समाचार प्रोफाइल कभर स्टोरी

विश्वयुद्ध लडेका ९५ वर्षे योद्धा, भक्कानिदै भन्छन्– उपद्रोले मुलुक विनास भो (भिडियोसहित)

ध्रुव रिजाल

विश्वयुद्ध लडेका ९५ वर्षे योद्धा, भक्कानिदै भन्छन्– उपद्रोले मुलुक विनास भो (भिडियोसहित)

काठमाडौं । मध्यबानेश्वर पश्चिमतर्फ महादेवस्थानमार्गको बायाँतिर हरियो गेट ।  गेटभित्र हरियो रङकै पर्खाल छिचोलेपछि आफू उल्टोतिरबाट पसेँ कि जस्तो भान हुन्छ । घरको बनोट नै यस्तो छ कि पहिला आँगन नभएर मझेरीसंग भेट हुन्छ । ६ दशकअघि बनेको यो घरको छानोले इतिहासको एउटा मूर्धन्य पात्र ओत लाएर राखेको छ । ती हुन– दोस्रो विश्वयुद्धका जीवित योद्धा मेजर त्रिलोकसिंह थापा क्षेत्री । उमेर शताब्दी पुग्न पाँच वर्ष बाँकी छ । भोगाईको हिसाव गर्ने हो भने नामजस्तै अनुभव र अनुभूतिका तीनवटै लोक चाहारिसके जस्तो लाग्छ । उनले राणा, राजा, बहुदल, गणतन्त्र सवै राजनीतिक स्वाद भोगे ।

 

त्यतिमात्र हैन, निरंकुश देशमा जनताको आवाज बुलन्द गर्ने स्वतन्त्रताको लडाईंमा चिराग भएर हतियार उठाए । विश्व राजनीति बुझे । विडम्बना, उमेर शताब्दीको घेरो छुन खोज्दा आफ्नै देश बुझ्न सकेनन् । माटोको सुगन्ध बुझ्छन् , नेताहरुको व्याख्या बुझ्दैनन् । भाषण बुझ्छन् , जनताले रासन नपाउनुको अर्थ बुझ्दैनन् । आफूले दुख पाएको भन्दा पनि नयाँपुस्ताको जीवन असुरक्षित हुँदै गएको भविष्यले ऐंठन गर्छ । आफूलाई ढाड्स दिँदै आएकी पत्नीले पनि एक वर्षअघि छोडेर गएपछि यी सबै अन्धकारबाट पार पाउन दुई पेग चिरिप्प लाउँछन र भोलिको उज्यालो पर्खन्छन् । आखिर सास रहेसम्म बचाउने त त्यही आस नै त हो ।   

 

 लोकतन्त्रको जननी बेलायती सेनाका मेजर थापा दैनिकी लोभलाग्दो छ । विहानै उठ्छन् । यथाशक्य कसरत गर्छन् । हिँडडुल गर्ने जोश त छ तर शरीरले साथ नदिँदा त्यो रहरमा पूर्णविराम लगाएका छन् । पत्रपत्रिका पढ्न कुनै छुटाउँदैनन् ।  राजनीति गर्दैनन, भलीभाँती राजनीति बुझ्छ् । चिनेका लेखकको लेख पढेर तत्काल प्रतिक्रिया जनाउँछन् । परिवारका अधिकांश सदस्य विदेशमा छन् । एक्लो भएकोमा उनलाई कुनै दुख छैन । यसलाई उनी आआफ्नो प्रारब्ध भनेर बुझ्छन् । नयाँ पात पुरानो पातसंग झर्न बनेको हुन्न भन्ने तथ्यसंग थापा परिचित छन् । 

मेजर थापा फौजी परिवारमा जन्मिएका हुन् ।  भारतमा अंग्रेजहरुको शासनकै बेला उनको जन्म भारतको मिजोरममा भएको थियो । उनका बुबा प्रथम विश्वयुद्धमा अफ्रिकामा जर्मनीविरुद्ध युद्ध लडे । बाजे पनि सैनिक नै थिए । छोटो समयमा सुवेदार जमदार भएपछि उनकै ‘ब्याची’को झोसपोलमा बाबुको जागिर गएछ । त्रिलोक सात वर्षको हुँदा बुबाले भएको सम्पत्ति जुवामा स्वाहा बनाए । आमा र उनलाई मावलीमा छाडेर उनी दुनियाँको भीडमा हराए ।
सात वर्षसम्म मामाघरको रुखासुख्खा खाए । मान, अपमान, भुक्तमान एकसाथ व्यहोरे । उनी १४ वर्ष पुग्दानपुग्दै पृथ्वीको अर्को भूगोलमा दुई शक्तिशाली मुलुक मुठभेड गर्दै थिए । सन १९३९ सेप्टेम्बर १ मा जर्मनीले पोल्याण्डमाथि गरेको आक्रमणको प्रभाव १४ वर्षका यी किशोरसम्म पर्‍यो । पाँच कक्षाको परीक्षा दिएर उनी सेनामा जागिर खान नजिकैको भर्ती केन्द्र पुगे । मेडिकलमा फिट भएपछि उनलाई सेनामा लिइयो ।

 

त्यो बेला अंग्रेजहरुलाई बढीभन्दा बढी सैनिक चाहिएको थियो । धेरै जसो देशले युद्धको तयारी गरिरहेका थिए । मामाघरको पेलाई र आमाको दुःख देखेर उनले सेनामा हाम्फाल्ने निर्णय लिएका थिए । लडाकुको पोसाक, माथिसम्म आउने छालाका बुट बजार्दै मामाघर आइपुग्दा उनकी आमा रोइन् । गोर्खेलौरी लगाउने मामाका छोरा जिल्ल परे । आमालाई सम्झाउदै उनले भने, ‘छोरा भएर जन्मेपछि इलम गर्न जानु पर्छ । किन रुनु ?’ यसो भन्दै आमाको आँसु भावनाले नभई कर्मले पुछ्ने कसम खाए । 

">

कसरी भयो रंगून कब्जा ?
 

सिलाङमा सैनिकको आधारभूत तालिम भइरहेको थियो । युद्ध चर्किदै जान थाल्यो । ब्रम्हपुत्र नदीपूर्वको इलाकालाई ‘वार जोन’ घोषणा गरियो । त्यहाँको बटालियनलाई पाकिस्तानी क्वेटामा सार्ने तयारी अंग्रेज प्रशासनले गर्‍यो । सिलाङबाट क्वेटा जानुअघि त्रिलोकलाई  बिदा गर्न मामाघरबाट जेठा मामा आए । उनका आँखामा आँशु टिल्पिलाएका थिए । शीरमा मुसार्दै आशिर्वाद दिए । उनी  फर्केर आउँछन् कि वीरगति प्राप्त गर्छन्, टुंगो थिएन । 
सन् १९४१ को नोभेम्बरसम्म थापा ब्याची धेरैजसो तालिम सम्पन्न भइसकेको थियो । उनको बटालियनले पूर्वी बर्मामा जापानीसँग भिड्न जानुपर्ने भयो ।

गोर्खा रेजिमेन्टमा सिपाही खुकुरी बोक्ने भएका कारण अरु रेजिमेन्टका भन्दा भिन्न थिए । गोर्खालीहरुले खुकुरी झिकेपछि रगतको बली नदिई दापभित्र राख्दैनन् भन्ने प्रोपोगण्डा फैल्याइएको थियो । जापानीले रंगून कब्जा गरेका थिए । जापानको समर्थनपछि जर्मनी, इटली समूहको मनोबल उच्च भएको थियो । अमेरिकाले बेलायत, फ्रान्स, पोल्याण्डलाई समर्थन गरेपछि युद्धको दिशा बदलिएको थियो । बर्माको पश्चिमी क्षेत्र बुथिडाङबाट अक्याबतर्फ अगाडि बढ्यो । जापानी सेना बुथिडाङबाट पछाडि हटिसकेको थियो । बुथिडाङदेखि रंगूनसम्मको ठूलो क्षेत्र कब्जा गर्न त्रिलोकको बटालिनय अगाडि बढिरहेको थियो । जापानी सेना देखा परेनन् । रंगूनसम्म पुग्दा पनि जापानी नभेटिएपछि सहर कब्जा भयो । तर जापानीले किन बर्मा छाडे भन्ने स्पष्ट भएन । जापानी सेनाका लागि बन्दोबस्तीका सामान बोकेर आएका दुई वटा विशाल जहाजलाई अमेरिकाले चीनको सीमामा खोलिदिएछ । जसका कारण जापानी सेना गोलाबारुद, रासन, सैन्य बलको भरथेग नपाउँदा रंगून छाडेर जान बाध्य भएको रहेछ ।

 

त्रिलोक इतिहासका अनेक मोडका साक्षी भए । भारत–पाकिस्तान विभाजनका दृश्य यिनको मानसपटलमा ताजै छ । इन्डोनेशिया युद्ध,  सिंगापुर स्वतन्त्रता संग्राम, मारिया हरटोग दंगा, जाभा फ्रन्टका कथाकहानी आदि इत्यादि ।  
...

 

विक्रम सम्वत २००८ सालमा काठमाडौं आइपुग्दा त्रिलोक सिंह थापा क्षेत्री २४–२५ वर्षका थिए । रक्सौलसम्म उनी रेलमा आए । त्यहाँबाट हेटौंडासम्म बसमा आए । चन्द्रागिरी डाँडो हुँदै केही दिनको यात्रा सकेर काठमाडौं खाल्डो आइपुगेका थिए । काठमाडौंको मौसम लोभलाग्दो थियो । शरद ऋतुको याममा न चिसो न जाडोको मिश्रित मौसम थियो । महान चाड दशैं नेपालीहरुको घरआँगनमा प्रवेश गरिसकेको थियो । 

 

राजा त्रिभुवनले त्यो बेला देशमा शासन गर्थे । दशैंको टीकाको दिन राजाको हातको टीका थाप्न लामो लाइन लाग्ने गथ्र्यो । आफ्नो मातृभूमि आएको बेला राजा त्रिभुवनको हातको टीका थाप्ने उनमा पनि इच्छा जाग्यो । थ्री पिस सुटमा उनी राजाको हातको टीका थाप्न वसन्तपुर पुगे । राजा वरिपरि भएकाहरुले टीका थापिसक्ने बित्तिकै कठालोमा समातेर पर पुर्याउँदा रहेछन् । अशिक्षा, अचेतनाको भुमरीमा परेको मुलुकका शासकको कानमा कुनै रैतीले भारदारको पोल लगाइदेलान कि भन्ने डर उनीहरुमा हुँदो रहेछ । राजाले आफ्नाविरुद्ध कुनै पनि कुरा नसुनून् भनेर जनता र राजाबीच दूरी उनीहरुले कायम गरेका रहेछन् । त्यो त्यस्तो युग थियो, जुन बेला मानिसहरु कानुनी हिसाबमै जातका आधारमा तल्लो र माथिल्लो मानिन्थे । जातभात स्वीकृत थियो । अहिले दलित भनिनेहरुले त्यो बेला ब्राम्हण, क्षेत्रीलाई छुन पाउँदैन थिए । 

 

त्यस्तो युगका राजा, भारदार र जनताको चेतनाको स्तरको धेरै वर्णन गरिहन परेन । बेलायती सेनामा ३३ वर्ष बिताएपछि त्रिलोक मेजरबाट अवकाश पाए । अहिलेका मेजरले त्यो बेला राजाको हातको टीका थाप्न त गए । तर टीका नलगाई फर्के । भारदारहरुको त्यो शैली उनलाई फिटिक्कै मन परेन । बेलायती सेनामा जागिरे छँदैको कुरा थियो त्यो । बेलायती शासकको शैली देखे, भोगेका त्रिलोकलाई त्यसपछि राजाको हातको टीका लगाउने इच्छा कहिले जागेन । तर उनी नेपालमा राजा भएको मन पराउने व्यक्ति हुन् । उनको जीवनकालले चार राजा भोग्यो । पृथ्वीवीर विक्रम शाहको निधन भएको ११ वर्षपछि त्रिलोकको जन्म भएको थियो । 

पाँच सन्तानका पिता त्रिलोकका सात नातिनातिना र एक पनाति पनि छन् । ती मध्ये एक छोरी र एक छोरा उनीसँग छन् । मूलतः कान्छी छोरीले उनको ख्याल गर्छिन् । उनका समकालीन कोही पनि छैनन् यस धर्तीमा । न स्कुलका, न सेनाका न राष्ट्रसंघमा काम गर्दाका । ती सबै नभएर पनि उनलाई फरक परेको थिएन । पत्नी नहुँदाको एक्लोपनसँग अहिले उनी डराएका छन् । दोस्रो विश्वयुद्धमा रंगून कब्जा गर्न जाने बेलायती सेनाका यी योद्धा अहिले आफ्नै शून्यतासँग साक्षात्कार गर्न हच्किरहेका छन् । 

 

एक शताब्दी पुग्न लागेका यि इतिहास पुरुषले दीर्घजीवि हुने सूत्र पनि बताए । उनको पहिलो सूत्र हो – सधै राम्रो भावना मात्रै मनमा राख्नू । अर्थात सकारात्मक सोच । सत्य बोल्नु र अरुको कुभलो कहिल्यै नसोच्नू । बाँकी खानपान  र जीवनशैली हो । त्रिलोकका बाजे अफ्रिकामा युद्ध लडेका थिए । उनका पिताजी पनि पल्टनमै थिए । एक किशिमले भन्ने हो भने उनको खान्दान नै फौजी हो । पछिल्लो पुस्ता भने अलि फरक भएको छ । उनका दुई छोरा लन्डन बस्छन् । एक छोरा उनी नजिकै छन् । 

त्रिलोक सिंह थापा क्षेत्रीले यति लामो जीवनकालमा नदेखेका, नभोगेका विषय धेरै कम छन् । उनको आफ्नै आत्मवृत्तान्त ‘जीवनको गोरेटोमा’ २०६१ सालमा प्रकाशित भयो । आत्मवृत्तान्तमा उनले युद्धमा सामेल भएको, सिंगापुरको पोस्टिङ, लण्डन घुमफिरदेखि अनेकन आयामहरु उल्लेख गरेका छन् । नियमित पत्रपत्रिका पढ्छन् । देशको समसामयिक विषयमा अपडेट रहन्छन् । बाँधेको गाईगोरुले दाम्लो चुँडाउन पाउँदा उफ्रिने, बुकुर्सी मार्ने, आफ्नै खुट्टा भाँच्ने जस्तो उपद्रो गर्छन् । त्यस्तै उपद्रो नेपालको गणतान्त्रिक व्यवस्थामा मानिसले गरिरहेको थापाको बुझाइ छ । सिंहदरबारका पुराना सवारी साधनहरु मन्त्रीहरुले नै लगेको खबर पढेर उनी आश्चर्यचकित भए । देशलाई माया गर्नेहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दैनन् भन्ने उनी ठान्छन् । 

 

दरिद्रताका कारण समाजमा अहिले पनि प्रत्यक्ष\अप्रत्यक्ष महिलाको व्यापार भइरहेको थापा बताउँछन् । भन्छन्, ‘बलात्कारपछि हत्या गरिएकी बालिकाको प्रकरणमा एउटा सिपाहीले ठाउँको ठाउँ जति भन्यो त्यति धरौटी बुझाएर रिहा भएको देखिन्छ । कहाँबाट आउँछ मानिससँग अपत्यारिलो धन ?’ मेजर थापा नेपालमा पनि एक प्रकारको ‘क्यापिटल पनिस्मेन्ट’को व्यवस्था हुनु पर्ने ठान्छन् । उनी भन्छन्,‘बलात्कारीलाई मृत्युदण्डको माग सडकमा त उठेको छ  । तर त्यो हदसम्म होइन, दुई चार कोर्रा हान्ने व्यवस्था हुँदा ठीक हुन्छ कि भन्ने लाग्छ ।’

">

जीवनको यो मोडमा त्रिलोकसँग बाँकी खास कामना छैन । जीवनका पुराना पन्ना पल्टाउँदा, आमाले मावलीमा वचन सहनु पर्दाका क्षणहरु सम्झिँदा उनी भावुक हुन्छन् । जीवन भावनाहरुकै संगालो त हो, कहिले आँशु कहिले हाँसो । दुःखका पल सम्झिरहन मानिसले सक्दैन । सम्झिनु पनि हुँदैन । 
पहिलो भेटमा छुटेका कुराहरु भन्न मन लागेछ उनलाई । मेरो मोबाइलमा उनको ल्याण्डलाईनको रिङ बज्यो । मैले फोन उठाएँ । उताबाट त्रिलोक बोले, ‘हेल्लो मिस्टर रिजाल । क्यान यु कम वन्स एट माइ होम ? आइ निड टु से समथिङ द्याट आइ मिस्ड इन एन इन्टरभ्यु ।’

 

यति लामो आयु लिएर आएका मान्छेले चुरोट छाडेको त थाहा पाइसकेका थिएँ । रक्सी चाहिँ खाएछन् कि खाएनन् होला जीवनमा ? यो खुल्दुली लागि रहेको थियो । युवा बेलामै छोरीको फाटेको जामा देखेपछि चुरोट छाडेका रहेछन् । रक्सी त किन छाड्थे ? उनले भने, ‘पहिले त आधा बोतलसम्म खान्थे । अहिले शरिरले सहँदैन । दुई पेग ह्विस्की लिन्छु । हरेक दिन । नित्य । नबिराई ।’ 

विशेष

ADVERTISEMENT