खेल

भारतद्वारा वेष्टइण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत, कोहली र धोनीको अर्धशतक

भारतद्वारा वेष्टइण्डिजसामु २६९ रनको लक्ष्य प्रस्तुत, कोहली र धोनीको अर्धशतक

विश्वकप क्रिकेट अन्तर्गत भारतले वेष्टइण्डिजसामु २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको हो । 


इङल्याण्डको म्यानचेष्टरमा जारी खेलमा टस जितेर भारतले पहिले ब्याटिङको निर्णय गरेपनि सुरुवात भने राम्रो हुन सकेन ।  भारतका स्टार ब्याट्सम्यान रोहित शर्मा १८ रनमा आउट भए । उनी रोचको बलमा आउट भएका हुन् । आउट हुनुअघि उनले २३ बल सामना गर्दै एक चौका र एक छक्का प्रहार गरेका थिए । 
भारतको पारी कप्तान विराट कोहली र महेन्द्र सिंह धोनीले सम्हाले । कोहलीले ७२ र धोनीले नटआउट ५६ रनको योगदान दिए । यस्तै केएल राहुलले ४८ र हार्दिक पाण्डेले ४६ रन बनाए । 


अहिले वेष्टइण्डिज जवाफी ब्याटिङ गरिरहेको छ । भारत अंक तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जित हासिल गरे उसको सेमीफाइनल यात्रा सहज हुनेछ । वेष्टइण्डिजले भने ६ खेलमा एउटा मात्र जित हासिल गरेको छ ।