इतिहासमा आज

आज २५६३ औँ बुद्ध जयान्ती मनाइँदै

आज २५६३ औँ बुद्ध जयान्ती मनाइँदै

काठमाडौं : आज २५६३ औँ बुद्ध जयान्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको वैशाख शुक्ल पूर्णिमाका दिन हरेक वर्ष बुद्ध जयान्ती मनाइने गरिन्छ।

गौतम बुद्ध हालको लुम्बिनी क्षेत्रमा इसापूर्व ५६३ अर्थात् करिब दुई हजार ६०० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मेका थिए। उनले २९ वर्षको उमेरमा दरबार त्याग गरे ज्ञानको खोजीमा निस्किएका थिए। उनले ६ वर्षको तपस्यापछि भारतको बोद्धगयामा बुद्धत्व प्राप्त गरेका थिए।

सुरुमा उनको नाम सिद्धार्थ गौतम राखिएको थियो भने बुद्धत्व प्राप्त गरेपछि उनी बुद्धका नामले संसारभर परिचित भए। गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ।

त्यस्तै आजका दिन किरात समुदायको उभौली चाड पनि  मनाउने गर्छन्।

गौतमबुद्ध