विचार

बाँस बन्न नसकेका तामाहरु     

बाँस बन्न नसकेका तामाहरु     

बाँस र तामा परस्पर गफिँदै थिए । 
तामा : बा ! म आकास छेड्छु ।
बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने भैंm भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक ।
तामा : तपाईं त निहुरिनु भो नि त !
बाँस : तिम्रो उमेरमा म पनि तिम्रोजस्तै सोच्थें । उचाई लिँदै जाँदा चराचर देख्दै गएँ । तत्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन । ज्ञान शालीन हुन्छ तर टिक्छ । प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु । 

नेपालको राजनीतिमा थुप्रै तामाहरु बाँस बनेका छन् । अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेहरुको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ । बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन् । तर नीतिशास्त्रमा सवैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेताहरु राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन् । जनताको खुट्टाले दुख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएको नेताहरुको छातीले तक्मा थाप्यो । उनीहरुको कार्यशैलीमाथि प्रश्न धेरै छन, तर उत्तर छैन् । भएको उत्तर पनि अपुरो छ । 

नेपालमा सबैभन्दा सरल जागिर भनेको सरत्तारुढ हुनु हो । त्यहाँ पुगेपछि जान्नुपर्ने एउटै कला भनेको फगतः अर्तीशास्त्र हो । प्रधानमन्त्री नै यसको महारथी भइसकेपछि अरु मन्त्रीलाई झन् हाइसन्चो हुने भइगयो । तर दुई तिहाईका सदस्यहरु त्यही सजिलो जागिर खान पनि असफल हुँदै गएका छन् । सरकारले ल्याएका हरेक विधेयक आलोच्य हुनु र त्यो आलोचनाको प्रतिरोध गर्न नसक्नु जागिर धरापमा पर्दै गएको सूचक हो । सत्तामा बस्नेलाई दुईवटा छूट छ । पहिलो राम्रो गर्ने नसके नराम्रो भएपनि गर्ने । बीचको पेण्डुलम भएर बस्ने अधिकार राजनीति गर्नेलाई हुँदैन् । सिद्धान्ततः महात्मा गान्धी सर्वप्रिय थिए । तर धनी र गरिब दुवैलाई फाइदा दिन खोज्दा उनको वाद निष्फल भयो । राणा र राजाले खाएको सलामी बहुदलका नेतालाई पनि उत्तिक्कै प्रिय लाग्यो । राणाले जुम्लाबाट मगाएर खाने कालो मार्सीको सम्मोहनले सात दशकपछि भएपनि ओली र प्रचण्डलाई छोडेन् । जब राज्यको चरित्रमा रुपान्तरण गर्ने साहस नेताहरुमा देखिदैन भने कसरी समृद्धिको आयतन फराकिलो हुन्छ ? 

गिरिजाप्रसाद, शेरबहादुर देउवाले गरेको गल्ती हामीले गर्नु नहुने यस्तो मनोविज्ञानले वर्तमानका मुखियाहरुलाई कहाँ लैजान्छ ? नेपाली राजनीतिका नालायक पात्रहरुलाई फेरि सम्झिएर बरु तिनै ठीकको घडीमा पुग्नुपर्ने अवस्था आउनु भनेको राजनीतिक औंसीको पर्खाइ हो । ठूला मानिस कम बोल्नुपर्छ । उनीहरु बोल्ने भनेको कामले हो । तर यहाँका ठूलाबडा सबैभन्दा बढी चट्के छन् । प्रतिपक्षी र सत्तापक्षमा हुँदा गरिने कामका स्थायी अन्तरा छन् । तात्विक विषयवस्तुप्रति कसैको विवेचना छैन् । सत्तारुढले सेतो भनेको कालो भन्नैपर्ने प्रतिपक्षीय धर्म एउटै लिक हिँडेको वर्षौं भइसक्यो । कम्युनिष्ट र काँग्रेस सरकारमा हुँदा उनीहरुले लिने निर्णय, काम गर्ने ढर्रा, मन्त्रीहरुका बोलीबचन, अपराधमाथिको ढाकछोप, शक्तिको दम्भ एक ईन्च फरक छैन् । अरु त अरु दामी झण्डावाल गाडी चढेर सिंहदरबार पस्ने देखि आर्यघाट पुगेर कार्यकर्ताको शवमा झण्डा ओढाउने ढर्रामा समेत केही अन्तर देखिदैन्् । फरक एउटा छ– कम्युनिष्ट मुठ्ठी कसेर अभिवादन गर्छन, काँग्रेस हात जोर्छन् ।  

महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरुको नाउँ कहाँ छ ? रामायणमा ती सवै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरुको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरुको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा । हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ । 

जीवनको स्वाद प्रकृतिसंग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सूईसंगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? शायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? 

संसार आफैंमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरु उहिरहेकै छन् । बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदान छन् । त्यही नजिक उठेका हिमालहरु छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे झैं हिमालयहरु छन् । रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन विहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झैं खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सवै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरु बर्साइरहेका छन् ।

जति हेर्यो , उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहारहरु त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नविन अनुभूतिको आलोक खुलिरहन्छ । 

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफूसंग केही कविता हुनैपर्छ । संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ । सात समुद्र पारीबाट आएका पर्यटकहरुले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्वीर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं ।

सौन्दर्य पिउन आफू भित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफू  नियन्त्रित आजको मान्छे आफैं निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ । हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् ।  हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ । 

                 

बाँस र तामा नेपालको राजनीति