विदेश

निरंकुशता विरुद्ध डाक्टरको कैंची

निरंकुशता विरुद्ध डाक्टरको कैंची

नेपालजस्तै निर्धन मुलुक अल्बानियामा सन् १९९० को डिसेम्बरमा भएको प्रजातान्त्रिक आन्दोलनले निरंकुशताको अन्त्य गर्यो । महिना फरक भएपनि तीन दशकअघि एकै समयमा राजनीतिक परिवर्तन भयो ।  अनवर होक्साले कायम गरेको निरंकुश साम्यवादी सरकारमा रमी अलियाको शासन अन्त्य गर्यो । यो आन्दोलनमा सक्रिय नेतृत्व गर्ने डाक्टर सली वेरिशा त्यहाँ राष्ट्रपति चुनिए । सन् १९४४ मा उत्तरी अल्बानियामा जन्मिएका  यिनी आन्दोलनपूर्व अस्पतालका सर्जन थिए । यिनकी पत्नी लिरी पनि डाक्टर नै हुन् । एक छोरी र एक छोरा गरी दुई सन्तान छन् । एउटा प्रजातान्त्रिक मुलुकको राष्ट्राध्यक्षले कस्तो आदर्शलाई जीवन अंग बनाउनु पर्छ भन्ने उनको एकदिनको दिनचर्याले स्पष्ट गर्दछ । नेपालसंगै  प्रजातान्त्रिक विहानीमा प्रवेश गरेको देशका राष्ट्राध्यक्षबाट हाम्रा नेताले पनि केही सिक्नुपर्ने देखिन्छ । राष्ट्रपतिको दिनचर्या उनकै शब्दमा । 

प्रायजसो म विहान ६ बजे उठ्छु । म राष्ट्रपति हुँ तर तिरानाका सर्वसाधारण झैं  मेरो पनि पानीका लागि टाइम टेबल छ । हाम्रो धारामा पानी आउने समय विहान ४–७, दिउँसो १–३ र बेलुकी ५–८ बजेसम्म हो । मेरो नित्यकर्मका लागि मैले त्यो समयको विशेष ख्याल गर्नुपर्छ । श्रीमतीले ब्रेकफास्ट तयार गर्छिन् । ब्रेकफास्टमा प्रायः दही, कफी र चीज हुने गर्छ । कहिलेकाहीं अम्लेठ खान्छु । धेरैजसो सुख्खा खाना नखाने प्रयास गर्छु । म स्वास्थ्यप्रति उत्तिकै सचेत छु । अल्बानियामा खानाप्रति सौखिन हुन कठिन छ । खाना सबैका लागि अभाव छ । मेरी श्रीमतीले पसल पसल चाहारेर जे पाइन्छ, त्यो खाना जोगावट गर्न प्रशस्त समय खर्चिनु पर्छ । लामा लामा लाईन हुन्छन् । बजार अचाक्ली महँगो छ । हामीलाई अलि सजिलो हुन्छ नै, तर तलब धेरै छैन् । पहिलेका नेताहरुको तलब धेरै हुन्थ्यो तर मैले पहिला म जसरी बस्थें, त्यसरी नै बस्न आफूलाई उत्प्रेरित गरेको छु । सर्वसाधारणले कस्तो जीवन बाँच्छन, त्यस्तै नगरी म कसरी उनीहरुलाई अनुभूत गर्न सकौंला र ? म आफूलाई परिवर्तन गर्न अस्वीकार गर्छु । 

म डाक्टर हुँदा जुन फ्ल्याटमा बस्थें, अहिले पनि त्यही बस्छु । त्यसमा तीन कोठा र यौटा भान्सा छ । यो धेरै सानो छ । रक्षा मन्त्रालयसंगको दायित्वका कारण यौटा विशेष टेलिफोन लाइन थपिएको छ, नत्र सबथोक उही । छिमेकी पनि तिनै छन् । त्यो ठाउँमा म र लिरी मात्र डाक्टर थियौं । छिमेकीसंग राम्रो हिमचिम छ । चिकित्सक भएका नाताले पनि होला, हरेक परिवार हामीलाई स्वागत गर्न पाउनु अहोभाग्य ठान्छन् । यहाँ त्यस्तो घर होस्, जहाँ हामी नपुगौं । वास्तवमा तिनीहरु साँच्चै असल मानिस छन् । 

म राष्ट्रपति भवनमा गाडीद्वारा दैनिक विहान ८ बजे पुर्याइन्छु ।  मलाई तत्कालै चिठीले भरिएको फाइल, प्रश्न र मिटिङको लागि माग गरिएको फाइल दिइन्छ । यही बिन्दुबाट मेरो व्यस्तता शुरु हुन्छ । यो क्रम रातीसम्म जारी रहन्छ । मेरो देशले अत्यन्त जटिल अवस्थाको सामना गर्नु परिरहेको छ । सरकारको प्रशासनिक संयन्त्र प्यारालाइसिस् छ । अर्थतन्त्र टिठलाग्दो अवस्थामा छ । खाना र औषधिका लागि समेत अरु देशमा भर पर्नुपरेको छ । जनता प्रजातन्त्रको प्रतिफल पाउन अधैर्य भएर बसेका छन् । अघिल्लो महिना स्वतन्त्र व्यापार संघहरुले राम्रो तलवको लागि दबाब दिन हडताल गरे तर यतिबेला हामीले गर्न सक्ने कुनै बाटो नै छैन् । 

समस्याका चाङ अनगिन्ती छन् । तर म  निराशावादी पटक्कै छैन् । मलाई थाहा छ– यदि म हतोत्साही भएँ भने म पराजित हुन्छु । यसैले पनि मैले दरो खुट्टा टेक्नुपर्छ । म साधारणतया जनता असल छन् भन्नेमा विश्वास राख्छु । यही मूलमन्त्रले उत्साहजनक समय आएको लक्षण देखिदैछ । आगामी दुई, तीन महिनामा केही ठोस काम गर्न सकियो भने अल्बानियालीहरुले महशूस गर्ने छन्– उज्यालोतर्फ अगाडि बढिँदैछ । बितेका अँध्यारा पल पछाडि धकेलिदैछन् । 

मेरो इतिहास अत्यन्त सामान्य छ । मलाई मेरो देशले डरलाग्दो परिस्थिति भोग्दैछ र त्यसले जनताको स्वतन्त्रता हरण गर्दैछ भन्ने लाग्यो । यसलाई मैले सहन सकिन र सरकार विरुद्ध जाने निधो गरें । यो कदम मेरो व्यक्तिगत महत्वाकांक्षाका लागि नभएर यौटा नागरिकको कर्तव्य पालनमा लक्षित थियो । सवैभन्दा पहिला मैले श्रीमती र छोराछोरीसंग सल्लाह गरें । पहिला त झस्किए । चिन्तित देखिए । अन्ततः मैले मेरो एजेण्डामा उनीहरुलाई सहमत गराएँं । शुरुका दिनमा मैले पत्रपत्रिकामा लेख लेख्न थालें । अन्तर्वार्ता दिएँ । सरकारविरुद्ध सम्भव भएसम्मका उपाय उपयोग गरें । विभिन्न माध्यम प्रयोग गरेर देशबाहिर पनि सन्देश प्रवाह गरें । सरकारविरुद्ध अभिव्यक्ति दिनु आफैंमा चुनौतिपूर्ण थियो । राज्यको क्रूरता र खुफिया एजेन्सीले म विरुद्ध गर्न सक्ने आक्रमणबारे मलाई बारम्बार सचेत गराइएको थियो । कतिपयले चुनौती नमोल्न सल्लाह दिएका थिए । हजारौं राजबन्दी थिए, मानवअधिकारवादी माथि अतिक्रमण गरिएको थियो । 

कुनै पनि हालतमा प्रजातन्त्र आउँछ भन्नेमा म ढुक्क थिएँ । यही समय मैले प्रजातान्त्रिक दल निर्माण गरें । विद्यार्थी प्रदर्शनमा रक्तपात हुनसक्ने त्राही त्राही थियो । हुन त विद्यार्थीमै सबथोक छाड्न पनि सकिन्थ्यो । तर म चिन्तित थिएँ । दबाब नथेग्ने निर्णय मैले अगाडि नै लिइसकेको थिएँ । अन्तत ः मेरो उद्देश्यको जीत भयो । 

दिउँसो २ बजेसम्म म ती मानिस भेट्छु , जसले मसंग भेट्न चाहेका हुन्छन् । विभिन्न संघ संगठनका प्रतिनिधि र सर्वसाधारण जो आफ्नै विषयमा कुरा गर्न आएका हुन्छन् । म भ्याएसम्म धेरैभन्दा धेरैलाई भेट्छु । जसरी डाक्टरले रोगीको कुरा सुन्नुपर्छ, त्यसरी नै मैले मेरा जनताको कुरा सुन्नुपर्छ । त्यसबेला राष्ट्रपतिलाई खाना खाने फुर्सद पनि हुँदैन् । 

अपरान्ह फेरि म कार्यालयको काम थाल्छु । यसपछि मेरो प्राथमिकता विदेशी कुटनीतिज्ञका लागि हो । आत्मनिर्भर हुन नसकेको मुलुकलाई विदेशी सहयोग अपरिहार्य जस्तै हो । अहिलेकै अवस्थामा उत्पादनमुखी अर्थव्यवस्था कायम गर्न सम्भव छैन् । विदेशीले दिने सहयोग उनीहरुको स्वार्थमा हुने हुँदा निर्णय प्रक्रियामा उनीहरुको हात माथि नपरोस् भन्नेमा होशियार हुन जरुरी देख्छु । यसका लागि कुटनीतिक अभ्यासलाई परिणामदायी बनाउन उत्तिक्कै आवश्यक छ । विदेशीसंग भेटघाटका लागि सुट सिलाएको छु , आफ्नै खर्चमा । केही कपडा बाहिरबाट ल्याएको छु । कपडा छान्न श्रीमतीभन्दा म पोख्त छु भन्ने लाग्छ । त्यसो त श्रीमतीको सल्लाह पनि काट्दिन् । राती ८ बजे मैले अरु बैठकमा सहभागी हुनुपर्छ । म न्यायपरिषद्को अध्यक्ष हुँ , जसले देशभरिका न्यायालयहरुमा नयाँ अधिकारी नियुक्ति गर्ने सम्बन्धी कार्य तर्जुमा गर्दैछ । 

म सक्दो र सम्भव भएसम्म विकेन्द्रीकरण गर्न चाहन्छु । देश चलाउन ठीक ठाउँका लागि ठीक मानिस पाउन कठिन छ । अल्वानियाँमा विज्ञ मानिस प्रशस्त छन् । यतिबेलासम्म तिनीहरुले देश छाडिसकेका छैनन् । तर तिनीहरुलाई सक्दो छिटो खोज्नुपर्छ । मैले जिन्दगीमा एक वा दुईपल्ट मात्र होक्सालाई भेटेको छु । म उसको डाक्टर कहिल्यै भइँन् । यद्यपि धेरै मानिसलाई म उसको डाक्टर भएको भ्रम छ । उसका लेख र किताब पढ्दा निक्कै निर्दयी र कठोर भएको पुष्टि हुन्छ । उ ठान्दथ्यो, उ सधैं ठीक छ । सवै मानिस उ विरुद्ध छन र उ सबथोक जान्दछ । उ हाम्रो इतिहासको सर्वाधिक वियोगान्त चरित्र हो । हेर्नुस् त उसको देशलाई सामना गर्ने कंक्रिट र बंकरको सिद्धान्त । अल्वानियामा जहाँ उभिए पनि बंकर देखिन्छ । उसले हामीलाई बंकरमा गाढेको थियो ।

राती झण्डै १२ बजे मध्यरातमा म घर ल्याइन्छु । यतिबेला श्रीमती खाना तयार पारेर बसिरहेकी हुन्छिन् । खुब चिसो सलाद, मासु र लेमोनेड मेरो खानाको मेन्यूभित्र पर्छन् । पकाउने काम लिरीले गर्छिन् । यतिबेला आफैं पकाउन मभित्र त्यो सामथ्र्य नै रहँदैन् । स्वास्थ्यप्रति सचेत हुनुपर्छ जस्तो लाग्छ । अस्वस्थ नेतृत्वले देशलाई स्वस्थ बनाउन कठिन हुन्छ भन्ने लागेर स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्छु । अत्यन्तै बढी कफी पिउँछु । यद्यपि कफीमा चिनी हाल्दिन । सुख्खा रोटी, पाउरोटी नखान प्रयत्न गर्छु । दिनभरि कुर्सीमा बसेर काम गर्दा तौल बढ्ने खतरा हुन्छ । त्यसैले कामका बीच पनि हल्का व्यायाम गर्छु । 

घर आइपुग्दा अत्यन्तै थाकेको हुन्छु । लिरीसंग दिनभरि भए गरेका कामकुरा उठाउँछु । उनी केटाकेटीका विषय निकालेर मेरो ध्यान राजनीतिबाट अलग गर्न चाहन्छिन् । मेरो परिवारले समय पाउँदैन् । मलाई परिवारसंग खेलेर विताउने छूट छैन् । श्रीमती, छोराछोरी कुरा बुझ्छन् । उनीहरुलाई यही माहोलमा बानी परिसक्यो । डाक्टरी पेशामा हुँदा पनि उत्तिक्कै मेहनत गर्थें । 

सिद्धान्ततः मलाई आइतबार छुट्टी मिल्छ । प्रायजसो यही दिन प्रतिवेदन पढ्न, तयार गर्न तथा अरु बैठक जसलाई टार्नै सकिन्न, त्यसमा सामेल हुनुपर्छ । कहिलेकाहीं हामी पैदल हिँडेर साथीभाइको घर जान्छौं । समय मिल्दा अस्पताल गएर रोगी जाँच्छु । आफ्ना दौंतरी भेट्छु । मेरो दिनचर्या टाईट भएपछि साथीभाइ भेट्न राती नै आउँछन् । उनीहरुका लागि फोन गर्ने अनुकूल समय पनि यही नै हो । साथीभाईको भेट र प्रोत्साहनले म भित्र अलग्गै उर्जा प्राप्त हुन्छ । म संगीत सुनेर आफूलाई मनोरञ्जन प्राप्त गर्छु । क्लासिकल, आधुनिक र रक तीनवटै संगीत विधामा रमाउँछु । त्यसबाहेक ऐतिहासिक उपन्यास पढ्नु मेरो रुचिको विषय हो । यद्यपि पढ्नका लागि अहिले मसंग अनुकूल समय छैन् । 

अन्तिम कुरा के भने जब म विछ्यौना जान्छु , त्यतिबेला म दिनभर भए गरेका कामको विश्लेषण गर्छु । भविष्यप्रति म त्यति चिन्तित हुन्न किनभने भोलिका लागि असल पुस्ता तयार छन् । तिनीहरु उत्तिक्कै सक्षम छन् । म तिनीहरुलाई विशेष प्रेम गर्छु । त्यसपछि म छिट्टै निदाउँछु । 
 

राष्ट्रपति भवन अल्बानिया