राजनीति

सरकारको वार्षिक समीक्षा : सचिवहरूले प्रधानमन्त्रीलाई सुनाए उपलब्धिको फेहरिस्त

२४३ वटा पुल निर्माण, ९१५ किमि सडक स्तरोन्नति

सरकारको वार्षिक समीक्षा : सचिवहरूले प्रधानमन्त्रीलाई सुनाए उपलब्धिको फेहरिस्त

काठमाडौं : आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले चालू आर्थिक वर्षको विकास प्रगतिबारे समीक्षा आरम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयहरूको प्रगति विवरण लिन थालेका हुन् । यो क्रम शुक्रबार पनि चल्ने छ । 

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गरियो । सम्बन्धित मन्त्रालयका सचिवहरूले चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले जानकारी दिए ।

विद्युत् उत्पादन बढ्यो

चालू आवमा विद्युत् जडित क्षमता १९५ मेगावाट थप भई एक हजार ३२५ मेगावाट पुगेको छ । त्यस्तै प्रसारण लाइन निर्माण (६६ केभी र सोभन्दा बढी क्षमताका चालू आवमा ७५७ स.कि.मि. निर्माण भई हालसम्म चार हजार १९५ सर्किट किलोमिटर पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तर्फबाट जानकारी दिइयो ।

पूर्वाधार विस्तार

सडक स्तरोन्नतिअन्तर्गत कालोपत्रे स्तरको सडक ९१५ किलोमिटर विस्तार भएको छ । त्यसैगरी ग्रावेलस्तरको सडक एक हजार ५० किमि, माटे सडक ३१५ किमि, पुल निर्माण २४३ वटा, डीपीआर निर्माण (रेलमार्गतर्फ) ४२१ किमिको निर्माण भएको जनाइएको छ ।

त्यस्तै जयनगर–जनकपुर–कुर्था (३५ किमि) रेल लाइन तथा रेल्वे स्टेसन तयार भई आगामी असोजसम्ममा सञ्चालन हुने अवस्था रहेको उल्लेख छ । कुर्था–बिजलपुरा खण्डको १७ किमिसहित ५२ किमि खण्डमा आगामी फागुनसम्ममा रेल सञ्चालन हुने जानकारी दिइयो ।

सहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेसका २० वटा जिल्ला सदरमुकामका नगरपालिकाहरूमा सहरी पूर्वाधार विकासअन्तर्गत कुल २३०.२५ किलोमिटर सहरी सडक, ३३३.३६ किलोमिटर सतही ड्रेन, ढल १३.५७ किमि र इनरुवा, सिद्धार्थनगर र धनगढी बसपार्क निर्माण सम्पन्न भएको बताइएको छ । बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माणको कार्य सुरु भएको पनि प्रगति विवरणमा उल्लेख छ । यसै वर्ष १७७ वटा स्वास्थ्य भवन निर्माण पनि सम्पन्न भएको जनाइएको छ ।

खानेपानीमा पहुँच वृद्धि

मन्त्रालय मातहतका विभिन्न निकायबाट २४२ वटा भूकम्प प्रभावित आयोजनाहरू, २५० ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षातको पानी सङ्कलनमा आधारित आयोजनाहरू गरी समग्रमा ५२६ वटा खानेपानी आयोजनाहरू सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको प्रगति विवरणमा समावेश छ ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट १८ वटा ठूला खानेपानी आयोजना सम्पन्न भई दुई लाख २३ हजार ९९१ जनसङ्ख्या उच्च र मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको उल्लेख छ ।

सञ्चार सेवा विस्तार

स्थानीय तह र सर्वसाधारणबीच सम्बन्ध स्थापित गर्न तयार भएको स्थानीय तह मोबाइल एप ३९६ स्थानीय तहले प्रयोगमा ल्याएको जानकारी गराइएको छ ।

काठमाडौँ उपत्यकाभित्रका सबै चलचित्र घरहरूमा बक्स अफिस प्रणाली लागू भएको र उपत्यकाबाहिर बक्स अफिस प्रणाली जडान भई परीक्षण भइरहेको प्रतिवेदनमा उल्लेख छ । छ करोड ३२ लाख रुपियाँको पत्रकार वृत्ति कोष स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आवमा २० वटा सरकारी सेवालाई विद्युतीय माध्यममा आबद्ध गरिएको र राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना भई सञ्चालनमा आएको पनि प्रतिवेदनमा उल्लेख छ ।

औद्योगिक पूर्वाधार निर्माण

भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी २२ वटा उद्योग सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरिएको उल्लेख छ । त्यस्तै पाँचखाल, नुवाकोट र रसुवामध्ये एक स्थानलाई क्रस बोर्डर इकोनोमिक जोनका रूपमा स्थापनाका लागि चिनियाँ पक्षबाट स्थलगत अध्ययन भएको जनाइएको छ । यो वर्ष पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माण सुरु भएको पनि उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।

जग्गा प्रशासन प्रणालीको आधुनिकीकरण, अनलाइन प्रणाली, भूउपयोग क्षेत्र वर्गीकरण, नक्साङ्कन र सोसम्बन्धी ऐन तर्जुमा, नापनक्सा र भूसूचना प्रविधिमा अत्याधुनिक प्रविधिको सुरुआत, सगरमाथा आरोहण, उचाइ मापनको फिल्ड कार्य सम्पन्न भएको तथा गरिबी निवारण नीति, २०७६ स्वीकृत, गरिब घरपरिवार पहिचान सर्वेक्षणको लागि विधि, प्रक्रिया र डाटा कलेक्सन एप्लिकेसन तयार भइसकेको जानकारी गराइएको छ ।

शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा प्राकृतिक चिडियाखाना निर्माण कार्यअन्तर्गत १० वटा मचान निर्माण गर्ने लक्ष्य लिइएकोमा १५ वटा निर्माण भएको छ । सातवटा पर्यटक विश्रामस्थल निर्माण गर्ने लक्ष्य लिइएकोमा पाँचवटा निर्माण भएको उल्लेख छ । त्यस्तै एक हजारवटा पानी पोखरी निर्माण तथा सिमसार व्यवस्थापन गर्ने लक्ष्य लिइएकोमा ९४१ वटा व्यवस्थापन भएको मन्त्रालयले जनाएको छ ।

चालू आवमा ४६ जिल्लाका ४५६ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भई बिमित हुनेको सङ्ख्या १८ लाख नाघेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको विवरणलाई प्रगति मानेको छ भने स्थानीय तहको निम्ति नमुना कानुन तथा मापदण्डको तर्जुमा गरी सङ्घीयता कार्यान्वयन गर्नका लागि स्थानीय तहलाई विभिन्न कानुन तथा नियमावलीको नमुना हस्तान्तरण गरेको जनाएको छ ।

विमानस्थल निर्माणमा प्रगति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नति ६० प्रतिशत सम्पन्न भई यही असार १६ देखि रातिमा पनि सञ्चालनमा ल्याइएको जनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत भएको उल्लेख छ । उता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको प्रगति ४२ प्रतिशत पुगेको उल्लेख छ । त्यसैगरी १०० वटा गन्तव्यको विकास निर्माणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको पनि जनाइएको छ ।

पदमार्ग विस्तारका लागि हेलम्बु क्षेत्रमा १०, लाङटाङ क्षेत्रमा २०, मकालु वरुण क्षेत्रमा आठ, दोलखा लखनपुरमा १०, रुकुममा गुरिल्ला ट्रेल र यार्सा ट्रेल १० र १० किमि पदयात्रा मार्ग निर्माण गरी कुल ६८ किमि निर्माण सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो।

सरकार वार्षिक समीक्षा
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।