राजनीति

विप्लव समूह वार्तामा बस्न तयार

विप्लव समूह वार्तामा बस्न तयार

काठमाडौं : चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ। उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्यणय गरेको हो।

नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए। 'यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्‍यो, पत्र पठाएन', उनले भने, ' यसपटक पार्टीले वार्तामा बस्ने औपचारिक निर्णय गरेको छ। सरकार पनि इमानदार भएर आउनुपर्छ।' यसअघि चन्द समूहले पक्राउ पक्राउ परेका नेता/कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै आएको थियो।

'वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ,' ती केन्द्रीय सदस्यले भने, 'सरकारले कस्तो रवैया देखाउँछ हेरौँ।' ठूलो संख्यामा नेता/कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको उनले दाबी गरे।

'१ हजारभन्दा बढी नेता/कार्यकर्ता जेलमा छन्, ३ जना साथीको मुठभेडका नाममा सरकारले हत्या गरिसकेको छ', उनले भने, मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन। तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ। त्यो सपना नदेखे हुन्छ।' उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको बताए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेत्रविक्रम चन्द विप्लव