अर्थ

बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : खतिवडा

बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : खतिवडा


काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा नभएको बताउनुभयो । 


अर्थमन्त्री डा. खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्व रुपैयाँमाथि बजेट विनियोजन गरिएको बताउनुभयो । दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उहाँले दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताउनुभयो ।  


अर्थमन्त्री डा खतिवडाको जवाफमाथि सांसद डिला संग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाउनुभयो । 

 

सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य रहेको बताउनुभयो ।