सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि मृत्यु भएकोे हो ।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन अस्पताल भर्ना भएकी थिइन ।  अस्पतालले ८ पिन्ट रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताए । उनका अनुसार अवस्था गम्भीर भएपछि रगत दिएर रिफर गर्न हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरेको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

चिकित्सकको लापर्बाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ । उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन् । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ । 

प्रहरी र पीडित पक्षबीच केहीबेर झडप समेत भएको थियो । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमानेका कारण अपरेशनमा नै त्रुटि रहेको आफन्तले आंशका व्यक्त गरे ।
 

अस्पताल

संम्बधित खबर