कभर स्टोरी

गगन थापाका विषयमा ‘अस्पष्ट तर शंकास्पद’ टिपोट सार्वजनिक

गगन थापाका विषयमा ‘अस्पष्ट तर शंकास्पद’ टिपोट सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापासँगको अमेरिकी कनेक्सन बेलाबखत बाहिर आइरहन्छ । यस्तो ‘कनेक्सन’ सधै शंकाकै घेराभित्रको भने हुँदैन । 

 

तर यति बेला केही नोटहरु सार्वजनिक भएका छन् जसले आम मानिसमा सन्देह पैदा गरिदिएको छ । यी नोटहरुको स्रोत खुल्न सकेको छैन । केही अनलाइन सञ्चारमाध्यमहरुले नोट सार्वजनिक गरेका छन् । 

 

यी नोटहरु अमेरिकी दूतावासकै हो वा होइन, भन्ने स्पष्ट छैन । आधिकारिक पुष्टि नभए पनि विषय भाइरल बनेको छ । एउटा नोटको सुरुमै लेखिएको छ, ‘कन्फिडेन्सियल सेक्सन’ । गोप्य भनिएको टिपोट अर्थात अमेरिकी दूतावासको रिपोर्ट तत्कालीन डेपुटी चिफ अफ मिसन रेन्डी डब्लु बेरीको हो । उनी अहिले नेपालको राजदूत छन् । 

 

सार्वजनिक भएका यी नोटहरु आधिकारिक हुन् भने अमेरिकी दूतावासले गगन थापालाई नेपालको राजनीतिबारे आधिकारिक रुपमा जानकारी लिने व्यक्तिका रुपमा अथ्र्याएको बुझिन्छ । बुँदा नम्बर ५,९००.मा लेखिएको छ, ‘गगन थापा, दूतावासका सम्पर्क सूत्र, सरकार नेतृत्व गरिरहेको दल कांग्रेसका उनले भने–निर्वाचनमा नेपाली कांग्रेसको स्थिति राम्रो नहुन सक्छ ।’

 

सन् २००८ अमेरिकी दूतावासले तयार पारेको ‘Nepal: continue: 38 days till CA Elections’ शीर्षकको रिपोर्टमा गगन थापाालाई नेपालको राजनीतिबारे जानकारी लिने एक सूत्रका रुपमा उपयोग गरेको देखिन्छ । 

 

दूतावासले गगन थापाको विश्लेषणलाई आफ्नो रिपोर्टको सामाग्री बनाएको छ । यो रिपोर्ट ‘कन्फिडेन्सियल’ भन्ने उल्लेख भएका कारण थापाले कुनै औपचारिक कार्यक्रम वा सम्वादका क्रममा बोलेको नभएर गोप्य रुपमै जानकारी दिएको भन्न सकिने आधारहरु छन् । तर फेरि पनि, यी टिपोटको आधिकारिकता खुल्न सकेको छैन । 

 

नेता थापालाई नेपालआजले सम्पर्क गर्ने प्रयास गरेको थियो । तर उनको फोन उठेन । 

पहिलो संविधान सभा निर्वाचनअघि दूतावासका कर्मचारीसँग थापाले निर्वाचनको विषयमा विश्लेषण गरेको रिपोर्टमा उल्लेख छ । निर्वाचनको मुखमा रहेको पार्टीका नेताले ‘आफ्नो पार्टीले चुनाव जित्दैन’ भन्दैन तर गगन थापाले त्यस्तै विश्लेषण गरेको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा लेखिएको छ, ‘प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला वृद्ध भइसकेका छन् । उनी चुनावी सभालाई सम्बोधन गर्न सक्दैनन् । पार्टी प्रति विद्यार्थी संगठनको पनि मोह भंग भइसकेको छ । तराईमा बस्ने पहाडी मूलका नागरिकहरु पनि कांग्रेससँग रिसाएका छन् । किनभने कांग्रेसले मधेसीलाई धेरै अधिकार दिएको भन्ने उनीहरुलाई लागेको छ । यसकारण आगामी निर्वाचनमा कांग्रेसको भोट पनि एमालेलाई जान सक्छ ।’

 

सार्वजनिक भएका सबै रिपोर्टहरु निम्नानुसार छन्ः