम्र्पक छोड्न सक्छ । यसका लागि कस्तो ठाउँमा घर बनाउने वा बनाइएको छ भन्ने कुरा महत्वपूर्ण हो । 


मौसमविद् श्रेष्ठ भन्छिन्, ‘ अहिले हामीसँग शतप्रतिशत मौसमको भविश्यवाणी गर्ने क्षमता छैन । हामी सेटलाइटका तस्बिरका आधारमा भविश्यवाणी गरिरहेका छौं । केही अन्य आधारलाई पनि विश्लेषण गर्छौ । जबसम्म राडार प्रणाली स्थापना गरी संचालन हुँदैन, तबसम्म यो समस्या रहिरहन्छ । ’


श्रेष्ठका अनुसार सुर्खेतमा जडित राडार प्रणालीबाट जति सूचना लिनुपर्ने हो त्यति लिन सकिएको छैन । प्रणाली सुर्खेतमा तर कार्यालय कोहलपुरमा राखेका कारण समन्वयमा समस्या छ । कार्यालय नै सुर्खेतमा राख्ने विषयमा छलफल चलिरहेको छ । 

">

यस्तै, उदयपुर र पाल्पामा राडार प्रणाली स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको छ । २०७७ साल भित्र राडारका आवश्यक सामग्री खरिद गरी स्थापना प्रक्रिया अघि बढ्ने छ । यसका लागि करिब ६० करोड रुपैयाँ खर्च हुनेछ । सुर्खेतको राडारका लागि अमेरिकाबाट सामान ल्याइएकाले अब पनि अमेरिकाबाट नै ल्याउने सम्भावना बढी रहेको छ । 


केही महिना अघि बारा र पर्सा जिल्लामा टोर्नेडोबाट त्रसित भएका सर्वसाधारणले फेरिपनि आकाशमा कालो बादल देख्दा त्यस्तै समस्या आउने हो कि भन्ने चिन्ता प्रकट गरेका छन् ।  यो विषयमा श्रेष्ठ भन्छिन्,‘ टोर्नेडोको सम्भावना छैन । टोर्नेडो आउने भनेको प्रि मनसुन अर्थात फागुन चैततीर हो । अहिले सम्भावना छैन, डराउनु पर्दैन । ’


जलवायु परिवर्तनको अशर विश्वव्यापीरुपमा परिरहेकाले नेपालमा पनि यसका खतरनाक संकेतहरु देखा पर्न थालेका छन् । नेपालले जलवायु परिवर्तनको खतरनाक अशर अब हिमालयमा भोग्नुपर्ने श्रेष्ठको चेतावनी छ । उनका अनुसार हिमनदी पग्नले र हिमताल फुटने जोखिम निकै नजिक आइसकेको छ ।

 
पछिल्लो समय नेपालमा मौसमलाई ख्याल गरेर विकास निर्माण, खेतीपातीका काम गर्न थालिएको छ । यसका लागि बिभाग र कृषी मन्त्रालय, बन तथा भू–संरक्षण मन्त्रालयसँग लगातार छलफल भैरहेको छ । कस्तो हावापानीमा कस्ता बनस्पती लगाउने, कुन खेती गर्ने कुन नगर्ने लगायतका विषयलाई सम्बोधन गर्नेक्रम सुरु भैसकेको छ । 

">