कभर स्टोरी संघीय समाचार

संसदमा ८ विधेयक र ५ प्रतिवेदन पेश

संसदमा ८ विधेयक र ५ प्रतिवेदन पेश

प्रतिनिधिसभाको सोमबारको बैठकमा ५ वटा प्रतिवेदन र ८ वटा विधेयक प्रस्तुत भएका छन् । 

बानेश्वरमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदन २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४–०७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेको काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७४–०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

यस्तै, बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष २०७६–०७७ को पूर्वबजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन २०७६ पेश गर्नुभयो ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७५–०७६ पेश गर्नुभयो ।

त्यसैगरी विभिन्न ८ वटा विधेयक पनि बैठकमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्नुभयो ।

यस्तै, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन र औद्योगिक व्यवसाय विधेयक बैठकमा प्रस्तुत गर्नुभयो ।

बैठकमा वनमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले भूमि सम्बन्धी आठौँ संशोधन विधेयक २०७५ प्रस्तुत गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउसो १ बजेका लागी बोलाइएको छ । 

प्रतिनिधिसभा विधेयक
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।