समाचार देश प्रदेश ६

गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ  अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन । बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी  फर्किइन् ।

लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहिक फोटो सेसन गर्दै मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचयपत्र यसपटक मुख्य  पदाधिकारी र कर्मचारीको अभावमा वितरण हुन सकेन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा आठको नतिजा प्रकाशन पनि रोकिएको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लसहित १७ प्रतिनिधि र कर्मचारी कुनै औपचारिक निर्णयसमेत नगरी भ्रमणमा निस्किएको गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले बताए । ‘भ्रमणका विषयमा सामान्य छलफल भए पनि निर्णय भएको मलाई थाहा छैन । ३० चैत र १ वैशाख बिदाको दिन भएकाले सोमबार कार्यालय हाजिर हुने भनेर उहाँहरू निस्किनुभएको हो,’ प्रवक्ता खड्काले बताए । 

भ्रमण टोलीमा कार्यपालिका सदस्य वीरसिंह विक, सहलेखापाल कवीन्द्र पुन, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक भूपालसिंह विष्ट, सुब्बाद्वय खिमप्रकाश शाह र मिनाराम केसी, आइटी अफिसर नवीन चौधरी, इन्जिनियर मोहनकुमार ओली, सवइन्जिनियर गगनसिंह ओली छन् । यस्तै, सहायक महिला विकास निरीक्षक लीला शर्मा, कम्प्युटर अपरेटर रूपक पुन, वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर बुढाथोकी, वडा १ की सचिव शारदा चौधरी पुन तथा नगर प्रहरीहरू गीता खड्का र वेगमा ओली दार्जिलिङ भ्रमणमा छन् । गाउँपालिका अध्यक्ष नरबहादुर पुनसहित केही पदाधिकारीले श्रीमान्, श्रीमती र छोराछोरीलाई पनि भ्रमणमा लगेका छन् । 

अहिले गाउँपालिकामा असिस्टेन्ट सवइन्जिनियर रुद्रगोपाल डाँगी, काशीराम खत्री, वीरबहादुर पुन, पोषण सहजकर्ता सरस्वती विक, नगर प्रहरीहरू बालकृष्ण नकाल, शंकर रोका र जोखबहादुर पुन तथा कार्यालय सहयोगी शेरबहादुर कामी र टीकाराम पुन मात्र छन् । उनीहरूमध्ये पनि धेरै फिल्डमा छन् । मंगलबार असिस्टेन्ट सवइन्जिनियर डाँगीसहित केही कर्मचारी र कार्यालय सहयोगी मात्रै गाउँपालिका कार्यालयमा भेटिएका थिए ।  यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

गाउँपालिका जनप्रतिनिधि दार्जिलिङ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।