कर्पोरेट

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा ग्रुप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनोरबीच मर्जरको तयारी अगाडि बढेको छ।

दुवै कम्पनीको लगानीमा एसियाली मुलुकमा सञ्चालित दूरसञ्चार तथा पूर्वाधार कम्पनीहरूलाई मर्जपछि एउटा छुट्टै कम्पनीअन्तर्गत रहने गरी सञ्चालन गर्ने सहमति भएको छ । मर्जपछि स्थापना हुने कम्पनीको नाम तत्कालका लागि ‘मर्ज्डको’ राखिएको छ । मलेसियाको एजियाटाले नेपालको एनसेलसहित मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया गरी छ देशमा दूरसञ्चार कम्पनी सञ्चालन गरिरहेको छ ।

त्यस्तै युरोपलाई प्रमुख बजार मानेर दूरसञ्चार सेवा उपलब्ध गराइरहेको टेलिनोरले एसियाका पाकिस्तान, बङ्गलादेश, मलेसिया, म्यानमार र थाइल्यान्डमा दूरसञ्चार, पूर्वाधार तथा मोबाइल बैङ्किङलगायत सेवा प्रदान गराउँदै आएको छ । मर्जरपछि नेपाल, मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, पाकिस्तान, म्यानमार र थाइल्यान्डमा हाल सञ्चालित भइरहेका कम्पनीहरू मर्ज्डको ग्रुपअन्तर्गत रहने छन् । यद्यपि बङ्गलादेशमा एजियाटाअन्तर्गत सञ्चालन भइरहेको रोबी एजियाटा लिमिटेड भने मर्जमा समेटिएको छ । 

एजियटा र टेलिनोर दुवैले मर्जरको विषयमा विज्ञप्ति जारी यसलाई पुष्टि पनि गरिसकेका छन् । दुवै कम्पनीका अनुसार वैशाखको चौथो हप्ता यस विषयमा छलफल पनि भएको थियो । छलफलअनुसार मर्जरपछि बन्ने कम्पनीका टेलिनोरको ५६।५ प्रतिशत र एजियाटाको ४३।५ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

यसको केन्द्रीय कार्यालय मलेसियामै रहनेछ । दुवै कम्पनीबीच सन् २०१९ को तेस्रो त्रैमासिकसम्म सम्झौतालाई अन्तिम रूप दिने विषयमा पनि सहमति भएको छ । उक्त अवधिभर दुवै कम्पनीअन्तर्गत सञ्चालित कम्पनीको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) पनि पूरा हुनेछ । त्यसपछि सेयर लगानीकर्ता, नियामकको अनुमतिलगायतका प्रक्रिया अगाडि बढाउने तयारी छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

एनसेल
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।