प्रदेश २

बालिका बलात्कार गर्नेलाई ६ वर्ष कैद

बालिका बलात्कार गर्नेलाई ६ वर्ष कैद


सप्तरी । सप्तरीमा बालिका बलात्कार गरेको आरोपमा जिल्लाको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले छ वर्ष कैद सजायको फैसला गरेको छ ।


जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

 

पीडितकै घरकोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनुभएको थियो । प्रहरीले २०७४ चैत १० गते नै आरोपितलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।