स्वास्थ्य समाज

‘एक्जाम एन्जाइटी’ अर्थात परीक्षा चिन्ताको यस्तो छ समाधान

‘एक्जाम एन्जाइटी’ अर्थात परीक्षा चिन्ताको यस्तो छ समाधान

परीक्षाको कुरा गरेपछि हामीलाई केही न केही चिन्ताले सताउने गर्छ र यो चिन्ता जहिले पनि असफलतासँग जोडिएर आउँछ । के परीक्षाबारे चिन्ता असफल हुनेमा मात्र हुन्छ त ? के यस्तो चिन्ता स्वाभाविक हो ? यस्तो चिन्ताले विद्यार्थीको ‘ग्रेड’ मा कस्तो असर पर्छ ? यी सबै विषयमा फरक–फरक खोज र बुझाइ छ । 

 

मनोविज्ञानको भाषामा यसलाई ‘एक्जाम एन्जाइटी’ (परीक्षा चिन्ता) भन्ने गरिन्छ । यो परीक्षाको समयमा हुने मानसिक, मनोवैज्ञानिक र शारीरिक आकस्मिकताको अवस्था हो । यो अवस्थामा व्यक्तिले आफूले जानेको विषयवस्तु राम्रोसँग प्रस्तुत गर्न नसक्नेखालको शून्यताको चरणमा पुग्छ । ‘एक्जाम एन्जाइटी’ भएको अवस्थामा आफूले जानेको कुरा पनि राम्ररी प्रस्तुत गर्न सकिँदैन भने नजानेको समस्याको हल कसरी गर्ने भन्ने अक्कल प्रायः बन्द हुन्छ । बालबालिकालाई पढाइमा धेरै दबाब दिने बाबुआमाका छोराछोरीमा यो समस्या धेरै हुने गरेको छ । ‘एक्जाम एन्जाइटी’ अब्बल, मध्यम र न्यून शैक्षिकस्तरका विद्यार्थीमा क्रमशः धेरैदेखि कम देखापर्ने गरे पनि खोजले देखाएअनुसार यस्तो चिन्ताले परीक्षामा राम्रोभन्दा पनि नराम्रो असर पर्ने गरेको पाइएको छ ।

 

कारण 

परीक्षामा फेल हुने त्रास, पर्याप्त तयारी नहुनु, विगतमा कमजोर नतिजाको सिकार भएको अनुभव, राम्रो गर्नुपर्ने दबाबजस्ता कारणले ‘एक्जाम एनजाइटी’ हुने गर्छ । पारिवारिक र साथीहरूको सहयोग नभएको परिस्थितिमा धेरै बालबालिका यसको मारमा पर्ने गरेका छन् । कहिलेकाहीँ परीक्षाको समयमा चिन्ता लिँदा पढाई र परीक्षामा राम्रो गर्ने सकिन्छ भन्ने गलत बुझाइ पनि यस समस्याको कारक हो । यस अवस्थामा मनोवैज्ञानिक एर्केस डोडसनको खोजले सुझाएजस्तै चिन्ताले केही हदसम्म परीक्षामा राम्रो गर्ने देखिएता पनि कतिसम्म गर्छ भन्ने थाहा नभएको हुँदा परीक्षाबारे गरिने चिन्ता घातक रहने गरेको छ । 
कसरी थाहा पाउने रु

 

यस समस्याबाट ग्रसित व्यक्तिमा खानामा रुचि घट्ने, टाउको दुख्ने, पखाला लाग्ने, थकान हुने, चिट्चिट पसिना आइरहनेजस्ता शारीरिक लक्षण देखापर्ने गर्छ भने रिस उठ्ने, असहायपनको महशुस हुने, निराशा पैदा हुने जस्ता भावनात्मक असरहरू पर्छन् । शरीरिक र भावनात्मक बाहेक ब्यबहारिक र संज्ञानात्मक लक्षणहरू, जस्तै कुनै कार्यमा ध्यान दिइरहन नसक्ने, नकारात्मक रूपमा सोचिरहने, कुनै सोचमाथि लगातार सोचिरहने, आफूलाई अरूसँग तुलना गरिरहने र जानेको कुरालाई राम्रोसँग प्रस्तुत गर्न नसक्नेजस्ता समस्याले सताइरहन्छ । यस समस्याबाट ग्रसित बालबालिका परीक्षादेखि आतङ्कित हुने गर्छन्, जसलाई मनोवैज्ञानिक भाषामा ‘प्यानिक’ आक्रमण भन्ने गरिन्छ । विशेषगरी परीक्षा हलमा धेरै विद्यार्थी यसको सिकार भएको पाउन सकिन्छ । ‘एक्जाम एन्जाइटी’ भएका बालबालिकाले घरमा भन्दा परीक्षामा नराम्रो गर्छन् ।

 

सामना 

व्यक्तिगत तहमै सामना गर्न सकेको खण्डमा यो समस्या विकराल नहुन सक्छ । आफैँसँग गरिने कुराकानीप्रति सचेत रहँदा, कुन सोचले चिन्तातर्फ डोर‍्‍याएको छ भन्ने कुराको हेक्का राख्दा र त्यस्ता सोचहरूलाई परिवर्तानार्थ चुनौती दिँदा यसलाई सजिलै सामना गर्न सकिन्छ । कहिलेकाहीँ आफ्नै सोचको बन्दी हुनाले पनि परीक्षासम्बन्धी चिन्ता बढ्ने गर्छ । यस्तो अवस्थामा अरूको नकारात्मक भाव आफूमा रूपान्तरण हुने हुँदा यसलाई रोक्न सक्नुपर्छ । उदाहरणका लागि जब कसैले यसले राम्रो पढ्दैन भन्ने सुन्यो भने उक्त उद्धरण लगातार उसको मस्तिष्कमा गुञ्जिने र फलत परीक्षाप्रतिको नकारात्मक धारणा विकास हुन्छ ।

 

समाधानका उपाय 

परीक्षासम्बन्धी चिन्ता समयमै रोक्न नसके परीक्षामा असफल हुने सम्भावना त हुने नै भयोे, गलत अभ्यास जस्तै लागूऔषध र मद्यपानतर्फको आकर्षण पनि बढ्न सक्छ । त्यसैले यसको समाधानका उपायमा बेलैमा विचार गर्नुपर्छ । यदि तपार्इंलाई ‘एक्जाम एनजाइटी’ भएको छ भने लामो सास लिनुहोस्, आँखा चिम्म गरेर बिस्तारै सबै शरीर शिरदेखि पाउ र पाउदेखि शिरसम्म स्क्यान गर्नुहोस् । यस्तो कार्य गरिरहँदा आफूलाई अनावश्यक दबाब नदिनुहोला । त्यसैगरी उफ्रिने, दौडिने, स्किपिङ खेल्नेजस्ता एरोबिक अभ्यास पनि गर्न सक्नुहुन्छ । आफूमा भएको चिन्ताबारे नजिकको साथी वा घरपरिवारसँग सरसल्लाह गर्न पनि सक्नुहुन्छ । 

 

यदि तपाईंलाई ‘एक्जाम एन्जाइटी’ ले धेरै नै सताएको छ भने कृपया आफ्नो स्कुल काउन्सिलर वा मनोविद्लाई भेट्न सक्नुहुन्छ । समयमै पहिचान गर्न सकेको खण्डमा परीक्षासम्बन्धी चिन्ता सजिलै समाधान हुन्छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

सन्देश रेग्मी, लेखक, मनोदृष्टि साइकोलोजिकल सर्भिसेज एन्ड रिसर्च इन्स्टिच्युटका मनोविद् हुनुहुन्छ ।

परीक्षा चिन्ता