समाचार

माधवलाई केपीको प्रश्न– ‘आधा आधा कसरी दिने ल भन्नुस ?’

माधवलाई केपीको प्रश्न– ‘आधा आधा कसरी दिने ल भन्नुस ?’

गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसंग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गर्नुभएको छ । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत (१३ लाख ३ हजार ७ सय २१) १३.६५ प्रतिशत थियो । ६०÷४० को अनुपातमा उम्मेद्वारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाव तय गरियो । तर जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाव उतार्दै हुनुहुन्छ, जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाउनुभयो । 

चुनाव चिन्हबारे कन्फ्युजन हुँदा अर्को ८–१० प्रतिशत मत बदर भएको हिसाब छाडेर पनि तत्कालिन एमालेले पाएको मत हो– ३१ लाख ७३ हजार अर्थात ३३.२४ प्रतिशत । यदि, यौटै चिन्हमा लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाव सुनेपछि केपीले भन्नुभयो– ‘अनि, तपाईं प्रचण्डसंग मिलेर किन सहमतिको कुरा उठाउनुहुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस् त ! उपराष्ट्रपति,  सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, प्रमुख सचेतक दिएकै छ ।’ केपीको हिसाव निकाल्ने चातुर्यबाट प्रभावित भएर होला माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिनुभयो– ‘कुरा त्यस्तो पो हो र ?’ त्यही दिन, जतिबेला केपी र माधवको भेट भइरहेको थियो, मात्रिकाको अर्को प्रसंग निस्कियो ।

पहिला ललिता निवास छेउबाट बाटो निकाल्ने सम्बन्धी एउटा निर्णयमा तत्कालिन भूमिसुधार सचिव छविराज पन्तले ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार’ भनेर माधव नेपाललाई फसाउन खोजेजस्तै प्रसंग देखाउनु भयो, केपीले माधवलाई । हेर्नुस त पहिला तपाईंलाई फसाउन खोजे, अहिले फेरि मात्रिकाले यो फाइलमा सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार भन्दै मतिर सोझ्याउन खोज्दै छन् । फाइल थियो, मात्रिकाले चलाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी । 

उता, मन्त्रिपरिषद्बाट पारित भएको विधेयक एउटा, संसदमा दर्ता भएको अर्को । विधेयकको गञ्जागोलले सरकारको टाउको खाइरहेका बेला फेरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यस्तो काम भइदियो । यस्तो भएपछि प्रमले मन्त्री मात्रिकालाई बोलाएर ‘यस्तो त गर्न भएन नि ।  त्यो सच्याएर क्याविनेटबाट पास भएको ल्याउने भए ल्याउनुस् नभए अहिल्यै विदा हुनुस्’ भन्दै पड्किनुभयो । मात्रिकाले कर्मचारीबाट गल्ती भएको भन्दै क्याविनेटबाटै पारित भएको विधेयक हतार हतार लानुभयो । 
बुधबारको जनआस्था साप्ताहिकबाट ।  
 

केपी ओली माधवकुमार नेपाल