समाचार स्वास्थ्य

के तपाईं पनि तनावमा हुनुहुन्छ ? परामर्श केन्द्र हाजिर छ (भिडियोसहित)

के तपाईं पनि तनावमा हुनुहुन्छ ? परामर्श केन्द्र हाजिर छ (भिडियोसहित)

मानसिक तथा मनोरोगीलाई परामर्श सेवा उपलब्ध गराउन मनोशास्त्र काउन्सिलिङ एवं रिसर्च सेन्टर सञ्चालनमा आएको छ । ललितपुरको कुपण्डोलमा रहेको केन्द्रबाट काउन्सिलिङ, मनोवैज्ञानिक उपचार, मनोवैज्ञानिक परीक्षण र सचेतना सम्बन्धी तालिम तथा गोष्ठी सञ्चालन हुनेछ ।

 

पाटन अस्पतालमा कार्यरत युवा चिकित्सकहरुद्वारा सञ्चालित यस केन्द्रमा बालबालिकाको मानसिक, शारीरिक अवस्थाका बारेमा परामर्श तथा चिकित्सकीय सेवा उपलब्ध गराइनेछ ।

 

केन्द्रका सञ्चालक डा.सुमनप्रसाद अधिकारीले निम्न तथा मध्यमस्तरीय परिवारलाई सेवा दिने उद्देश्यले न्यूनतम शुल्कमा परामर्श तथा चिकित्सकीय सेवा उपलब्ध गराइने जानकारी दिनुभयो । 

 

उहाँका अनुसार तनावग्रस्त शहरी जीवन भोगिरहेका अभिभावक र बालबालिका दुवैले यहाँ उपचार पाउने छन् । 
वरिष्ठ चिकित्सक डा. निलम अधिकारीले गाउँमा भन्दा मानसिक स्वास्थ्यको अवस्था शहरमा जटिल बन्दै गएको बताउनुभयो ।

 

अधिकांश अभिभावक वैदेशिक रोजगारमा जाने भएका कारण बालबालिकाले आफ्ना अभिभावकसंग पनि चिनाजानी नहुने जटिल अवस्था भोग्दै जानु दुखद रहेको बताउँदै डा. अधिकारीले भन्नुभयो– ‘दिनभर बाबुआमा नै काममा हिँड्दा बच्चाको बालमनोविज्ञानमा यसै पनि नकारात्मक असर पर्ने गरेको छ । अझ राम्रो स्कुलमा भर्ना गर्ने नाममा बच्चालाई विभिन्न स्कुल डुलाउँदा उसको मनोविज्ञानमा परेको असर हामीले बुझ्न सकेका छैनौ. । अभिभावकको रहर बालबालिकामार्फत पूरा गर्न खोज्ने आमप्रवृत्ति थप घातक बन्दै गएको छ । बालबालिकाको उचाई बढाउन दिइने उपचार पद्धति त्यसको एक उदाहरण हो । जुन उचाई बालबालिका नभएर अभिभावकलाई चाहिएको हो ।’

 

मानसिक चिकित्सकको संख्या सीमित भएका कारण उनीहरुले पर्याप्त समय दिएर काउन्सिलिङ दिन नसकेको दृष्टान्त प्रस्तुत गर्दै डा. अधिकारीले धेरै खर्चालु र विलासी सेवाभन्दा थोरै पैसामा गुणस्तरीय सेवा दिने मध्यम खाले उपचार केन्द्रको खाँचो रहेको औंल्याउनु भयो । 

 

मानसिक, शारीरिक, सामाजिक र आध्यात्मिक रूपमा तन्दुरुस्त रहेको अवस्था स्वस्थ हो भने दिमागका एक वा बढी क्रियाकलापमा गडबडी भएर उत्पन्न हुने अवस्था मानसिक रोग हो ।  मानसिक रोगले भावना, विचार, अनुभूति, चेतनामा भ्रम पैदा गर्छ ।  मानसिक रोगलाई नसर्ने खालका रोगको सूचीमा राखिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले संसारभर करिब २५ प्रतिशत मानिस कुनै न कुनै रूपमा मानसिक रोगीको रूपमा रहेको उल्लेख गरेको छ ।

 

नेपालमा राष्ट्रिय स्तरमा सर्वेक्षण नभए पनि स–साना अध्ययनका आधारमा करिब २० देखि २५ प्रतिशत मानिस मानसिक रोगबाट ग्रसित रहेका देखिएका छन् ।  नसर्ने रोगको बहुपक्षीय कार्ययोजना २०७१–२०७७ मा मानसिक स्वास्थ्यलाई मुटु रोग, क्यान्सर, मधुमेहसँगै प्राथमिकता दिइएको छ ।  

 

मानसिक स्वास्थ्य एक्सरेलगायतका स्वास्थ्य परीक्षणबाट पत्ता लाग्दैन ।  यो व्यक्तिको व्यवहारको लक्षणको आधारमा मात्रै पत्ता लगाउन सकिन्छ ।  

 

मानसिक स्वास्थ्य मनोवैज्ञानिक र समाजसँग अन्तर्सम्बन्धित रहेको छ ।  अमिल्दो व्यवहार, एक्लै बसन मन पराउने, झनक्क रिसाउने, नकारात्मक सोच बढी गर्ने, कुनै पनि घटनाको सम्झना गर्न नसक्ने, राम्रो र नराम्रो नछुट्याउने, आफ्नो बिरानो चिन्न नसक्ने, जतापायो उतै एकोहोरो हिँड्ने, समयको पहिचान गर्न नसक्ने, जहाँ पायो त्यही बास बस्ने, जे पनि खानेजस्ता कुराले मानसिक रोगका लक्षण देखाउँछ । 

 

देशभर करिब १ सय मानसिक रोग विशेषज्ञ, २० जना चिकित्सा मनोविद् तथा ७० जना साइक्याट्रिक नर्स उपलब्ध छन् ।  यसैगरी एक सय ५० जना मनोविद रहेका छन् ।  सात सयको हाराहारीमा तालिम प्राप्त मनोपरार्शकर्ता रहेका छन् भने केही संख्यामा तालिम प्राप्त सामाजिक कार्यकर्ता रहेका छन् ।

 

मानसिक रोग निको पार्न वा न्यूनीकरण गर्न मानसिक स्वास्थ्य विशेषज्ञले भनेबमोजिम उपचार गर्नुपर्छ ।

 

दैनिकी जीवनलाई सन्तुलित गर्नुका साथै हरेक दिन आराम गर्न समय निकाल्नुपर्छ ।  साथै शारीरिक स्वास्थ्यको ख्याल गर्नुपर्छ ।  कम्तीमा ७–८ घण्टा सुत्नुपर्छ ।  पोषणयुक्त र सन्तुलित खाना खानुपर्छ ।  मद्यमान, लागूऔषध सेवन गर्नुहुँदैन ।  चिकित्सकले सिफारिस नगरेका औषधि खानु हुँदैन ।  एकान्तमा बसेर अनावश्यक कुरा सोच्नु हुँदैन ।  परिवार, हेरचाह गर्ने र भरोसा गर्नेहरूसँग समय बिताउनुपर्छ ।  सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) मा धेरै समय बिताउनु हुँदैन । 

एक अध्ययनले भनेको छ– सामाजिक सञ्जालको प्रयोग यसैगरी बढ्दै गएमा दुई दशकभित्र एक घर, एक मानसिक रोगी हुने  छन् ।   

">

विशेष