स्वास्थ्य

आमाले माया गरेर दिएको टिफिनको खाजा नै बालबालिका लागि 'मन्दबिष’

आमाले माया गरेर दिएको टिफिनको खाजा नै बालबालिका लागि 'मन्दबिष’

काभ्रेपलान्चोक । अघिपछि बालबालिकाहरू खेल्ने विद्यालयको मैदान शनिबार आमाहरूले भरिभराउ थियो । छोराछोरीलाई कस्तो खाजा खुवाउनुहुन्छ भनेर खाजा विज्ञहरूले प्रश्न गरिरहेका थिए भने खाजाका प्रकृतिका बारेमा आमाहरू जवाफ दिँदै थिए ।

 

झट्ट हेर्दा कुनै विषयको परीक्षा सकेर अन्तर्वार्ता सेसन चलिरहेको जस्तो भान हुन्थ्यो । तर, त्यो कुनै अन्तर्वार्ता थिएन । काभ्रे बनेपा–११ स्थित आदर्श विद्या मन्दिर मैदानमा उपस्थित भएका आमाहरूलाई खाजाविज्ञ तथा मनोपरामर्शदाता रमेश पराजुलीले छोराछोरीलाई दिइने खाजाबाट हुने फाइदा र बेफाइदबारे परामर्श र छलफल गर्दै थिए ।

 

माया गरेर पठाएको टिफिनको खाजाले आफ्ना छोराछोरीको स्वास्थ्यमा प्रतिकूल असर पार्दो रहेछ भनेर सुन्दा आमाहरू चिन्तित देखिन्थे । यस्तो खाजालाई ‘मन्दविष’ का रूपमा चित्रण गरिँदा आमाहरूका मुहार अत्यन्तै मलिन देखिन्थ्यो । ‘हामीले धेरै कुरा सिक्ने मौका पायौँ, आफूले पकाएको जस्तो खानेकुरा बाहिरबाट किनेर ल्याउँदा हुँदो रहेनछ,’ विमला दाहालले भनिन् ।

 

‘बिहान छोराछोरीलाई टिफिन बनाउन फुर्सद नहुँदा पसलबाट किनेर ल्याएको खानेकुरा पठाउँदा त्यसले छोराछोरीको स्वास्थ्यमा प्रतिकूल असर हुँदो रहेछ भन्ने थाहा पाएँ,’ सीता घिमिरेले भनिन् । अधिकांश बालबालिकाकोे टिफिन बजारबाट किनेर ल्याएको पाएपछि विद्यालय प्रशासनले अभिभावक(विशेषगरी आमा) लाई लक्षित गरी टिफिन सचेतना अभियान सुरु गरेको छ । अभियानमा सहभागी रामदेवी श्रेष्ठले अब भुलेर पनि बच्चाको टिफिनमा हेलचेक्र्याँइ नगर्ने बताइन् ।

 

आफ्ना छोराछोरीका लागि अभिभावकले कस्ता किसिमका टिफिन खाजा पठाउँदा त्यसले उनीहरूको स्वास्थ्यमा के कस्तो प्रकारको असर पारिरहेको छ भनेर सन्देश दिने उद्देश्यले टिफिन संवाद कार्यक्रमको आयोजना गरेको हो । विद्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाहरूलाई सम्मान तथा बालबालिकाको खानपानका विषयमा आमा र अभिभावकसँग टिफिन संवाद कार्यक्रमको आयोजना गरेको हो ।

 

अधिकांश विद्यार्थीले नियमित रूपमा नै टिफिनमा विभिन्न जंगफुडजस्तै चाउचाउ, चिजबल, केक, पानीपुरी, चटपटेजस्ता खानेकुरा ल्याउने गरेका छन् । यसले उनीहरूको स्वास्थ्यमा गम्भीर खालका असर देखा पर्न सक्छ । त्यस्ता खानेकुराले शरीरका विभिन्न भागमा असर पार्ने भएकाले त्यसबारे बुझाउन र सचेत पार्न आमासँग खाजाविज्ञको ‘टिफिन संवाद’ कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताए ।

 

नियमित रूपमा यस्ता खानेकुरा खानाले बालबालिकाको बौद्धिक, मानसिक र शारीरिक विकासमा पर्ने असरका बारेमा जानकारी गराएपछि आमाहरू निकै खुसी देखिन्थे । शान्ति बञ्जाराले नजानेर आफूले टिफिनको छनोटमा भुल गरेको बताइन् । उनले भनिन्, ‘अबदेखि यस्तो गल्ती दोर्‍याउनेछैनौं ।’ कार्यक्रममा आमाहरूलाई सम्मानसमेत गरिएको थियो । बनेपा नगरपालिका–११ अध्यक्ष शिवकुमार थापा, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठीले यस कार्यक्रमले टिफिन छनोटका विषयमा अभिभावकलाई धेरै कुरा सिकाएको हुँदा यो ज्यादै उपयोगी भएको बताए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

टिफिन मन्दबिष