अन्तरवार्ता भिडियो

प्रचण्ड र ओलीलाई मुक्तिदाता मान्ने पनि पत्रकार हुन्छन् ?

प्रचण्ड र ओलीलाई मुक्तिदाता मान्ने पनि पत्रकार हुन्छन् ?

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही यतिबेला प्रहरी कुटाईबाट सख्त घाइते छन् । एउटा खुट्टा भाँचिएका कारण बैशाखीको सहयोगमा हिँड्छन् । बहुलवादी समाज, जनताको शासन, अझ जनता आफैंले लेखेको संविधानले देश चलिरहेको मुलुकमा बोले बापत आफू राज्यबाट निर्घात कुटिनुको रहस्य उनले चाल पाएका छैनन् । उनको प्रश्न छ– ‘मैले के त्यस्तो अपराध गरें, जसका कारण सादा पुलिस लगाएर मार्ने सम्मको षड्यन्त्रमा राज्य लाग्यो ?’

प्रश्न छ, उत्तर छैन् यद्यपि यसको उत्तर खोजेरै छोड्ने दृढता बोकेका शाही भन्छन्– ‘शारीरिक मात्र हैन मैले मानसिक यातना उत्तिक्कै पाएँ । मलाई ज्यानमारा, बलात्कारीको व्यवहार गरियो । मेरो निर्दोष दाजुलाई मेरो नाता भएकै कारण निर्घात कुटियो । त्यो घट्नापछि मेरो दाजु अहिले मानसिक रोगी हुनुभएको छ । यसको क्षतिपूर्ति कसले दिन्छ ?’

                                                    ">

ज्ञानेन्द्र शाही चार्टर्ड एकाउन्टेन्टका विद्यार्थी हुन् । उनको व्यवसाय पनि छ । यसको मतलब उनी सस्तो लोकप्रियताका लागि भात खाने जोहो वा कसैको गोटी बनेर भाषणबाजीमा उत्रिरहेका छैनन् । सामाजिक सञ्जाल, आमसञ्चार मानिसलाई देवत्वकरण र राक्षसीकरण गर्ने होडमा छन् । पुलिस हिरासतमा रहेसंगै उनीमाथि सहानुभूतिको वर्षा भयो । अदालतबाट रिहा भएलगत्तै नाराजुलुस भयो । सुर्खेतमा अपराधी भनिएका उनी काठमाडौं झर्नासाथ सेलिब्रेटीजस्तै बने । कतै ज्ञानेन्द्र शाही पनि क्षणिक देवत्वकरणको शिकार भएका त हैनन ?

हो, उनलाई यो सन्दर्भले बारम्बार पोल्दो रहेछ । उनी यसप्रति सचेत देखिँदै भन्छन– ‘हिजो राजालाई विष्णुको अवतार मानियो । नेताहरुलाई क्रान्तिकारी, जननेताको पगरी ओढाएर उनीहरुलाई चरम निरंकुश बनाइयो । राजा फालियो तर राजतन्त्र सबैलाई प्रिय बन्यो । नेताहरुको यो विलासिता, शक्तिको भोक त्यसैको प्रमाण हो । म चाहन्छु– म माथि खबरदारी गरियोस् ।  मलाई समर्थन गर्नु अघि मेरो बारे बुझ्नुस् । यतिखेर म पनि अग्निपरीक्षाको घडीमा छु ।’

ज्ञानेन्द्र शाही माक्सर्वादी, लेनिनवादी, माओवादीको भीडमा आफू ‘नेपाल आमावादी’ भएको सगर्व बताउँछन् । आफ्नै माटोले जन्माएको, विश्वभर नाम फैलिएको गौतम बुद्धको जीवनदर्शन बोकेर नेपालीले राजनीति गर्नुपर्छ भन्ने उनको मौलिक मान्यता छ । 

                                           ">

आखिर उनको यो अभियानको अन्तिम गन्तव्य के हो त ? शाही जीवनको अन्तिम सास रहुन्जेल विधिको शासनका विषयमा आवाज बुलन्द गर्ने संकल्प गर्छन् । यो कुनै पदीय भोक या राजनीतिक उपलब्धिका लागि नभएर एउटा सचेत नेपाली नागरिकका हैसियतमा हुनेछ । ‘नागरिकताजस्तो गम्भीर विषय जुन हामीले उठाएका कारण सरकार हच्कियो । अन्तत : सम्मानित अदालतले रोक लगाइदियो । एनसेल, वाईडबडी, बेरुजुका विषय सार्वजनिक चासोको विषय बन्यो । हो, यस्तै आवेग, डाहा, लुटतन्त्र विरोधी आवाज हाम्रो अभियान हो । म अनुपस्थित भएपनि अर्कोले यस्ता विषयमा नबोली सुख्खै छैन् ।’

आफूहरुले उठाएका विषयले समाजलाई लगाएको गुनका विषयमा ज्ञानेन्द्रले बेलिविस्तार लगाउँदै भने– ‘नीतिहरुको राजा मानिने राजनीति नेपालमा लूटको लाईसेन्स बनाइयो । यहाँ न बीपीबाद, न माक्र्सवाद लेनिनवाद, न माओवाद नै लागू छ । जे जति छ, लूटको धन्दा छ । म त भन्छु– सवैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसमा विशुद्ध कार्यकर्ता नभएर शेरबहादुर देउवा र रामचन्द्र पौडेलको झुण्ड छ ।’


                                                                             ‘झोले पत्रकार’को शिकार
ज्ञानेन्द्र शाहीमाथि राज्य उत्रिनुको कारण पत्रकारको हुर्मत लिएको भन्ने हो । शाही त्यसको प्रतिवाद गर्छन्– ‘एउटा नेपाली नागरिकले संविधानप्रदत्त हकको उपयोग गर्नु कसरी अपराध भयो ? मैले व्यक्तिको विरोध गरेको छैन् । पत्रकारको खोल ओढेका तर झोले कार्यकर्ता म विरुद्ध लागे । उनीहरु पत्रकार थिएनन् । कोही चुनावमा उठेका हरुवा वडाध्यक्ष थिए त कोही एमालेका जिल्ला स्तरीय नेता । प्रचण्ड र ओलीको फोटो निधारमा टाँसेर मुक्तिदाताको राग अलाप्नेले आफूलाई पत्रकार भन्न मिल्छ ? कर्णाली प्रदेशमा भएको भ्रष्टाचारको बेरुजु महालेखारीक्षकको प्रतिवेदनमा उल्लेख डाटाको आधारमा मैले आवाज उठाएको हुँ । यदि त्यो डाटा गलत हो भने म पनि गलत प्रमाणित हुन्छु ।’ उनको बुझाईमा यहाँ दलाल र पत्रकारको भेद खुलेन् । जसको असर सम्मानित पेशामा परेको निष्कर्ष निकालेका शाही भन्छन्– ‘पार्टी कार्यकर्ताले पत्रकारिता गर्नु अपराध हो, अपराध । त्यो पत्रकारिता  पत्रुकारिता हो ।’ 
                                  ">

ज्ञानेन्द्र शाही विधिको शासन
ADVERTISEMENT