अन्तरवार्ता कला साहित्य भिडियो Breaking News कभर स्टोरी

राष्ट्रिय कविता महोत्सवमा दोस्रो भएका कवि भण्डारी भन्छन्, ‘मुल्याङ्कन भएन भनेर कविता लेख्न छोड्ने नक्कली कवि हो ’ (भिडियोसहित)

राष्ट्रिय कविता महोत्सवमा दोस्रो भएका कवि भण्डारी भन्छन्, ‘मुल्याङ्कन भएन भनेर कविता लेख्न छोड्ने नक्कली कवि हो ’ (भिडियोसहित)

 सुभाषचन्द्र भण्डारी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान प्राप्त गर्न सफल कविको नाम हो । उनको ‘किनाराका अलिखित संवेगहरु’ शीर्षकको कविता दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । सुदूरपश्चिम क्षेत्रको यथार्थ चित्रण गर्ने यो कविता शार्दुलविक्रिडीत छन्दमा लेखिएको छ । 


नेपाल आजसंगको विशेष साक्षात्कारमा युवा कवि भण्डारी साहित्यले समाज बदल्नुपर्ने धारणा राखे । कतिपय कविले साहित्यका नाममा कुण्ठा पोख्ने गरेपनि वास्तविक साहित्य समाजलाई नयाँ बाटो देखाउने सक्ने क्षमताको हुनुपर्ने उनको भनाइ छ । 


२०४० साल बैशाख ८ गते डोटीको गड्सेरामा पिता भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ र आमा दुर्गामाया भण्डारीको तेस्रो सन्तानकारुपमा उनको जन्म भएको हो । पिता भालचन्द्र सुपरिचित कवि भएकाले सुभाषको पारिवारिक वातावरण पनि साहित्यिक नै थियो । यही संस्कारले उनलाई पनि सानैदेखि कवि बनायो । 


डोटीको पवित्र आवासीय मा.वि. मा कक्षा ६ सम्मको अध्ययन गरेका भण्डारीले कैलालीको पञ्चोदय मा.वि. बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । उनले काठमाडौंको रत्नराज्य क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे । हाल उनी शिक्षण पेशामा संलग्न छन् । 


भण्डारीले पहिलो पटक कक्षा ५ मा पढ्दा २०४६ सालको जनआन्दोलनको रापतापका विषयमा कविता लेखे । ‘वीर शहीद नेपालीप्रति’ शीर्षकको सो कविता पछि २०५० सालमा प्रकाशित भयो । यो उनको पहिलो प्रकाशित कविता हो । 

">
निकट भविष्यमै भण्डारीले कविता संग्रह प्रकाशनको तयारीमा छन् । स्नातकोत्तर तहको ‘सृजना पत्र’ मा आफनै कविताहरुको संगालो ‘मेरो दावी पत्रमा कविताको दस्तखत’ उनले पेश गरेका थिए । सोही संग्रहलाई अब प्रकाशन गर्ने तयारी गरिरहेको उनी बताउँछन् । 


प्रायः सबै किसिमका छन्दमा कलम चलाउने भण्डारीले यसअघि २०७५ सालको राष्ट्रिय कविता महोत्सवमा पनि भाग लिएका थिए । उनले त्यो बेला उपजाती छन्दको ‘मनोमय नेपाल’ शीर्षकको कविता वाचन गरेका थिए । 


कविताको मूल्याङ्कन गणितीय हिसाबमा हुन नसक्ने तर्क राख्ने भण्डारी भन्छन्, ‘ कविता प्रथम, द्वितीय भएन भन्दैमा कविता लेख्न छोड्नु हुँदैन । मूल्याङ्कनमा परिएन भनेर कोही लेख्न छोड्छ भने त्यो नक्कली कवि हो । ’


भण्डारी २०७५ सालमा अन्तर्राष्ट्रिय साहित्य समाजले गरेको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा तृतीय भएका थिए । उनको अनुष्टुप छन्दको ‘माटोको गीत’ कविता  तृतीय स्थान प्राप्त गर्न सफल भएको हो । 


जिल्ला शिक्षा समिति काठमाडौं, प्याब्सन काठमाडौ, सुदूरपश्चिमाञ्चल साहित्य समाज लगायत विभिन्न संघसंस्थाबाट सम्मानित कवि भण्डारी साहित्यप्रति नेपालीको रुचि बढेको तर्क गर्छन् । 

">
उनी भन्छन्, ‘अहिले नेपालमा पठन संस्कृति बढेको छ । मानिस पुस्तक किनेर पढ्न थालेका छन् । देशभर कविताको लहर चलेको छ । साहित्यको विज्ञापन र व्यापार गर्नेहरुका कारण यो क्षेत्रमा केही प्रश्न उठेपनि त्यो क्षणिक हो । सक्कली लेखकहरुले समाजलाई डोर्याउने हो अब !’ 


भण्डारी भन्छन्, ‘मेरो बुवाका कविता सुन्न डोटीको गडसेरामा मानिस दुई दिनको पैदल हिंडेर आउँथे । अहिले बुवा अस्वस्थ भएपनि नयाँ कृति प्रकाशित हुनेक्रम रोकिएको छैन । कहिलेकाहिँ त हामी घरमै कवि  गोष्ठी गर्छौ । आज जे छु सबै मेरा पिताको देन हो !’


">