समाचार

यस्तो अस्पताल जहाँ सुई र रुईसमेत छैन

यस्तो अस्पताल जहाँ सुई र रुईसमेत छैन

पाल्पा । फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’ 

 

‘१ घन्टा हिँडेर अस्पतालसम्म आयौँ, नर्सले टिटी सुई लगाउनुपर्छ, तर यहाँ सकिएको छ भन्दै मेडिकलतिर लैजान भन्नुभयो,’ भीमाले भनिन्, ‘लतपतिएको रगत पुछ्न रुई मागेको, त्यो पनि रहेनछ ।’

 

अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी सुई सकिएको एक वर्ष भएको बताए । अहिलेसम्म किन नल्याउनुभएको त भन्ने नयाँ पत्रिकाको प्रश्नमा बस्यालले जवाफ दिए, ‘टेन्डर गर्ने तयारी भइरहेको छ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

अस्पताल